शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

सुन्तलापछि अब अलैँचीखेतीमा 

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, भदौ २४ २०७९
सुन्तलापछि अब अलैँचीखेतीमा 

गलकोट- जागिरे जीवनबाट अवकाश भएपछि कृषिमा व्यस्त भएका बागलुङ नगरपालिका-८ सिगानाका रमेश थापाले सुन्तला खेतीपछि अलैँचीखेती थालेका छन्। अवकाश जीवनमा कतिले घरमै बसेर आराम गर्ने, समाजसेवा गर्ने त कति राजनीतिमा लाग्ने गरेकामा ऊर्जावान समय जागिरमा खर्चिएका थापाको जोश र जाँगरमा कमी आएको छैन। 

२० वर्ष नेपाली सेनामा कार्यरत सुवेदार थापाले कृषि क्षेत्रमा आफ्नो रुचि रहेको भन्दै सुन्तला र अलैँचीखेतीतर्फ आकर्षित भएका हुन्। सुन्तला गाउँको रूपमा चिनिएको सिगानामा चिस्यान भएको स्थानमा राम्रो अलैँची खेती हुने देखेर अलैँची खेती पनि गरेका उनी अहिले अलैँची खेती राम्रो भएपछि दङ्ग छन्।

आठ रोपनी जग्गामा व्यावसायिक सुन्तला खेती गरेका थापाले पछिल्लो समय अलैँचीमा समेत राम्रो कमाइ हुने भएकाले यसतर्फ आकर्षित भएको बताए। खेतीयोग्य जग्गा मासेर उनले सुन्तला र अलैँची खेती विस्तार गरेका छन्।

'सिगाना सुन्तला खेतीका लागि जिल्लामै चर्चित बनिसकेको छ, यहाँका एक दर्जन किसान व्यावसायिक अलैँचीखेतीतर्फ आकर्षित भएका छन्, दुई सय किसानले सुन्तला खेती गर्दै आएका छन्', थापाले भने, 'सुक्खा जग्गामा सुन्तला र चिस्यानमा अलैँची राम्रो हुँदोरहेछ, पछिल्लो समय चिस्यान र भिरालो जग्गामा अलैँची लगाउने किसान सिगानामा मात्र नभएर जिल्लाभर बढेका छन्, सुवेदारबाट अवकाशपछि सहर बस्ने रहर नभएको होइन तर गाउँको जग्गा सदुपयोगसँगै राम्रो आम्दानी गर्न सकिने भएकाले सुन्तलासँगै अलैँची खेतीमा लागिएको हो, पहिलो वर्ष नै दुई सय केजी अलैँची उत्पादन हुँदा दङ्ग परे।'

सुन्तला र अलैँची खेती थोरै मेहेनतमा धेरै कमाइका लागि उपयुक्त बाली भएको थापाको अनुभव छ। पाँच वर्षअघिदेखि सुन्तलाखेती र तीन वर्षअघिदेखि अलैँची खेती थाल्नुभएका थापाले आठ रोपनी जग्गामा लागइएको दुई सय बोट सुन्तला र पाँच रोपनी जग्गामा लगाइएको अलैँचीले पूर्ण उत्पादन दिन थाल्यो भने वार्षिक पाँच लाख कमाइ हुने अनुमान गरे।

श्री गणेश व्यावसायिक कृषि सहकारीका सचिवसमेत रहेएका उनले आफूले कृषि सहकारीमा लागेपछि व्यवसायिक योजना अगाढी बढाउन सहयोग भएको बताए। 

'कृषक नै भएपछि कृषि सहकारीमा बस्नुको अर्थ रहन्छ, आफूले सिकेका कुरा अरूलाई भन्न सजिलो हुन्छ', थापाले भने, 'सिगानामा सुन्तलापछिको राम्रो आम्दानी दिने खेती भनेको अलैँची नै हो, चिस्यान भिरालो जग्गा अहिले बाँझो छ त्यही बाँझोमा महङ्गो अलैँची उब्जाउ हुन्छ भनेर अन्य किसानलाई समेत देखाउन आफूले सुरुमा खेती गरेको हुँ।' 

उनले अबको पाँच वर्षपछि सुन्तला र अलैँची खेतीबाट वार्षिक पाँच लाख कमाइ हुने बताए। थापामात्रै होइन सोही स्थानका लाल थापाले समेत हालै पाँच रोपनी जग्गामा अलैँची खेती गर्न थालेको जानकारी दिए।

थापाद्वयमात्रै नभएर कोरिखोलामा समेत छ जनाले अलैँचीको व्यावसायिक खेती थालेका छन्। सुरुमा रमेशले इलामबाट बिरुवा लिएर अलैँची खेती थालेका थिए। सिगानाका किसानले सुन्तला बिक्रीबाटै वार्षिक दुई करोड बढी रकम भित्र्याउँदै आएको तथ्याङ्कमा उल्लेख छ। सिगाना सुन्तला जोनमा समेत समावेश भइसकेको छ। 

सिगानाको तल्लो चिसो भागमा अलैँची, बीचको सुक्खा क्षेत्रमा सुन्तला र माथिल्लो भागमा चिया र किबीखेती भइरहेको सिगानाका अगुवा सुन्तला किसान रामबहादुर खड्काले बताए। 

उहाँका अनुसार अहिले परीक्षणमा किबी र चियाखेती भइरहे पनि सिगानामा सुन्तलापछि अलैँचीखेती सफल भइसकेको छ। अहिले अलैँचीको मूल्य प्रतिकेजी ६ सय छ। अहिले अलैँचीको राम्रो उत्पादन हुने ताराखोला, जैमिनी, दुदिलाभाटीलगायत स्थानमा किसानलाई अलैँची टिप्नको चटारो छ। सिगानामा बेमौसममा सुन्तला बिक्री गरेर दोब्बर आम्दानी गर्नका लागि २० टन क्षमताको विद्युतीय शीत भण्डार गृहसमेत निर्माण गरिएको श्री गणेश कृषि व्यावसायिक सहकारीका अध्यक्ष रामबहादुर थापाले बताए । 

उनले शीतभण्डारमा सुन्तलाबाहेक अदुवालगायत नगदे बालीसमेत भण्डार गर्न सकिने जानकारी दिए। सिगानाको माटोमा विस्तारै अम्लियपन बढ्दै गएकाले क्रमशः माटोको उपचारसँगै सुन्तला, कागती, अलैँची तथा किबीखेती गर्न सकिने बागलुङ नगरपालिकाका कृषि शाखा प्रमुख राहुल केसीले उल्लेख गरे। रासस


प्रकाशित : शुक्रबार, भदौ २४ २०७९०७:५३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend