बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

निस्कोट बराह ताल : चराले गरिदिन्छ सफाइ

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असार २४ २०७९
निस्कोट बराह ताल : चराले गरिदिन्छ सफाइ

गलेश्वर- गाउँको शिरानमा जंगल। जंगलको नजिकै छ एउटा सुन्दर (पोखरी) ताल। प्राकृतिकरुपमा बनेको यो तालको भूबनोट नै अचम्मैको छ। यहाँबाट क्षितिज (आकाश र धर्ती जोडिएजस्तो देखिने ठाउँ) मा देखिन्छ हिमाल। गाउँको शिरानमा र जंगलको पुछारमा रहेको यो ताल कहिल्यै पनि फोहोर हुँदैन। यहाँ जंगलका पात पतिङ्‍गर परिहाले भने पनि पन्छीले चुच्चोले टिपेर बाहिर फ्याक्ने गर्दछन्।

यो तालको नाम बराहताल हो। पश्चिम म्याग्दीको मालिका गाउँपालिका-१ नम्बर वडामा पर्ने सुन्दर निस्कोट गाउँमा पुग्ने जो कोही पनि यो ताल देख्दा छक्के पर्ने गर्दछन्। ताललाई एकोहोरिएर हेरिरहँदा आफैँलाई बिर्सन पुग्छन् पर्यटक। निस्कोट गाउँमा पुगेपछि घना वनजंगलको बीच भाग र केही मानव बस्ती रहेको ठाउँमा बराहतालको लोभलाग्दो दृश्य हेर्न पाइन्छ।

रोमाञ्चक भू-बनोट, हरियाली र विविधताले युक्त सुन्दर गाउँ, मनमोहक प्रकृति र यही प्रकृतिको सेरोफेरोमा रहेको चित्ताकर्षक बराहतालले अहिले पर्यटकलाई पर्खिरहेको छ।

पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको र मौसम खुलेको समयमा आँखै अगाडि सेताम्मे हिमालको लर्कन देखिने निस्कोटको बराहतालमा थोरै पर्यटक पुग्छन्। भौगोलिकरुपमा विकट र प्रचारप्रसारको अभावमा थोरै पर्यटक पुगे पनि यहाँ पुग्ने पर्यटक मज्जाले रमाउने गर्दछन्। झण्डै दुई रोपनीको क्षेत्रफलमा फैलिएको बराहतालको आवश्यक संरक्षण, प्रचारप्रसार तथा प्रवर्द्धन गर्नुपर्ने आवश्यकता रहेको स्थानीयवासी बताउँछन्।

समुद्री सतहदेखि २ हजार ३ सय मिटरको उचाइमा अवस्थित बराहताल र तालको आसपासबाट मनोरम हिमशृङ्खला देखिन्छन्। बराहताल क्षेत्रबाट संसारको सातौँ तथा नेपालको दोस्रो अग्लो चुचुरो धौलागिरि हिमालको साथै गुर्जा, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे, मानापाथीलगायतका आधा दर्जनभन्दा बढी हिमाल र मनोरम दृष्यको प्रत्यक्षरुपमा अवलोकन गर्न सकिन्छ। बराहतालमा वन जंगल र हिमाल देखिने प्रतिविम्ब (छाया) समेत आकर्षकरुपमा देखिने निस्कोटका स्थानीय रमेश पुनले बताए।
  
हिमालको वरिपरि लुकामारी खेलिरहने बादलको घुम्टोले अझै सुन्दरता थपिदिन्छ। पहाड र आकाश जोडिएको क्षितिजमा पर्ने हिमाल अनि तालमा देखिने हिमालको दृष्यले त्यहाँ पुग्नेलाई अचम्मित बनाउँछ। निस्कोट गाउँमा पुग्ने जो कोही पनि बराहतालको अवलोकन गर्न तथा ताललाई पृष्ठभूमिमा पारेर फोटो र सेल्फी खिच्न भनेर त्यहाँ जाने गरेका छन्। निस्कोट गाउँबाट आधा घण्टाको दूरीमा पर्ने बराहताल स्थानीयका अनुसार झण्डै २० फिट गहिरो रहेको अनुमान गरिएको छ। वन जंगलको बीच भागमा ताल रहे पनि त्यसमा कुनै पातपतिङ्गर हुँदैनन्। पातपतिङ्गर परेमा चराले सफा गर्छन्। 

बराहतालमा बिहान सबेरै दुईवटा जलहाँस जलक्रिडा गर्न आउने गरेको स्थानीयवासीले अनुभव सुनाउँछन्। छिमेकी जिल्ला बागलुङको ताराखोला जोड्ने पदमार्गमा पर्ने पर्यटकीय महत्वको तालको आवश्यक प्रचारप्रसार गर्नुपर्ने स्थानीयको भनाइ छ। निस्कोट गाउँको डाँडाबाट छिमेकी ओखरबोट, रुमलगायत अन्य गाउँको आकर्षक दृश्य देखिन्छन्। निस्कोट गाउँ पर्यटनका साथसाथै कला र संस्कृतिमा पनि धनी छ। मगर समुदायको बाहुल्यता रहेको निस्कोटमा लोपोन्मुख यानीमाया, सुनीमाया, सालैजोजस्ता गीतह सुन्न पाइन्छ। बराहताल र निस्कोट गाउँको सुन्दरताले पर्यटकको मन लोभ्याइरहन्छ। 

बराहताल मुख्य आकर्षणको रुपमा रहेको निस्कोटमा पछिल्लो समय स्वदेशी पर्यटक भ्रमण गर्नका लागि पुग्ने गरेका छन्। बराहतालको पर्यटन प्रवर्द्धन गर्नका लागि वडा र पालिकामार्फत आवश्यक पहल गरिने निस्कोटका वडाध्यक्ष टङ्कप्रसाद पुनले बताए। प्रशस्तै पर्यटकीय सम्भावना रहेको भए पनि यस तालको बारेमा प्रचारप्रसार हुन नसक्दा ओझेलमा परेको वडाध्यक्ष पुनको भनाइ छ। रासस


प्रकाशित : शुक्रबार, असार २४ २०७९०७:३६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend