शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

चामल निर्यातमा भारतले लगायो २० प्रतिशत कर 

शुक्रबार, भदौ २४ २०७९
चामल निर्यातमा भारतले लगायो २० प्रतिशत कर 

संसारभर खाद्यान्न आपूर्तिमा समस्या आएको र भारतमा धानको खेती घटेका कारणले भारतले निर्यातमा कडाइ गर्न खोजेको हो। यो वर्ष भारतमा ५.६२ प्रतिशत धान रोपाइ घटेको छ। 

काठमाडौं- भारत सरकारले चामल निर्यातमा कडाइ गरेको छ। आन्तरिक आपूर्तिलाई बलियो बनाउनका लागि भन्दै भारतले चामल निर्यातमा २० प्रतिशत कर लगाउने निर्णय गरेको छ। भारतीय सञ्चार माध्यमहरूमा प्रकाशित समाचारअनुसार बासमती बाहेकको चामल निर्यातमा २० प्रतिशत निर्यात महसुल लगाउने भारतको राजस्व विभागले सूचना जारी गरेको छ। 

यो बढेको कर आजदेखि नै लागू हुने छ। संसारभर खाद्यान्न आपूर्तिमा समस्या आएको र भारतमा धानको खेती घटेका कारणले भारतले निर्यातमा कडाइ गर्न खोजेको हो। यो वर्ष भारतमा ५.६२ प्रतिशत धान रोपाइँ घटेको छ। 

भारत संसारकै दोस्रो धान उत्पादक देश हो। धान/चामलको विश्वव्यापी चामलमा भारतले ४० प्रतिशत हिस्सा ओगट्दै आएको छ। वर्ष सन् २०२१/२२ मा मात्र भारतले कूल २ करोड १२ लाख टन चामल निर्यात गरेको थियो। बासमती बाहेककै चामल  मात्र भारतले ६.११ अर्ब डलरको निर्यात गरेको थियो। 

संसारका १५० भन्दा धेरै देशमा चामल निर्यात गर्ने भारतको यो निर्णयबाट नेपाल पनि प्रभावित हुने भएको छ। नेपालमा अधिकांश चामल भारतबाटै आयात हुँदै आएको छ। 

भारतले कर नबढाउँदा पनि २० देखि २५ प्रतिशत चामलमा मूल्य बढेको थियो। अब कर बढ्दा स्वभाविक रुपमा नेपाली बजारमा चामलको मूल्य बढ्नसक्ने छ। 


प्रकाशित : शुक्रबार, भदौ २४ २०७९०३:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend