बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

एक अर्ब लगानीमा भरतपुरमा बनाइएको पटिहानी रिसोर्टको व्यवस्थापन सोल्टीले गर्ने

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असार २६ २०७९
एक अर्ब लगानीमा भरतपुरमा बनाइएको पटिहानी रिसोर्टको व्यवस्थापन सोल्टीले गर्ने

पाँचतारे सुविधा दिने गरी यो रिसोर्ट नेपालका २३ व्यवसायीको लगानीमा निर्माण गरिएको हो।

चितवन- भरतपुरको पटिहानीमा एक अर्ब रुपैयाँको लगानीमा निर्माणको अन्तिम चरणमा पुगेको पटिहानी रिसोर्टको व्यवस्थापन सोल्टीले गर्ने भएको छ। 

पटिहानी रिसोर्ट निर्माण गरेको रिभर साइड रोयल गार्डेन रिसोर्ट प्रालि र सोल्टी समूहको व्यवस्थापनबीच रिसोर्ट सञ्चालनका विषयमा आइतबार सहमति भएको हो। सहमतिसँगै सोल्टी ‘वेस्ट इन्ड रिसोर्ट’ पटिहानीका नाममा आगामी भदौ १ गतेदेखि होटल सञ्चालनमा आउने भएको छ। भरतपुर महानगरपालिका–२२ राप्ती नदी तटीय क्षेत्रमा यो होटल रहेको छ। 

पाँचतारे सुविधा दिने गरी यो रिसोर्ट नेपालका २३ व्यवसायीको लगानीमा निर्माण गरिएको हो। रिसोर्ट सञ्चालन समितिका अध्यक्ष कल्याण जोशीका अनुसार अब होटलको व्यवस्थापन सोल्टीले गर्ने छ। रिसोर्टमा दश अत्याधुनिक भिल्ला छन्। यीबाहेक दुई स्वीइट भिल्लामा पौडीपोखरीसमेत रहेको छ। 

resort patihani.jpg

रिसोर्टमा ५२ कोठा छन्। पाँच जना अट्ने एउटा, १५० जना अट्ने दुई वटा, ७५ जना अट्ने तीन वटा र २५ जना अट्ने दुईवटा हलसमेत छन्। रेष्टुरेन्टमा एक पटकमा ३०० जनाले बसेर खान सक्ने सुविधा छ। छुट्टै २५० जना अट्ने सुविधासम्पन्न बार पनि छ। यससँगै हेल्थक्लब रहने छ। 

बगैँचा र पौडी पोखरी पार्टीका लागि व्यवस्थित बनाइएको छ। पाँच बिघा जमिनमा निर्मित रिसोर्टको बीचबाट सार्वजनिक बाटो भएकाले बाटोमुनिबाट आवतजावतका लागि अण्डरपासको व्यवस्थासमेत गरिएको छ। विदेशी पर्यटकलाई लक्ष्य गरी बनाइएको रिसोर्ट नजिकै हात्ती चढेर सामुदायिक वन घुम्ने सुविधा छ। 

टाढैबाट हेर्दा आकर्षक देखिने न्यूजिल्याण्डको टायल डेक्क्राको छानो होटलमा छ। धेरै जमिन भएकाले तरकारी, फलफूल आफै उत्पादन गरिने छ। यहाँ आउने पर्यटक हात्ती चढेर सामुदायिक वन घुम्ने, निकुञ्जभित्र जीप सफारी, पैदलयात्रा गर्ने, गाडीमा सफारी गर्ने, राप्ती नदीमा डुङ्गा सयर गर्ने, थारु कला संस्कृतिमा रमाउने गर्न सकिने उनको भनाइ छ। 

patihani.jpg

यससँगै पर्यटकका लागि थारु जातिको परम्परागत परिकार चिचर, घोगी, हाँस खाएर रमाउन पाउने उनले बताए। सोल्टी होटल समूहका उपाध्यक्ष सुदर्शन चापागाइँले सम्झौतासँगै अब चितवनमा सोल्टीको व्यवस्थापनमा होटल सञ्चालन हुने बताए। नेपालमा विदेशी व्यवस्थापन समूहले ठूला होटल हेरिरहेका छन्। स्वदेशी व्यवस्थापनमा सोल्टी समूहले आफ्नो अनुभवलाई उपयोग गरेर उत्कृष्ट व्यवस्थापन गर्नसक्ने उनी बताउँछन‍्।

विगत ५६ वर्षदेखिको सोल्टी समूहको नेपाली अनुभवलाई उपयोग गर्दै आफ्नो व्यावसायिक क्षमता वृद्धि गरेर उच्चस्तरको व्यवस्थापकीय सेवा दिनसक्ने सोल्टी समूहको दाबी छ। सोल्टीले काठमाडौँ र नेपालगञ्जमा आफ्नै होटल सञ्चालन गर्दै आएको छ भने इटहरी र चितवनमा व्यवस्थापन गर्ने भएको हो। रासस


प्रकाशित : आइतबार, असार २६ २०७९१०:३०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend