शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

बाख्रापालक कृषक समूहलाई २० लाख अनुदान

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, साउन २० २०७९
बाख्रापालक कृषक समूहलाई २० लाख अनुदान

कास्की- पोखरा महानगरपालिकाले व्यावसायिक बाख्रापालक कृषकलाई प्रोत्साहन गर्न २० लाख रुपैयाँ अनुदान वितरण गरेको छ। महानगरपालिका पशु सेवा शाखाद्वारा बिहीबार आयोजित बाख्रा मेला प्रदर्शनी तथा अनुदान वितरण कार्यक्रममा महानगर प्रमुख धनराज आचार्यले महानगरका चार कृषक समूहलाई पाँच लाख रुपैयाँका दरले अनुदान विरतण गरेका हुन्।

‘मेयरमैत्री बाख्रापालन प्याकेज’ कार्यक्रमअन्तर्गत महानगरले बर्सेनि बाख्रापालक कृषक तथा कृषक समूहलाई अनुदान तथा सहयोग रकम प्रदान गर्दै आएको छ। यस वर्ष अनुदानप्राप्त गर्ने कृषक समूहमा मिलीजुली बाख्रापालन कृषक समूह पोखरा–१३ आर्वा, सराङकोट बाख्रापालन समूह पोखरा–१८, लगनशील बाख्रापालन कृषक समूह पोखरा–३२ र बेगनास बाख्रापालन समूह पोखरा–३१ छन्। अनुदानबाट प्रत्यक्षरूपमा एक सयभन्दा बढी कृषक लाभान्वित भएको महानगर पशु सेवा शाखा प्रमुख नवराज अधिकारीले बताए।

कार्यक्रममा मौजा हिल लाइभस्टक फार्म पोखरा–२० का कृषक दुर्गा बहादुर गुरुङलाई पोखराका विभिन्न स्थानलाई बाख्रापालनको पकेट क्षेत्रका रूपमा विकास गर्न तथा कृषकलाई प्रोत्साहन गर्ने कार्यमा उल्लेखनीय योगदान गरेवापत ‘सर्वोत्कृष्ट वर्ष कृषक’ सम्मानबाट पुरस्कृत गरिएको थियो। 

यसैगरी पोखरा महानगरपालिकाभित्र रहेका १७ उत्कृष्ट कृषि फार्मलाई पनि सम्मान गरिएको छ। सम्मानित कृषकका प्रत्येक फार्ममा एक सय बढीको सङ्ख्यामा बाख्रा पालिएका छन्। कार्यक्रममा महानगर प्रमुख आचार्यले आगामी पाँच वर्षभित्रमा महानगरपालिकालाई तरकारी, दूध, अण्डा, मासु तथा फलफूलमा आत्मनिर्भर बनाइने बताए।

कृषकलाई निर्वाहमुखीभन्दा पनि व्यवसायीकरणमा जोड दिँदै उनले महानगर कृषकको साथमा रहेको विश्वास दिलाए। कृषि उपजको ढुवानी तथा बजारीकरणका लागि शीतभण्डारसहितको कृषि एम्बुलेन्स सञ्चालन गर्ने तयारी गरिएको उनले जानकारी दिए। रासस


प्रकाशित : शुक्रबार, साउन २० २०७९०८:३७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend