बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

एटीएम मेसिन फुटाउँदै गर्दा एकजना पक्राउ

मंगलबार, असोज ४ २०७९
एटीएम मेसिन फुटाउँदै गर्दा एकजना पक्राउ

काठमाडौं- पोखराको लेखनाथस्थित अघौँ चोकमा एटीएम मेसिन फुटाएर पैसा निकालेर भागेका एक युवा समातिएको एक महिना नपुग्दै सोमबार राति पोखराको लेकसाइडमा एटीएम मेसिन फुटाउँदै गरेको आरोपमा अर्का एक युवा पक्राउ परेका छन्। 

पोखरा–६ बैदामस्थित बाराही चोकको एनएमबी बैंकको एटीएम मेसिन फुटाउँदै गरेको आरोपमा धादिङ जिल्ला त्रिपुरा सुन्दरी गाउँपालिका–५ सल्यानटार घर भई पोखराको बगालेटोलमा बस्दै आएका २५ वर्षीय मनोज कुमाललाई कास्की प्रहरीले पक्राउ गरेको हो।

वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले कुमाललाई एटीएम फुटाउँदै गरेको अवस्थामा एक थान खुकुरीसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता ज्ञान खड्काले जानकारी दिए। कुमाललाई जिल्ला अदालत कास्कीबाट म्यादथप गरी घटनाका बारेमा प्रहरीले थप अनुसन्धान सुरु गरेको छ।

त्यसैगरी सोमबार दिउँसो पोखराको नयाँबजारस्थित कृषि विकास बैंकको एटीएम मेसिनभित्र लामो समयसम्म एटीएम मेसिन चलाइराखेको अवस्थामा उजुरी परेपछि प्रहरीले दुई युवालाई पक्राउ गरेको छ तर उनीहरुको साथबाट भने कुनै हतियार फेला नपरेको कास्की प्रहरीले जनाएको छ। ती दुई युवाका बारेमा पनि प्रहरीले अनुसन्धान सुरु गरेको छ। 


प्रकाशित : मंगलबार, असोज ४ २०७९१२:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend