बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नेपाल एयरलाइन्सको घाटा बढ्यो, एक वर्षकै ४ अर्ब ७९ करोड घाटा

आम्दानी बढेको झुटो प्रचारमा कार्यकारी अध्यक्ष अधिकारी

बिहीबार , साउन १२ २०७९
नेपाल एयरलाइन्सको घाटा बढ्यो, एक वर्षकै ४ अर्ब ७९ करोड घाटा

काठमाडौं- अघिल्लो आर्थिक वर्ष २०७७/०७८ को तुलनामा गत आर्थिक वर्ष २०७८/०७९ मा राष्ट्रिय ध्वजवाहक नेपाल एयरलाइन्सको घाटा बढेको छ।

निगम कार्यकारी अध्यक्ष युवराज अधिकारीले निगमको नेतृत्व सम्हालेसँगै निमगको घाटा बढेको देखिएको छ। गत आर्थिक वर्षमा मात्रै निगमको घाटा ४ अर्ब ७९ करोड ३ लाख १४ हजार ३ सय रुपैयाँ पुगेको छ। यो घाटा निगमकै इतिहासमा सबैभन्दा बढी हो। निगमको अघिल्लो आर्थिक वर्षको घाटा ३ अर्ब ६६ करोड ३० लाख ३९ हजार ५ सय ४४ रुपैयाँ थियो।

अघिल्लो आर्थिक वर्षको तुलनामा निगमको घाटा गत वर्ष १ अर्ब १३ करोड रुपैयाँले बढेको हो। अघिल्लो आर्थिक वर्ष भने निगमको घाटा आर्थिक वर्ष २०७६/०७७ को तुलनामा कम भएको थियो। आर्थिक वर्ष २०७६/०७७ मा निगमले ३ अर्ब ७६ करोड रुपैयाँ घाटा बेहोरेको थियो।

निगम कार्यकारी अध्यक्ष अधिकारीले अनावश्यक खर्च बढी गर्दा घाटा बढिरहेको निगमकै कर्मचारीहरू बताउँछन्। अधिकारीले करारमा १ सयभन्दा बढी कर्मचारी थप्दा पनि निगमको घाटा बढेको छ।

निगमले गत आर्थिक वर्ष जहाज उडान तथा ग्राउन्ड ह्यान्डलिङ सेवालगायतबाट कुल १२ अर्ब ४५ करोड ७३ लाख ८३ हजार ८ सय २४ सञ्चालन आय गरेको छ।

निगमले उडान खर्चमा ६ अर्ब ८ करोड ६३ लाख १८ हजार ४ सय रुपैयाँ खर्च गरेको छ। यसैगरी निगमले बीमामा ८२ करोड ९१ लाख २ हजार ९ सय ६१ रुपैयाँ खर्च गरेको छ। रेन्टल खर्चमा ६७ करोड ३९ हजार ९५ हजार ३ सय २ रुपैयाँ र मर्मत संभारमा शीर्षकमा ८१ करोड ८३ लाख ९६ हजार ६ सय ९२ रुपैया निगमले खर्च गरेको छ।

यसैगरी गत आर्थिक वर्षमा नै निगमले कस्टुमर सर्भिसमा ६७ करोड ३७ लाख ७९ हजार रुपैयाँ, डिप्रिसेस शीर्षकमा २ अर्ब १ करोड ७ लाख ९६ हजार रुपैयाँ, प्रशासनिक खर्च शीर्षकमा २ अर्ब ४० करोड ७४ लाख २० हजार रुपैयाँ र एजेन्सी कमिसनमा २५ करोड ५९ लाख ८९ हजार रुपैयाा खर्च गरेको छ। यी सबै शीर्षकमा गरी निगमले १३ अर्ब ७५ करोड ५७ लाख ९८ हजार रुपैयाँ खर्च गरेको छ।

यसैगरी निगमले विभिन्न शीर्षकबाट ४९ करोड ८ लाख ४५ हजार आम्दानी गर्दा र वित्तिय खर्च शीर्षकमा ३ खर्ब ९८ करोढ २७ लाख ४५ हजार रुपैयाँ खर्च गरेको छ। सम्रगमा निगमलाई गत आर्थिक वर्ष ४ अर्ब ७९ करोड ३ लाख रुपैयाँ घाटा भएको हो।

निगमले अहिले आन्तरिकतर्फ दुईवटा जहाजमार्फत उडान गरिरहेको छ भने अन्तर्राष्ट्रिय उडानतर्फ चारवटा जहाजले उडान गरिरहेको छ। निगमले अहिले जापानको नारिता, साउदीअरबको रियाद, भारतको दिल्ली, मुम्बई र बैंग्लोर साथै मलेसिया, कतार, दुबई, बैंकक र हङकङमा अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ।

झन्डै ५ अर्ब घाटामा गएको निगम व्यवस्थापनले अहिले कमाइ बढेको भन्दै अनावश्यक झुटा प्रचार गरिरहेको छ। अधिकारीले आफूलाई बर्खास्ती गर्ने तयारी भएसँगै आम्दानी बढेको मिथ्या प्रचार गरिरहेका हुन्।


प्रकाशित : बिहीबार , साउन १२ २०७९१०:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend