बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

दुई वर्षअगाडि हिमालयनले सिभिललाई पठाएको अपमानजनक मर्जर प्रस्तावदेखि सम्मानजनक मर्जर सम्झौतासम्म

सिभिल बैंकका अध्यक्ष प्रतापले आफ्नो भन्दा लगानीकर्ताको हित राेजे

बिहीबार , असार ३० २०७९
दुई वर्षअगाडि हिमालयनले सिभिललाई पठाएको अपमानजनक मर्जर प्रस्तावदेखि सम्मानजनक मर्जर सम्झौतासम्म

काठमाडौं- सिभिल बैंकका तत्कालीन अध्यक्ष इच्छाराज तामाङलाई ४६ करोड ठगी आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेपछि सिभिल बैंकमा हल्लीखल्ली भयो। अध्यक्ष पद खाली भएपनि समस्या र जर्जर अवस्थामा गुज्रिएको सिभिल बैंकलाई उद्धार कसरी गर्ने भन्ने चासो सञ्चालक समिति र समग्र लगानीकर्तामा दबाब परेको थियो। गत मंसिर २ गते बसेको सञ्चालक समिति बैठकले प्रतापजंग पाण्डेलाई सर्वस म्मत रुपमा अध्यक्ष चयन गरेको थियो। 

तत्कालीन अध्यक्षले सिभिल बैंक समस्यामा लैजान मुख्य भूमिका खेलेको आरोप लाग्दै गर्दा नयाँ अध्यक्ष पाण्डेमाथी ठूलो दबाब आएको थियो। पाण्डे अध्यक्ष भएसँगै सीईओसहित कर्मचारीलाई विश्वासमा लिए। जसमा सहयोगी बने प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल पोखरेल। 

नेपाल राष्ट्र बैंकले मर्जरको दबाब दिइरहेका बेला पाण्डेले पनि व्यवस्थापन सुधार गर्दै वित्तीय सूचक सुधारको अभियान नै चलाए। सोही परिणामस्वरुप सिभिल बैंकले तेस्रो त्रैमासमा ८० प्रतिशतले नाफा बढाएको थियो। बैंकले प्रकाशित गरेको चैत मसान्तसम्मको वित्तीय विवरणअनुसार ९० करोड रुपैयाँ नाफा गरेको थियो। 

अघिल्लो वर्ष बैंकको नाफा ५० करोड मात्रै थियो। वित्तीय सूचक सुधारपछि अध्यक्ष पाण्डेले मर्जरको जोडि खोज्ने अभियान सुरु गरेका थिए। दुई वर्षअघि नै हिमालयनलाई मर्जरका लागि प्रस्ताव गरेको थियो। उक्त समयमा हिमालयनले त्यसबेला सुरुवातमा सिभिलको एक सेयरका लागि ३५ रुपैयाँ मात्रै दिएका थियो। 

पछि इन्भेष्टमेन्टसँग मर्जर गर्ने सम्झौता गरेपछि यता सिभिलसँगको संवाद टुटेको थियो। इन्भेष्टमेन्ट बैंकसँगको मर्ज भाँडिएपछि गत बैशाखदेखि पुनः हिमालयनले सिभिललाई मर्जरको प्रस्ताव गरेको थियो। उता एक वर्षभित्रै कुनै न कुनै वाणिज्य बैंकसँग मर्जर सम्झौता गर्नुपर्ने बाध्यतामा रहेको इन्भेष्टमेन्ट बैंकले मेगासँग मर्जर सम्झौता गरेपछि हिमालयनलाई दबाब परेको थियो। 

सोही कारण सिभिललाई मर्जरको लागि हिमायलनले निरन्तर प्रस्ताव पठाएको थियो। विगतमा ३५ प्रतिशतमात्रै दिने प्रस्ताव छाडेर हिमालयनले ६५ प्रतिशत पुर्‍याएको थियो। तर सिभिलले १००ः९० भन्दा कमको स्वाप रेसियोमा मर्जरमा नजाने अडान लिएपछि पुनः मर्ज हुने नहुने अनिश्चित बन्दै गएको थियो। 

सिभिलका अध्यक्ष  पाण्डे र सञ्चालकहरूले त्यसपछि हिमालयनलाई अर्को प्रस्ताव गरेका थिए। बैंकको नाम, सञ्चालक समिति र सीईओको दाबी नगर्ने र स्वाप रेसियो र कर्मचारी समायोजनको अडान नछाड्ने जनाएका थिए। अध्यक्ष पाण्डेले हेपिएर कुनैपनि हालतमा मर्जरमा नजाने अडान लिएका थिए। 

त्यसपछि सिभिलले बैंकको नाम, प्रमुख कार्यकारी अधिकृत, सञ्चालक कोही पनि नचाहिने प्रष्ट पारेको थियो। तर, त्यसको बदलामा राम्रो स्वाप रेसियो र सम्मानजनक कर्मचारी समायोजनको प्रस्ताव आउनुपर्ने अडान राखेको थियो। 

सिभिल आफ्नो अडानबाट पछि नहट्ने भएपछि हिमालयन बैंक सेयर स्वापमा केही लचक बन्दै गएको थियो। यता सिभिल बैंकले भने सिटिजन्स बैंकसँग पनि मर्जरको सम्झौता गर्ने तयारी गरेको थियो। सिटिजन्सले १००ः९७ सम्म दिन तयार भइसकेको थियो। सोही दबाबमा परेको हिमालयनले १००ः७५ प्रतिशत रेसियो दिने प्रस्ताव गरेको थियो। उक्त प्रस्ताव पनि सिभिल व्यवस्थापनले अस्वीकार गरेको थियो। 

सिभिलले सिटिजन्ससँग मर्जर तय गरेको संकेत हिमालयनले पाएपछि सिभिलकै प्रस्तावमा १००ः८१ प्रतिशत स्वाप रेसियो दिने र कर्मचारी समान हैसियतमा समायोजन गर्न सहमत भयो। 

civil himalayan.jpg

सोही सहमतिसँगै बुधबार हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ। गत शुक्रबार हुने भनिएको प्राप्ति सम्झौता रोकिएपछि भाँडिने आंशका गरिएको थियो। हिमालयनका तर्फबाट अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ र सिभिल बैंकका अध्यक्ष प्रतापजंग पाण्डेले सम्झौतापत्रमा हस्तक्षर गर्दै मर्जरलाई मुर्तरुप दिएका छन्। 

बर्सेनि दोहोरो अंकमा लाभांश दिँदै आएको नेपाल बंगलादेश (एनबी) बैंक यसअघि ४३ रुपैयाँमै नबिलमा बिलय भएको थियो। सोही अनुमान हिमालयन र सिभिलमा हुने धेरैको अनुमान थियो। एनबी बैंकका कर्मचारी नबिलमा गाभिएपछि घटुवा हुनुपर्ने विषयले समेत विवाद भएको थियो। यस्तोमा सिभिलले हिमालयनसँग बाजी नै मारेको छ।

वित्तीय सूचकहरूलाई मात्रै हेरेर सिभिलले पाउने स्वाप भनेको बढीमा ६५ देखि ७० रुपैयाँ मात्र थियो। तर, सिभिलको सुधारिएको वित्तीय सूचकमा सञ्चालकहरूको अडानले सम्मानजनक रेसियो सिभिलले पायो। 

बैंकको प्रमुख कार्यकारी अधिकृतमा हिमालयन बैंकका हालका प्रमुख कार्यकारी अधिकृत अशोक राणा रहनेछन् भने वरिष्ठ डेपुटी सीईओको जिम्मेवारी सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेलले पाउने छन्।

हाल हिमालयन बैंकको चुक्ता पुँजी १२ अर्ब ९६ करोड ८७ लाख २५ हजार रुपैयाँ र सिभिल बैंकको ९ अर्ब ७ करोड ५८ लाख ४३ हजार ८९० रुपैयाँ छ। दुई बैंक मर्जरमा गएपछि बन्ने बैंकको चुक्ता पुँजी २० अर्ब ३२ करोड रुपैयाँ पुग्नेछ। 


प्रकाशित : बिहीबार , असार ३० २०७९००:५३
  • सम्बन्धित विषय:

  • # bank
  • # cbl
  • # hbl


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend