शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

भकुण्डेमा फस्टाउँदै किबी खेती 

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, भदौ ७ २०७९
भकुण्डेमा फस्टाउँदै किबी खेती 

बागलुङ- बागलुङ नगरपालिका-१० भकुण्डेका हर्कबहादुर थापाले लगाएको किबीको एउटा बोटमा मात्रै गत वर्ष एक सय ५० किलो फल्यो। थापाले बारीमा पाँच बोट मात्रै किबी लगाएका छन्। पाँच बोटमै वार्षिक पाँच सय किलो किबी फल्ने गरेको उनी बताउँछन्।

मलजल र थाक्रो भएमा एउटै बोटमा धेरै किबी फलाउन सकिने थापाको अनुभव छ। 'पहिला किबी परीक्षणका लागि लगाए, अब अन्य स्थानमा खेती विस्तार गर्ने योजनामा छु', उनले भने। अहिले भकुण्डेमा थापासहित अन्य किसानले व्यावसायिकरुपमा किबी खेती गर्दै आएका छन्। पछिल्लो समय किबी खेती गर्ने किसानको सङ्ख्यामा बढ्दै गएको छ। काँटछाँट र उचित हेरचाह गर्नसके मनग्य आम्दानी गर्न सकिने किसान बताउँछन्। 

पर्यटकीय गाउँका रुपमा परिचित भकुण्डेको उपल्लो भागमा घरबास (होमस्टे) फस्टाउँदै गएको छ। सोही क्षेत्रमा किबीको सफल उत्पादन भइरहेको छ। पाहुनाले किबी रुचाउने गरेकाले बजारको समस्या नभएको अतिथि सत्कार घरबासका सञ्चालक इन्द्रकुमारी थापाले बताइन्। भकुण्डेमा फस्टाउन थालेको किबी खेतीलाई प्रोत्साहन गर्ने खालका कार्यक्रम ल्याइने बागलुङ-१० का वडाध्यक्ष तिलबहादुर थापा बताउँछन्। 

'किबी खेतीको राम्रो सम्भावना छ', उनले भने। भकुण्डेको तल्लो भागमा सुन्तला खेती र उपल्लो भागमा किबी खेतीका लागि किसानलाई प्रोत्साहन गर्ने योजना वडा कार्यालयसँग छ। किबी प्रतिकिलो स्थानीय बजारमा तीन सयदेखि तीन सय ५० रुपैयाँ सम्ममा बिक्री हुन्छ। किबीको नियमित सेवनबाट गर्भवती, रक्तचाप, मुटु, रुघाखोकीलगायत बिरामीलाई विशेष फाइदा पुग्छ। 

बजारमा माग बढ्दै गएको बागलुङ नगरपालिकाका कृषि शाखाप्रमुख राहुल केसीले जानकारी दिए। किवी खेती एक हजार दुई सयदेखि दुई हजार फिटसम्मको उचाइमा गर्न सकिन्छ। रोपेको तीन वर्षपछि किबीले उत्पादन दिन थाल्ने किसान बताउँछन्। रासस


प्रकाशित : मंगलबार, भदौ ७ २०७९०८:१३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend