शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

अलैँचीको लगातार मूल्य घट्न थालेपछि किसान चिन्तित

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, भदौ ७ २०७९
अलैँचीको लगातार मूल्य घट्न थालेपछि किसान चिन्तित

इलाम- इलामको तल्लो क्षेत्रमा अलैँची टिप्न सुरु भएको छ। पूर्वी पहाडी क्षेत्रका किसानको आम्दानीको मुख्य नगदेबालीका रुपमा रहेको अलैँचीको टिपाइ सुरु भए पनि भाउ ओरालो लागेपछि किसान चिन्तित भएका छन्। 

रोङ गाउँपालिका, सूर्योदय, इलाम, देउमाई नगरपालिकाको खोला किनार क्षेत्रको बगानमा किसानले अलैँची टिप्न सुरु गरेका छन्। उच्च मूल्य हुँदा प्रति मन (४० किलोग्राम) रु एकलाख माथिले बिक्री भएको अलैँचीलाई खोल्साको कालो सुनको उपनामसमेत दिइएको छ। तर सोही अलैँची हाल करिब ३० हजार प्रति मन बिक्री हुने गरेको छ। 

अघिल्लो वर्षको तुलनामा यसवर्ष भाउ घटेको छ। बर्सेनि भाउ ओरालो लाग्न थालेपछि किसान चिन्नित बनेका छन्। पछिल्लो समय अन्नबाली मासेर किसानले बारीमा अलैँची लगाउन थालेका छन्। एकातिर विभिन्न रोगले अलैँची मासिने र अर्कातिर भाउ घट्दै गएपछि अलैँचीको विकल्प खोज्नेतिर किसान पुगेका छन्। 

भारतको बाटो भएर विदेश निर्यात हुने अलैँचीले देशको अर्थतन्त्रमासमेत महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। तर सरकारी क्षेत्रबाट मासिँदै गरेको अलैँची ब्यूँताउन खास किसान समक्ष कार्यक्रम नै नल्याएको किसानको गुनासो छ। गएको वर्ष खरिद गरेर राखिएको अलैँची यसवर्ष बढी मूल्यमा बेच्ने आशामा राखिएको भए पनि मूल्य घटेपछि व्यवसायीसमेत चिन्तित छन्। यसवर्ष प्रतिमन ३२ हजारले खरिदबिक्री भइरहेको इलाम बिब्ल्याँटेका व्यापारी कृष्ण पौडेलले बताए। उनका अनुसार राम्रो माल मात्र सो मूल्यमा किन्न सकिन्छ। 

अलैँची टिप्ने कामदारलाई पनि उच्च मूल्य दिइने गरिएको छ। वर्षभरी पानी लगाउने, मलजल र स्याहार गर्ने खेताला लगाएर अलैँची टिप्ने साथै छोडार सुकाउन्जेलमा किसानलाई धेरै नाफा नहुने उनीहरुको भनाइ छ। नेपालमा ४० जिल्लामा यसको खेती हुँदै आएको बताइएको छ। प्रदेश नं १ को इलामसहित पाँचथर तेह्थुम, धनकुटा, ताप्लेजुङ, सङ्खुवासभा, खोटाङमा यसको व्यावसायिक उत्पादन हुने गरेको छ। 

नेपालमा १८ हजार दुई सय ७३ हेक्टरमा अलैँची खेती हुने गरेको कृषि मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ। साथै सात हजार नौ सय ५४ मेट्रिक टन वार्षिक अलैँची उत्पादन हुँदै आएको बताइएको छ। सरकारले नेपालको अलैँची नेपालमा नै प्रशोधन गर्न पहल गरे यसको मुल्य पुन बढ्ने किसानको भनाइ छ। रासस


प्रकाशित : मंगलबार, भदौ ७ २०७९१३:०५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend