बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

लमजुङका ७६ प्रतिशत पानीमा इकोली

शनिबार, असार १८ २०७९
लमजुङका ७६ प्रतिशत पानीमा इकोली

स्वास्थ्य कार्यालयले वर्खा लाग्नुभन्दा अगाडि र वर्खाको सुरुवातमै सम्बन्धित उपभोक्ता समितिको समन्वयमा खानेपानीको नमूना संकलन गरी परीक्षण गरेकोे कार्यालय प्रमुख दवाडीको भनाइ थियो। 

लमजुङ- पहाडी जिल्ला लमजुङका ७६ प्रतिशत खाने पानीमा इकोली अर्थात् दिसा मिसावाट भएको पाइएको छ। जिल्लाका सात स्थानीय तहको खानेपानी आयोजना र ढुंगे धाराको खानेपानीमा स्वास्थ्य कार्यालयले विभिन्न समयमा १२० स्थानको पानीको नमूना परीक्षण गरेकामा ९१ वटामा इकोली भेटिएको स्वास्थ्य कार्यालय प्रमुख अमर दवाडीले बताए।  

पानीमा दिसाजन्य पदार्थ मिश्रण हुनुलाई इकोली भनिन्छ। परीक्षणमा जिल्लाका अधिकांश स्थानको पानी मानिसको स्वास्थ्यमा प्रतिकूल असर पार्ने खालको रहेको पाइएको छ। यतिका प्रतिशतमा इकोली भेटिँदा यस जिल्लामा शुद्धपानी कमै नागरिकले मात्र प्रयोग गरिरहेको उनको भनाइ थियो।

जिल्लाका  आठ स्थानीय तहमध्ये दूधपोखरी गाउँपालिकामा भने परीक्षण गरिएको छैन। स्वास्थ्य कार्यालयका अनुसार परीक्षण गरिएकामध्ये सुन्दरबजार नगरपालिकामा ३९ वटा नमूना परीक्षण गर्दा २७ अर्थात ६९ प्रतिशत इकोली भेटिएको छ।

बेँसीसहर नगरपालिकामा २९ वटा नमूना परीक्षण गर्दा २२ अर्थात ७६ प्रतिशत पानीमा इकोली भेटिएको छ। मध्यनेपाल नगरपालिकामा खानेपानीको २२ वटा नमूना परीक्षण गर्दा २० अर्थात ९१ प्रतिशत पानीमा इकोली भेटिएको छ। 

राइनास नगरपालिकामा आठवटा  नमूना परीक्षण गर्दा छ वटा अर्थात ७५ प्रतिशत रहेको छ भने दोर्दी गाउँपालिकामा पाँचवटा  नमूना परीक्षण गर्दा चार अर्थात ८० प्रतिशतमा इकोली रहेको भेटिएको स्वास्थ्य कार्यालयले जनाएको छ। मर्स्याङदी  गाउँपालिकामा परीक्षण गरिएको दुईवटै नमूनामा शतप्रतिशत इकोली भेटिएको छ भने, क्वहोंलासोँथर गाउँपालिकामा १४ नमूना परीक्षण गर्दा १० वटा अर्थात ७१ प्रतिशतमा इकोली भेटिएको छ।

 ती तथ्यांकको आधारमा यस जिल्लामा सरकारले शुद्ध खानेपानी नागरिकलाई उपलब्ध गराउनका लागि चुनौती थपिएको छ। एक घर एक धारा अभियान तीव्र रुपमा अघि बढिरहेपनि शुद्धपानी पुर्‍याउन भने सरकार असफल भइरहेको सरोकारवालाले बताए।

स्वास्थ्य कार्यालयले वर्खा लाग्नुभन्दा अगाडि र वर्खाको सुरुवातमै सम्बन्धित उपभोक्ता समितिको समन्वयमा खानेपानीको नमूना संकलन गरी परीक्षण गरेकोे कार्यालय प्रमुख दवाडीको भनाइ थियो। 

वर्खाको समयमा सङ्क्रमणको जोखिम रहने भएकाले स्वास्थ्य सावधानी अपनाउनाका साथै पानी शुद्धीकरण गरी पिउन उक्त कार्यालयले आग्रह गरेको छ। जिल्ला अस्पतालदेखि  घलेगाउँ घरवास, ढोडेनी स्वास्थ्य चौकी, फेलनी स्वास्थ्य चौकी, विभिन्न खानेपानी आयोजना, कुँवा, उपभोक्ता समितिको धारालगायत पानी उमालेर मात्र पिउनुपर्ने स्वास्थ्य कार्यालयले जोड दिएको हो।

उक्त कार्यालयले सार्वजनिक गरेको एकीकृत भेक्टर सर्भिलेन्सको नतिजाअनुसार राइनास, मध्यनेपाल र सुन्दरबजार नगरपालिकामा गरिएको परीक्षणमा तीन पालिकामा लामखुट्टेबाट विभिन्न प्रकोप फैलिन सक्ने देखिएको छ।

तीमध्ये राइनास र सुन्दरबजारमा डेँगु, हात्तीपाइले रोग र कालाज्वारको प्रकोप फैलिनसक्ने देखिएको र मध्यनेपाल नगरपालिकामा भुसुनाजन्य रोग अर्थात् मलोरियाको प्रकोप फैलिने उच्च सम्भावन देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ। रासस


प्रकाशित : शनिबार, असार १८ २०७९०८:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend