बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

विकासका नाममा जथाभावी हुँदा चुलिँदै सङ्कट

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असोज १३ २०७८
विकासका नाममा जथाभावी हुँदा चुलिँदै सङ्कट

वातावरणीय अध्ययन तथा भौगोलिक अवस्थितिको मूल्याङ्कन नगरिकन जथाभावी खनिएका मोटरबाटो र निर्माण गरिएका भौतिक संरचनाका कारण म्याग्दीमा प्राकृतिक सङ्कट चुलिँदै गएको छ।

गलेश्वर- वातावरणीय अध्ययन तथा भौगोलिक अवस्थितिको मूल्याङ्कन नगरिकन जथाभावी खनिएका मोटरबाटो र निर्माण गरिएका भौतिक संरचनाका कारण म्याग्दीमा प्राकृतिक सङ्कट चुलिँदै गएको छ।

विकासका नाममा प्राविधिक परीक्षणबिना नै जथाभावी खनिएका मोटरबाटोकै कारण वर्षेनी भूस्खलन हुने, पहिरो जाने र मानवीय तथा धन, सम्पत्तिको क्षति हुने क्रम त बढेको छ नै, जिल्लामा गम्भीर प्राकृतिक तथा जैविक समस्या पनि देखिन थालेका छन्।

विसं २०७२ को महाभूकम्पका कारण चिरा परेर कमजोर बनेको यहाँको भूगोलमा त्यसयता वर्षेनी डोजर र स्काभेटरका माध्यमबाट वन, पाखा, गाउँबस्ती जताततै मोटरबाटो निर्माण गर्ने होडबाजीले प्राकृतिक सम्पदा नास हुँदै गएपछि गम्भीर मानवीय सङ्कट उत्पन्न हुन थालेको छ। जिल्लामा रहेका सामुदायिक वन तथा ग्रामीण क्षेत्रमा खानेपानीका मुहान सुक्दै जान थालेका र वन तथा गाउँबस्तीमा रहेका कुवा, धारा, ताल, पोखरी पुरिँदै गएकाले मान्छे र पशु चौपायालाई खानेपानीको समस्या उत्पन्न भएको ग्रामीण क्षेत्रका बासिन्दाले बताएका छन्।

बेनी नगरपालिका-२ बगरफाँट, वडा नं ३ भकिम्लीको दूधेखोला, सिङ्गा, बाबियाचौर र मङे्गला गाउँपालिकाको अर्मन, बरंजा, धवलागिरि गाउँपालिकाको धारापानी, मुना, मराङ तथा मालिका गाउँपालिकाको बिमलगायतका दर्जनौँ गाउँमा रहेका पानीका स्रोत पुरिएका छन् भने ताल र पोखरी पनि सुक्दै जान थालेका छन्।

'विगत चार वर्षयता यहाँका आठवटा पानीका स्रोत सुकिसकेका छन्, कुवा र पोखरी नामेट भएका छन्, कुवा र पोखरी रहेका ठाउँमा अहिले मोटरबाटो बनेको छ', बरंजाका कृष्ण सापकोटाले भने, 'नजानिँदो गरी गम्भीर मानवीय सङ्कट निम्तिँदै छ।'

यस्तै समस्या बगरफाँट र खबरागाउँमा पनि छ। गाउँको सिरान, बीच भाग र पुछारबाट खनिएका मोटरबाटोका कारण वर्षेनी पहिरो तथा भूस्खलनको समस्या छँदैछ, त्यसमाथि पानीका मुहान सुक्ने र कुवा तथा पोखरी नास हुँदै गएपछि यी गाउँमा खानेपानीको चरम अभाव उत्पन्न भइरहेको छ। 

'पोखरी तथा तालमा सधैँ एकनासको पानी रहने गरेका कारण पशु-चौपाया तथा बटुवाले पानी खान सजिलो हुन्थ्यो', बगरफाँटका ८५ वर्षीय बेदप्रसाद उपाध्यायले भने, 'अहिले पोखरी पुरिँदै गएकाले पशु चौपायालाई पानी खानसमेत समस्या भएको छ, तालका जलचर र वनस्पतिका प्रजातिसमेत नष्ट भएका छन्।'

डोजरे विकासका कारण जिल्लामा जैविक विविधताका स्रोतसमेत नष्ट हुँदै गएको वगरफाँट सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष डिलबहादुर घिमिरेले बताए। म्याग्दी नदीमा पाइने विभिन्न माछाका प्रजाति, कालो र पहेँलो रङका भ्यागुता, गङ्गटोलगायतका जलचर प्राणीसमेत देखिन छाडेको उनले सुनाए। रासस


प्रकाशित : बुधबार, असोज १३ २०७८०५:१९
  • सम्बन्धित विषय:

  • # वातावरण
  • # सडक
  • # पूर्वाधार
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend