शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

स्याउ उत्पादन बढ्दो

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, साउन २४ २०७९
स्याउ उत्पादन बढ्दो

दार्चुला- दार्चुलामा यो वर्ष स्याउ उत्पादन राम्रो भएको छ। स्याउ जोन क्षेत्र रहेको यहाँका अपी हिमाल, ब्यास, नौगाड गाउँपालिकामा स्याउ उत्पादन राम्रो भएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ जोनका अनुसार जिल्लाभरि दुई सय ४९ हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिएको छ।

'गाउँगाउँमा स्याउँ उत्पादन राम्रो भएको छ', अपी हिमाल गाउँपालिका- ४ का स्थानीय जनक ठेकरले भन्नुभयो, 'केही समयपछि स्याउ बजारमा आउने अवस्थामा पुगेको छ।' स्याउको हरेक बोटमा लटरम्म फलेका छन्। अहिले सदरमुकाम खलङ्गामा भारतबाट आयात हुने स्याउ दुई सय ५० प्रतिकेजी पुगेको छ। तर जिल्लाभरि उत्पादन हुने स्याउ सदरमुकामसम्म ल्याउन किसानलाई बाटो नहुँदा समस्या छ। 'गाउँ नजिक बजार छैन्', स्याउ कृषक कपुरसिंह धामीले भन्नुभयो, 'खलङ्गा ल्याउन ढुवानीमै समस्या छ।' सडक सञ्जाल नजोडिएको कारण पनि स्याउ बजारमा ल्याएर बिक्री गर्न सकिने अवस्था छैन।

दार्चुला ब्यासको छाङ्गरु तथा गागामा हजारौँ बिरुवा स्याउ लगाइएकोमा त्यसबाट राम्रो फल लागेको छ। तर यहाँ उत्पादन भएका स्याउ बजारसम्म ल्याउन नेपालतिर बाटो नहुँदा किसान मर्कामा परेका छन्। स्याउ जोन दार्चुलाका कार्यालय प्रमुख विष्णुप्रसाद ओझाका अनुसार हरेक वर्ष स्याउ उत्पादन क्षेत्र बढ्दै गएको छ। किसानले उत्पादन बढाउँदै लगेका छन्। किसानले उत्पादन गरेको स्याउ बजारसम्म ल्याउन भने सकिरहेका छैनन्।

दुर्गम क्षेत्रमा स्याउ उत्पादन भइरहेको छ। तर सडक पहुँच नपुगेकै कारण किसानले उत्पादन गरेको स्याउले बजार पाउन नसकेको ओझाको भनाइ छ।

जिल्लामा वार्षिक एक हजारभन्दा बढी टन स्याउ उत्पादन हुने गरेको छ। जिल्लामा आर्थिक वर्ष २०७६/७७ मा नौ सय १० मेट्रिक टन र ०७७/७८ मा एक हजार दुई सय १५ मेट्रिक टन स्याउ उत्पादन भएको कार्यालय प्रमुख ओझाले बताए। २०७६/७७ मा स्याउको बोटमा किरा लाग्नु र मौसममा आएको परिवर्तनका कारण स्याउ उत्पादन घटेको उनको भनाइ छ।

जिल्लामा गत वर्ष मात्र स्याउ जोन कार्यालयले ६ हजार पाँच सय बोट स्याउका बिरुवा किसानलाई वितरण गरेको थियो। यहाँको मौसममा सुहाउँदो इटाली, गाला फुजी रोयल, डेलिसियस, गोल्डन डेलिसियस जातका स्याउका उत्पादन गरिएका छन्। रासस


प्रकाशित : मंगलबार, साउन २४ २०७९११:३९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend