शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

धानबालीमा रोगको समस्या, किसान चिन्तित

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असोज ५ २०७९
धानबालीमा रोगको समस्या, किसान चिन्तित
फाइल तस्बिर

कञ्चनपुर- कञ्चनपुर र कैलालीमा लगाइएको धानबालीमा रोगको समस्या देखिएको छ। किसानले लगाएको सर्ज ५२ जातको धानबालीमा रोगको समस्या देखिएको हो।  कृषि ज्ञानकेन्द्र महेन्द्रनगरका सूचना अधिकारी हरिदत्त जोशीले सर्ज ५२ जातको बीउ लगाएका किसानको धानबालीमा रोगको समस्या देखिएको बताए।

'सर्ज ५२ नामको बीउ लगाएका किसानको धानमा रोग देखिएको छ', उनले भने, 'यो जातको धानको बीउ हरेक वर्ष परिवर्तन गर्नुपर्छ पुरानो बीउ लगाएका कारण रोग देखिएको हो।' उनले किसानलाई यो जातको बीउ नलगाउन आग्रह गरे पनि धेरै किसानले लगाएको बताए। 
 
'धान लगाउने बेला युरियासँग जिङ्क मिसावट गरेर हाल्नुपर्ने हुन्छ यस वर्ष किसानले समयमा मल नपाएका कारणले पनि हो', उनले भने, 'कैलाली–कञ्चनपुरमा अहिले यही समस्या देखिएको छ।' उनका अनुसार पानीको कमी र बीउ पुरानो भएका कारणले पनि धानबालीमा समस्या देखिन्छ। 

'औसतमा पाँच प्रतिशत जग्गामा लगाएको धानमा रोग लागेको छ', उनले भने, 'धान लगाउने बेला किसानले पनि सचेत हुन जरुरी छ।' कञ्चनपुरको भीमदत्त नगरपालिका-१० तिल्केनीका तुला दत्त जोशीको छ बिघा जग्गामा लगाएको धान बालीमा रोगले सखाप पारेको छ। उनले लगाएको सर्ज ५२ जातको बीउमा रोगको समस्या देखिएको बताए। 

'अन्य जातको धानबालीमा समस्या छैन यसमा मात्रै रोग देखिएको छ', उनले भने, 'धानमा बाला नलाग्ने बोट कुहिएर जाने समस्या छ।' उनले पाँच बिघा जमिन वार्षिक भाडामा लिएर धानखेती गरिरहेको बताए। 'सर्ज, सिन्की, सावित्र र मनसुली चार जातका धान रोपेको छु अरुमा समस्या देखिएन सर्जमा पूरै सखाप छ', उनले भने, 'विगतका वर्षमा यस्तो हुन्थेन यो वर्षमात्रै भयो।'
 
वार्षिक ५० हजारमा भाडामा लिएको जग्गामा धान नफलेपछि उनी चिन्तित बनेका छन्। 'यो रोगले गर्दा यो वर्ष लगानी पनि नउठ्ने भयो', उनले भने, 'रोपाइँ गर्दा मात्रै ४० हजार जति खर्च भएको थियो।' उनले पटकपटक गरेर घानबालीमा मलखाद छरे पनि धानबाली नआएको बताए।
 
'रोग देखिएपछि धानको बोट लगेर कृषि ज्ञान केन्द्रमा कृषि प्राविधिकलाई देखाए रोग पत्ता लगाउन सकिएन', उनले भने, 'कृषि प्राविधिकको सल्लाहअनुसार पछि जिङ्क मिसाएर युरिया हाले त्यसले पनि काम गरेन।' कञ्चनपुरमा ४८ हजार आठ सय ९६ हेक्टर क्षेत्रफलमा धानखेती गरिँदै आएको कृषि ज्ञानकेन्द्रले जनाएको छ। रासस


प्रकाशित : बुधबार, असोज ५ २०७९०७:२९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend