सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३
भारतसँगै अब बंगलादेश 

२४ सय मेगावाट क्षमताका विद्युत आयोजना निर्माणमा बंगलादेशको चासो

पहिलो चरणमा ६८३ मेगावाट क्षमताको सुनकोसी तेस्रो 

बुधबार, भदौ १५ २०७९
२४ सय मेगावाट क्षमताका विद्युत आयोजना निर्माणमा बंगलादेशको चासो

काठमाडौं- भारतसँगै ऊर्जा संकट खेपिरहेको बंगलादेशले पनि नेपालका ठूला आयोजना निर्माणमा चासो दिएका छन्। बंगलादेशले भारतीय मोडलमा नै नेपालमा बिजुली उत्पादन गर्ने र बंगलादेश लैजाने नीति लिएको छ। बंगलादेशले पहिलो ठूलो आयोजनाको रुपमा ६८३ मेगावाट क्षमताको सुनकोसी तेस्रो जलाशययुक्त आयोजना निर्माण गर्नेगरी प्रक्रिया अगाडि बढाएको छ। 

भारतीय कम्पनी एनएचपीसीले पश्चिम सेती र एसआर-६ आयोजना निर्माण गर्ने सम्झौता गरिसकेको छ। यता भारतीय कम्पनी सतलजले अरुण तेस्रो आयोजनाको निर्माण कार्य गरिरहेको छ।

बंगलादेश सरकारले बंगालादेशकै निजी क्षेत्रसँग सहकार्य गरेर सुनकोसी तेस्रो मात्रै नभएर दोलखा र रामेछापमा पहिचान भएका १ हजार ७ सय २० मेगावाटको खिम्ती शिवालय जलाशययुक्त आयोजनामा समेत चासो दिएको छ। बंगलादेशले २ हजार ४ सय ३ मेगावाट बिजुली उत्पादनमा चासो दिएको छ। 

गत भदौ ८ मा बंगलादेशको विद्युत्, ऊर्जा तथा खनिज स्रोत मन्त्रालयका सचिव मोहमद हबिबुर रहमान नेतृत्वको आयोजनाको प्रस्तावित निर्माणस्थल र जलाशय क्षेत्रको स्थलगत अवलोकन गरी फर्किएको थियो। अहिले बंगालदेशको चासोमा नेपालका आयोजनाहरु परेको र पहिलो ठूलो आयोजनाको रुपमा सुनकोसी तेस्रो बनाउन बंगादेश तयार देखिएको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय सहसचिव मधुप्रसाद भेटुवालले बताए।

‘आयोजना अघि बढाउन बंगलादेश इच्छुक र तयार देखिएको छ, छिट्टै आयोजनाबारे बंगलादेशले निर्णय गर्ने देखिएको छ,’ भेटवालले भने। आयोजनाको अनुमानित लागत एक अर्ब ४५ करोड ८० लाख अमेरिकी डलर रहेको छ। सुनकोसी तेस्रो आयोजनका लागि झन्डै पौने २ खर्ब नेपाली रुपैयाँ लागत अनुमानन गरिएको छ। 

पहिलो चरणमा ६८३ मेगावाट क्षमताको सुनकोसी तेस्रो र दोस्रो चरणमा १७२० मेगावाट क्षमताको खिम्ती शिवालय जलाशययुक्त अयोजनामा समेत चासो दिएको भेटुवाल बताउँछन्। नेपालले २५ साउन ०७५ मा भएको संयुक्त कार्यदल र  निर्देशक समितिको तेस्रो बैठकमा जलविद्युत् क्षेत्रमा सहकार्यका लागि पाँचवटा जलविद्युत् आयोजनाको प्रस्ताव बंगलादेशसमक्ष गरेको थियो। बैठकमा पहिलो चरणमा सुनकोसी तेस्रोलाई अगाडि बढाउन आयोजनाको संयुक्त रूपमा स्थलगत भ्रमण गर्ने सहमति भएको थियो।

सुनकोसी तेस्रोको विद्युत् विकास विभागले विभागले आयोजनाको सम्भाव्यता अध्ययन सम्पन्न गरिसकेको छ। आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) गरी स्वीकृतिको प्रक्रियामा रहेको छ। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले कोसी नदी जलस्रोत विकास अध्ययनका क्रममा सन् १९८५ मा आयोजनाको पहिचान गरेको थियो। जाइकाले गरेको अध्ययनलाई सन् २०१४ मा अद्यावधिक गरिएको थियो।

बिपी राजमार्गको नेपालथोकबाट करिब एक किलोमिटर रामेछापको खाँडादेवी र काभ्रेको तेमाल गाउँपालिको सिमानामा पर्ने लुभुघाटमा एक सय ८० मिटर अग्लो बाँध निर्माण गरी नदीलाई थुनिनेछ। आयोजनाको जलाशय ४५ किलोमिटर माथिसम्म फैलिन्छ। जसअनुसार सिन्धुपाल्चोकस्थित सुनकोसी नदीतर्फ बलेफी बजारभन्दा माथि र इन्द्रावती नदीतर्फ सिपाघाटसम्म जलाशय फैलिनेछ।

ईआईए प्रतिवेदनअनुसार आयोजनाबाट सिन्धुली, काभ्रे, रामेछाप र सिन्धुपाल्चोकका १३ स्थानीय तहका ४५ वटा वडाहरू प्रभावित हुनेछन्। आयोजनाबाट तीन हजार दुई सय ३७ हेक्टर जग्गा डुबानमा पर्नेछ। 

यसका लागि तीन हजार पाँच सय हेक्टर निजी जग्गा अधिग्रहण गर्नुपर्नेछ भने ६ सय ५५ हेन्टर वन क्षेत्रको जग्गा पर्नेछ। आयोजनाबाट ११ हजार सात सय जनसंख्या विस्थापित हुने देखिएको छ। वार्षिक दुई अर्ब ३५ करोड ६२ लाख युनिट उत्पादन हुने विद्युतमध्ये हिउँदयाममा ६२ करोड २३ लाख युनिट उत्पादन हुने बताइएको छ।


प्रकाशित : बुधबार, भदौ १५ २०७९०६:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend