शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

वर्षाले किसानलाई राहत, रोपाइँ थप्न सकिने आश

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, साउन २९ २०७९
वर्षाले किसानलाई राहत, रोपाइँ थप्न सकिने आश

यसपालि पानीकै अभावले अपेक्षित धान रोपाइँ हुनसकेको छैन। पानी राम्रो परे अझै खरुवनबाटै पनि केही रोपाइँ थप्न सकिने किसानको आश छ।

महोत्तरी- महोत्तरीसहितका मधेसमा शनिबार रातिको वर्षाले राहत मिलेको छ। उखरमाउलो गर्मीबीच करिब दुई सातापछि शनिबार राति झम्केर पानी परेपछि किसानले राहतको सास फेरेका छन्। साउन निगल्दोको वर्षा जिल्लावासीलाई अमृत बर्सेझैँ भएको छ।

पानीबेगर रोपेको धान रोपोमै पहेँलिदै जाँदा र थप रोपाइँ गर्न नपाएर पिरोलिएका किसानलाई पछिल्लो वर्षाले थोरै आशा जगाएको छ। पछिल्लो वर्षाले धान रोप्न नै पानी नपुगे पनि पहिलेको रोपो जाग्ने किसानलाई आश जागेको हो। जिल्लामा मध्य साउनयता गए राति पानी परेको हो।

'धान अब के होला भनेर आश मारेका थियौँ, पछिल्लो वर्षाले फेरि आश जगायो', महोत्तरीको भङ्गाहा-४ का किसान रामसागर यादवले भने 'अब केही दिन पानीले साथ दिए थप रोपाइँ पनि गर्न पाइने छ।' पछिल्लो वर्षाले रोपाइँका लागि पर्याप्त पानी नपुगेको भए पनि यसअघि रोपिएको धानलाई भने अमृत नै भएको उनको भनाइ छ। केहीबेरकै भए पनि पछिल्लो वर्षा मधेसका सबैजसो जिल्लामा भएको छ। पछिल्लो वर्षा पूर्वपश्चिम राजमार्ग आसपास भएर बढी परेको पाइएको छ।

पछिल्लो वर्षाले तालु फुट्लाजस्तो चर्को घामको रापबाट राहत भएको छ। लगातारको प्रचण्ड रापले चरन क्षेत्रमा सुकेका घाँसका झाम्टा अब पलाउने र गाईवस्तु चराउन पाइने पशुपालक किसानले आश सँगालेका छन्। 

यसैबीच मौसमविद्हरुले अब दुई-तीन दिन राम्रो वर्षा भइरहने बताएपछि किसान मख्ख छन्। जिल्लामा यसपालि पानीकै अभावले अपेक्षित धान रोपाइँ हुनसकेको छैन। पानी राम्रो परे अझै खरुवन (कलम, पहिलेको रोपो गाँजिएपछि फेरि उखेलेर रोप्ने बीउ) बाटै पनि केही रोपाइँ थप्न सकिने किसानको आश छ। मधेसमा खरुवनको रोप भदौ पहिलो सातासम्म गर्न सकिने किसान बताउँछन्।

महोत्तरीमा कुल ७० हजार खेतीयोग्य जग्गामध्ये ५० हजार हेक्टरमा गरिने धानखेती अहिलेसम्म करिब ६५ प्रतिशत रोपाइँ हुनसकेको कृषि ज्ञान केन्द्र महोत्तरी जलेश्वरले नै जनाएको छ। जिल्लामा कुल खेतीयोग्य जग्गामा १० प्रतिशतमात्र सिञ्चित हुँदा यहाँको खेती आकाशे पानीको भरमै हुँदै आएको छ।

साउन मध्य बर्खाकालको महिना भए पनि यसपालि अल्प वर्षाले खेतीपातीको काम अपेक्षित हुनसकेको छैन। शनिबारको वर्षाले आम किसानलाई लामो पर्खाइपछि प्राप्त हुँदा चाडवाड आएजस्तै खुुसी दिएको हो। रासस


प्रकाशित : आइतबार, साउन २९ २०७९०४:०३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend