बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

'स्वास्थ्य खबर हेल्थ अवार्ड' कोभिड उपचारमा योगदान गर्ने स्वास्थ्यकर्मीहरूलाई प्रदान गरिने 

मंगलबार, साउन १७ २०७९
'स्वास्थ्य खबर हेल्थ अवार्ड' कोभिड उपचारमा योगदान गर्ने स्वास्थ्यकर्मीहरूलाई प्रदान गरिने 

काठमाडौं - यस वर्षको स्वास्थ्य खबर हेल्थ अवार्ड कोभिडको समयमा अग्रभागमा बसेर बिरामीको सेवा र उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुलाई प्रदान गरिने भएको छ। अवार्डले स्वास्थ्य क्षेत्रमा विशिष्ठ सेवा पुर्याउने स्वास्थ्यकर्मीहरुको योगदानको पहिचान र सम्मान गर्ने उदेश्यका साथ बार्षिक रुपमा वितरण हुँदै आएको छ। 

आयोजक स्वास्थ्य खबर पत्रिकाका अनुसार कोभिडको समयमा खटिएका सरकारी तथा सामुदायिक स्वास्थ्य संस्थाहरुमा विभिन्न तह र तप्कामा रही सेवा पुर्याएका स्वास्थ्यकर्मीहरुलाई अवार्ड प्रदान गर्ने निर्णय गरिएको हो। 

आयोजकका अनुसार यस बर्ष विभिन्न नौ वटा विधामा अवार्ड प्रदान गरिने छ। कोभिड महामारीको जोखिममा समेत जोखिम उठाएर बिरामीको सेवामा समर्पित डाक्टर, नर्स, महिला स्वास्थ्य स्वयंसेविका, एम्बुलेन्स सेवा प्रदायक, स्वास्थ्य संस्था, जनस्वास्थ्यकर्मी, ल्याबकर्मी, शब व्यवस्थापक लगायत विधामा अवार्ड प्रदान गर्न लागिएको स्वास्थ्य खबर पत्रिकाका प्रकाशक अनिल न्यौपानेले बताएका छन्। 

कोभिडजस्तो विश्वव्यापी महामारीको समयमा अग्रभागमा रहेर बिरामीलाई सेवा पुर्याउने स्वास्थ्यकर्मीहरुलाई सम्मान गर्न पाउँदा हामीलाई गौरब महसुस भएको छ, न्यौपानेले भने, ‘यसबर्ष अवार्ड खोप नआउँदा जतिबेला कोभिड संक्रमणसँग मानिसहरु त्रसित थिए त्यस्तो विपत्तिको समयमा समेत आफ्नो कर्तब्यमा लागिपरेर मानव जीवन बचाउन योगदान गर्नु भएका समग्र स्वास्थ्यकर्मीहरुप्रति समर्पित छ।’

उनका अनुसार कोभिडको समयमा बिरामीको उपचारमा संलग्न रहँदारहँदै जीवन गुमाएका देशैभरका स्वास्थ्यकर्मीहरुलाई विशिष्ठ सेवा सम्मानले सम्मानीत गरिने छ। यस्तो सम्मान मृतक स्वास्थ्यकर्मीको परिवारका सदस्यलाई हस्तान्तरण गरिने छ ।  यही भाद्र १७ गते काठमाडौंमा एक विशेष समारोहबीच अवार्ड वितरण कार्यक्रम तय गरिएको समेत आयोजकले जनाएको छ। 

अवार्डकोलागि नामावली संकलन, छनौट र अन्तिम निर्णयको लागि स्वास्थ्य तथा जनसँख्या मन्त्रालय समेतको सहयोगमा स्वास्थ्य क्षेत्रका विभिन्न संघसंस्थाका प्रतिनिधीहरु सम्मिलित निर्णायक समिति गठन गरिएको छ। समितिले अवार्डको नामावली संकलनका लागि आवेदन, मनोनयन र जिल्लाजिल्लाबाट सुचना संकलन कार्य गरिरहेको बताइएको छ। 

हालसम्म देशैभरीबाट विभिन्न विधाका सरकारी तथा सामुदायिक संस्थामा कार्यरत करिब ५सय स्वास्थ्यकर्मीहरुको नामावली संकलन भएको छ।  १२ बर्ष अघि शुरु भएको स्वास्थ्य खबर हेल्थ अवार्ड यसअघि दुई बर्ष कोभिडका कारण स्थगित भएको थियो । सरकारी तथा सामुदायिक संस्थाहरुमा रहेर अति विपन्न तथा गरिब परिवारहरुको स्वास्थ्य अधिकारका लागि खटिने स्वास्थ्यकर्मीहरुलाई प्रदान गरिने अवार्डले स्वास्थ्यमा सेवाभाव प्रबर्धन गर्ने आयोजकको मत छ । 


प्रकाशित : मंगलबार, साउन १७ २०७९०८:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend