शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

व्यावसायिक कृषकलाई अनुदान

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, भदौ २६ २०७९
व्यावसायिक कृषकलाई अनुदान

कास्की- व्यावसायिक कृषकले उत्पादनका आधारमा अनुदान पाएका छन्। कास्कीका दुग्ध उत्पादक कृषकले समूह तथा सहकारी संस्थाबाट सरकारले दिएको अनुदान रकम पाए। प्रदेश सरकारले दूधमा प्रतिलिटर दुई रुपैयाँ ५० पैसा अनुदान दिएको हो।

भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीले गत आर्थिक वर्ष नौ सहकारीलाई उत्पादनमा आधारित प्रोत्साहन रकम ४४ लाख ४६ हजार अनुदान वितरण गरेको हो। केन्द्रका प्रमुख शम्भुराज पाण्डेले १७ लाख ७९ हजार लिटर दूध उत्पादनमा साढे दुई रुपैयाँका दरले सहकारीमार्फत कृषकलाई प्रोत्साहन रकम उपलब्ध गराइएको जानकारी दिए। उनका अनुसार उत्पादनका आधारमा दिइने अनुदान वास्तविक कृषकसम्म पुग्ने र अनुदानको दुरुपयोग हुन पाउँदैन।

उनले भने, 'उत्पादन गरेका आधारमा सरकारी अनुदान पाउनुपर्दछ भन्ने कृषकको माग हो। त्यसैले हामीले जसले बढी उत्पादन गर्छ, उसैले बढी अनुदान पाउने प्रोत्साहन कार्यक्रम ल्याएका हौँ। उत्पादन वृद्धि गरी आयात निरुत्साहित गर्न यसले योगदान दिएको छ।'

कार्यालयले दूधमा प्रोत्साहन अनुदानका लागि गत वर्ष ४५ लाख बजेट विनियोजन गरेको थियो। सो अनुदान रकम कृषकले चौमासिकरूपमा प्राप्त गर्नेछन्।

यसैगरी प्रदेश सरकाराद्वारा सञ्चालित पशुपक्षी कार्यक्रममा बीमा प्रिमियममा कार्यालयले २५ प्रतिशत अनुदान दिएको छ। कृषि तथा पशुपक्षी बीमा सङ्घीय सरकारको ७५ प्रतिशत र प्रदेश सरकारको २५ प्रतिशत गरी निःशुल्क गरिएको हो। जिल्लामा अघिल्लो वर्ष आठ सय ६५ कृषकले आफ्ना पशुपक्षीको बीमा गराएका छन्। 

गाई, भैँसी, बाख्रा, कुखुरा, बङ्गुर, भेडा–च्याङ्ग्रा र माछा गरी तीन लाख १८ हजार ६२ पशुपक्षी बीमामा एक करोड १० लाख ८९ हजार भुक्तानी गरिएको कार्यालय प्रमुख पाण्डेले जानकारी दिए। कार्यालयले पशुमा पूर्णखोप कार्यक्रम, साना व्यावसायिक फार्म स्थापना तथा विस्तार, पाडी बाच्छी हुर्काउन प्रोत्साहन सहयोग, पशुपक्षी पकेट विकास कार्यक्रम, नयाँ पोखरी निर्माण र पोखरी सुधारका मुख्य कार्यक्रम सञ्चालन गरिएको कार्यालयका पशु विकास अधिकृत सहदेव पौडेलले बताए।

भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीले चालु आर्थिक वर्षमा पनि अघिल्लो वर्षका कार्यक्रमलाई नै निरन्तरता दिएको छ। यस वर्ष केन्द्रको बजेट नौ करोड ६५ लाख ७९ रहेकामा पूँजीगत खर्चतर्फका कार्यक्रमका लागि तीन करोड ६६ लाख ९८ हजार छ। यसैगरी चालू खर्चतर्फ पाँच करोड ९८ लाख ८९ हजार रहेको बताइन्छ। रासस


प्रकाशित : आइतबार, भदौ २६ २०७९०४:४२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend