शनिबार, वैशाख २० गते २०८२    
शनिबार, वैशाख २० २०८२
images
images

उदाहरणीय कृषि : वैदेशिक रोजगारबाट फर्किएर भक्तपुरका जयराजले नवलपुरमा गरे कुरिलो खेती

वर्षमा एकपटक मकैखेती गरिने बारीमा बाह्रैमास हरियाली

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असार १७ २०७९
images
उदाहरणीय कृषि : वैदेशिक रोजगारबाट फर्किएर भक्तपुरका जयराजले नवलपुरमा गरे कुरिलो खेती

एक वर्षअघिदेखि मात्रै कुरिलो खेती सुरु गरेका जयराजले खेती सुरु गरेकै वर्ष सात लाख रुपैयाँ नाफा कमाएको सुनाए।

images
images

नवलपुर- भक्तपुरका जयराज ख्याजुले एक वर्षअघिदेखि नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका-३ ब्रम्हस्थानमा व्यावसायिक कुरिलो खेती सुरु गरे। कुरिलो खेती सुरु गर्नुअघि उनी १० वर्षसम्म वैदेशिक रोजगारमा थिए। 

images
images
images

वैदेशिक रोजगारमा लामो समय बिताएका ख्याजु स्वेदशमा नै उद्यमी बन्ने सोचका साथ फर्किएर नवलपुरमा व्यावसायिकरूपमा कुरिलो खेती सुरु गरेको बताउँछन्। उनले ब्रम्हस्थानमा दुई बिघा जमिन भाडामा लिएर व्यावसायिक कुरिलो खेती सुरु गरेका हुन्। वैदेशिक रोजगारबाट फर्किएलगत्तै व्यावसायिक कुरिलो खेती गर्न सुरु गरेका ख्याजुले मेहेनत गर्ने हो भने स्वदेशमा नै राम्रो आम्दानी गर्न सकिने उदाहारण प्रस्तुत गरेका छन्। 

images
images

नारायणी नदीको काखमा अवस्थित ब्रम्हस्थान बत्तीमुनिको अँध्यारोजस्तै छ। यो गाउँ हुँदै नारायणी बग्ने भए पनि यहाँ सिँचाइका लागि पानीको सुविधा छैन भने यहाँको खेतबारीमा बलौटे माटो भएका कारण स्थानीयवासीले अन्नबाली उब्जाउन सकेका थिएनन्। वर्षमा एकपटक मकैखेती गरिने बारीमा ख्याजुले बाह्रैमास हरियाली हुने कुरिलो खेती गरेर गाउँमा नै उदाहरणीय काम गरेका छन्। 

images
images

एक वर्षअघिदेखि मात्रै कुरिलो खेती सुरु गरेका उनले खेती सुरु गरेकै वर्ष सात लाख रुपैयाँ नाफा गरेको बताए। 'लामो समय वैदेशिक रोजगारीमा बस्दा गरेको मेहेनत र अहिले नेपालमै कृषिमा गरेको मेहेनतमा आफैँले गरेको पेसाप्रति सन्तुष्टि मिलेको छ', उनले भने, 'बाहिर १० वर्ष बसेँ त्यहाँ दिनको दुई हजार रुपैयाँमात्रै कमाइ हुन्थ्यो, तर अहिले यहाँ कुरिलो राम्रो भयो भने महिनामा ४० देखि ५० हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेको छु।'

कुरिलो उत्पादन हुने समय र गोडमेलका बेलामा स्थानीयवासीलाई दैनिक ज्यालादारीमा काम गराउने गरेको उल्लेख गर्दै उनले अन्य समयमा आफ्नै परिवारले कुरिलोको रेखदेख गर्दै आएको बताए। 

उनका भाइ विश्वराज ख्याजुले ब्रम्हस्थानमै आएर १० वर्ष अघिदेखि व्यावसायिक कुरिलो खेती गर्दै आएका छन्। उनले सुरुमा परीक्षणका रूपमा थोरै जमिनमा कुरिलो खेती गरेको उल्लेख गर्दै उत्पादन र बजार राम्रो भएपछि खेती विस्तार गरेर अहिले तीन बिघा क्षेत्रफलमा कुरिलो खेती गरेको बताए। विश्वराज नवलपुर आउनुअघि भक्तपुरमै कुरिलो खेती गर्दै आएका थिए।

'भक्तपुरमा कुरिलो खेतीका लागि जग्गा प्रशस्त नभएका कारण कुरिलो खेती गर्न नवलपुरसम्म आइपुगेँ', विश्वराजले भने, 'सुरुमा १२ लाख रुपैयाँ लगानी गरेर कुरिलो खेती सुरुवात गरेको थिएँ, अहिले वर्षमा २५ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको छ।'

विश्वराजले कुरिलो खेतीबाट वार्षिकरूपमा १२ देखि १५ लाख रुपैयाँसम्म फाइदा हुने गरेको बताए। कुरिलो खेती एकपटक सुरु गरेपछि पाँचदेखि सात वर्षसम्म उत्पादन दिने उनले सुनाए। 

भित्री मधेस तथा तराईका जिल्लामा चैत, वैशाख, जेठ र असार महिनामा कुरिलोको राम्रो उत्पादन हुने गर्दछ। 'कुरिलोले वर्षमा तीन महिना राम्रो उत्पादन दिन्छ', विश्वराजले भने, 'मङ्सिर, पुस र माघ महिनामा भने कुरिलोले उत्पादन दिन्न।' मङ्सिरदेखि माघबाहेकका अन्य महिनामा भने सामान्यरूपमा कुरिलोले उत्पादन दिने विश्वराजको भनाइ छ। 

'कुरिलोको बजार मूल्य पनि राम्रो छ, कोभिडको समयमा थोककै ५ सय रुपैयाँ प्रतिकिलोसम्म बिक्री भएको थियो', विश्वराजले भने, 'अहिले पनि थोकमै २५० रुपैयाँ प्रतिकिलोसम्म बिक्री हुने गरेको छ।'

उत्पादन राम्रो हुने समयमा दैनिक ५० देखि ८० किलोसम्म उत्पादन हुने गरेको विश्वराज बताउँछन्। यहाँ उत्पादन हुने कुरिलोको मुख्य बजार काठमाडौँ हो। कुरिलो स्वास्थ्यका लागि लाभदायक भएको हुँदा उत्पादन भएकै ठाउँबाट सहजरूपमा बिक्री हुँदै आएको विश्वराजको भनाइ छ। रासस


प्रकाशित : शुक्रबार, असार १७ २०७९०६:३५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend