शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

'बढ्दो तापले सबै भताभुङ्‍ग पार्‍यो, पानी नपरेपछि समस्या छ'

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, असार ३२ २०७९
'बढ्दो तापले सबै भताभुङ्‍ग पार्‍यो, पानी नपरेपछि समस्या छ'

रोपोको पनि सुकेको छ। रोपाइँ गर्ने भनेर हिल्याइएको खेत चर्को घामले सुकेर गिखरिक्क परेको छ। रोपेको खेतमा धाँजा फाट्दै छ।

महोत्तरी- मध्य असारयता छिटो पानी नपरेपछि मधेसको मध्यभेगको महोत्तरीमा धान रोपाइँ अलपत्र परेको छ। महोत्तरीबाहेकका मधेसका अन्य जिल्लामा पनि सिञ्चितबाहेकका आकाशे पानीको भरका खेतमा पानी नभएर नै रोपाइँ रोकिएको छ।

असार मध्ययता पानी परेको छैन। त्यसअघि  परेको पानीमा धान रोप्न भनेर हिल्याइएका खेत अहिले सुकेका छन्। ब्याड पनि लगातार पानी नपाउँदा पहेँलिन थालेको महोत्तरीका किसानले बताएका छन्।

असार सिद्धिनै लाग्दासम्म धान रोपाइँले गति लिन नसकेपछि किसान यसपालि अन्नको  सङ्कट पर्ने चिन्ताले पिरोलिएका छन्। मुख्यबाली धान नै रोप्न नसकिएपछि परिवार कसरी पालन गर्ने भन्ने चिन्ताले  यहाँका किसानलाई पिरोलेको छ।

'ल, भन्नोस् न, आज (शनिबार) असार त सकिने हो, पानी नभएर धान रोप्न पाइएन, के  गरी गुजारा गर्ने होला?' भङ्गाहा नगरपालिका–४ पलारका ८० वर्षीय किसान चौठी बाँतरले वीरक्तिँदै भने।

मध्य असारअघिको वर्षाको पानीले एक झमट रोपाइँमा लागेका किसान त्यसयता खेतमा पानी सुकेपछि चिन्तामा परेका हुन्। असार सकिनैलाग्दा धान रोपाइँ जिल्लामा एकतिहाई नाघेको छैन। 'उता खेत सुक्दो छ, यता घरमा ज्वरो, रुघाखोकीले परिवारका मान्छे बिरामी भएर लड्दाछन्', भङ्गाहा नगरपालिका–५ कर्पुरगञ्जका किसान रामजुलुम सर्दार भन्छन्, 'यो बढ्दो तापले सबै भताभुङ्ग पार्‍यो, न समयमा खेती सक्न पाइयो, न सञ्चोसँग बस्न।' 

जिल्लामा अहिलेसम्म ३३ प्रतिशत मात्र रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र महोत्तरी, जलेश्वरले नै जनाएको छ। रोपोको पनि सुकेको छ। रोपाइँ गर्ने भनेर हिल्याइएको खेत चर्को घामले सुकेर गिखरिक्क परेको छ। रोपेको खेतमा धाँजा फाट्दै छ। जिल्लामा कूल ७० हजार खेतीयोग्य जग्गामध्ये लगभग ५० हजार हेक्टर धानखेतीका लागि योग्य मानिन्छ। जिल्लाका १० प्रतिशत जग्गामा स्थायी सिँचाइको प्रबन्ध छ। बिहानैदेखि चर्कने घामको प्रचण्ड राप र सँगसँगैको तातो हावाले कृषि मजदुर काममा निस्कन छाडेका छन्। रासस


प्रकाशित : शनिबार, असार ३२ २०७९०५:१४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend