शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

सौखिन नेपाली : ७ करोडमा किनेको कारको कथा, कसले चढ्छ सम्भवतः नेपालकै महँगो कार? 

बिहीबार , असार १६ २०७९
सौखिन नेपाली : ७ करोडमा किनेको कारको कथा, कसले चढ्छ सम्भवतः नेपालकै महँगो कार? 

काठमाडौं- नेपालमा कारका केही यस्ता सौखिन छन्, जो विश्व बजारका महँगा कार चढ्न लालायित हुन्छन्। ४/५ करोड रुपैयाँका कार खरिद गरी चढ्नेकाे स‌ंख्या त ठूलै बनिसकेकाे छ। तर नेपालमै एउटा कार करिब ७ करोड रुपैयाँमा किनिएको तथ्य फेला परेको छ। 

हुन त नेपाल विगतदेखि नै विलासी कार आयात गर्ने मुलुकमध्येमा पर्छ। भारतमा टोयोटाका कार नआउँदै नेपालमा टोयोटा ब्रान्डका ट्याक्सी कुद्थे। पछिल्लो समय भारतमा आर्थिक विकासले गति लियो र त्यहाँ नवधनाढ्यहरूको संख्या बढ्यो। अहिले कार उपभोक्ताका हिसाबले भारत नेपालभन्दा कैयाैं गुणा अघि छ तर विलासी कारका साैखिन नेपालमा पनि कम छैनन्। सीमित संख्यामा नै किन नहुन्, सौखिनहरूले नेपाली सडकमा कारकाे नौलो चित्र प्रस्तुत गरिरहेकै छन्। 

नेपालमा करिब ७० वर्ष पहिले राणाहरूले आफ्नो सौख पूरा गर्न कार बोकाएर काठमाडौं उपत्यकामा ल्याएका थिए। त्यसयता मुलुकको शासन व्यवस्थामात्र फेरिएन संसारमा प्रविधिले समेत ठूलो फड्को मार्‍यो। त्यतिबेला बोकेर ल्याइएका कारलाई अहिले ‘भिन्टेज’ कारका रुपमा लिइन्छ र संग्रहालयहरूमा राखिन्छ। 

नेपालजस्तो विकासोन्मुख मुलुकमा कार 'स्टाटस सिम्बोल'को रुपमा समेत करार हुने गरेको पाइन्छ। 

समयसँगै कार आवश्यकतामा मात्र सीमित रहेन। शक्तिशाली इन्जिन, अनेकन विशेषता र मोडिफाइड गरिएका कारहरू बजारमा उपलब्ध छन्। विश्वभर कारका कम्पनीहरूले केहीले विलासी र महँगा कारमात्र उत्पादन गर्छन्। त्यस्तै महँगा कार बेलाबखत नेपालसम्म पनि कार सौखिनहरूले ल्याइरहेकै छन्। 

पछिल्लो पटक ६ करोड ९४ लाख रुपैयाँमा नेपालमा ल्याइएको त्यो कार हो- जर्मन कार उत्पादक मर्सिडिजले उत्पादन गरेको ‘जी-वागन’।

उत्पादन वर्ष सन् २०१८/०१९ कायम गरेर ल्याइएको मर्सिडिज जी-वागन २०२१ फेब्रअरी ५ मा भन्सार जाँचपास भएर नेपाल प्रवेश गरेको हो। मर्सिडिज बेन्जको नेपालका लागि ‘तत्कालीन’ आधिकारिक बिक्रेता दीपक गौतम एन्ड कम्पनीले उक्त कार नेपाल ल्याएको हो। हाल दीपक गौतम एन्ड कम्पनीलाई मर्सिडिज बेन्ज जर्मनीले ‘वेटिङ लिस्ट’मा राखेको छ। वेटिङ लिस्टमा रहुञ्जेल दीपक गौतम एन्ड कम्पनीले मर्सिडिजका कार पाउने छैन। यसबारे बिजनेस न्युजले समाचार लेखेको थियो

मर्सिडिजको आधिकारिक बिक्रेता दीपक गौतम एन्ड कम्पनी २ वर्ष ‘वाच लिस्ट’मा  मर्सिडिजको आधिकारिक बिक्रेता दीपक गौतम एन्ड कम्पनी २ वर्ष ‘वाच लिस्ट’मा 

मर्सिडिज जी-वागन दीपक गौतम एन्ड कम्पनीले  २०७७ फागुन ११ गते नेबिको प्राइभेट लिमिटेडलाई बिक्री गरेको थियो। कर बीजकमा उल्लेख भएअनुसार सो कारको बिक्री मूल्य ६ करोड ९४ लाख रुपैयाँ रहेको छ। 

५ हजार ४ सय ६१ सीसी इन्जिन क्षमताको यो कार आयातको स्वीकृतिका लागि यातायात व्यवस्था विभागले २०७५ असोज १ गते पत्र पठाएको थियो। आयातकर्ताले दिएको निवेदनअनुसार विभागले भन्सार कार्यालयलाई उक्त पत्र पठाएको हो।     

bill G wagon.jpg
नेबिको प्रालिको नाममा किनिएको जी-वागनको बिजक।

सरकारले सवारीसाधनलाई विलासी साधनको रुपमा व्याख्या गरेको छ। त्यसैले सवारीसाधनमा अत्याधिक कर लगाएको छ। त्यसमा पनि ३ हजार सीसीभन्दा बढी इन्जिन क्षमताका कारमा अधिकतम भन्सार र शतप्रतिशत अन्तःशुल्क लगाउँदै आएको छ। त्यसैले पनि विश्व बजारमा औषत मूल्यमा पाइने कार नेपालमा निक्कै महँगो पर्ने गरेको छ। 

नेबिको प्रालिका नाममा खरिद गरिएको यो कार राजबहादुर सिंहले चढ्दै आएका छन्। कारका सौखिन पूर्वदरबारिया सिंहका लागि विलासी कार किन्नु त्यति कठीन कुरा भएन। 

सिंहमात्र होइन नेपालमा कयाैं व्यवसायीहरुले मर्सिडिज, ज्यागुअर, ल्यान्ड रोभर, हमर, लेक्ससलगायत ब्रान्डका ४/५ करोड रुपैयाँका कार चढ्दै आइरहेकै छन्। तर नेपालमा किनिएको मध्य यो जी-वागन सबैभन्दा महँगो कार हुनसक्छ। 

जी वागनको विशेषता 

इन्जिन : ५४६१ सीसी/८ सिलिन्डर

ट्रान्समिसन : ७ स्पीड अटोमेटिक

अधिकतम पावर : ५५ सय आरपीएममा ५६३ बीएचपी

अधिकतम टर्क : २ हजार आपीएममा ७६० एनएम

अधिकतम गति : २१० किलोमिटर प्रतिघण्टा

कर्ब वेइट : २५५० किलोग्राम

इन्धन ट्यांक : ९६ लिटर 

शून्यदेखि १०० को गति : ५.४० सेकेन्ड

यो कारको लम्बाइ ४६७३ एमएम, चौडाइ १८५५ एमएम र उचाइ १९३८ एमएम रहेको छ। त्यस्तै यसको ह्वील वेस २८५८ एमएम छ भने टर्निङ रेडियस १३.६ मिटर छ। जी-वागनमा ८ वटा एयरब्याग रहेको छ भने सिट क्षमता ७ हो। यो कारमा अन्य विभिन्न विशेषताले भरिपूर्ण रहेको छ। जर्मन ब्रान्डको विलासी कार भएकाले यसमा अत्याधुनिक सुविधा समावेश छन्। 


प्रकाशित : बिहीबार , असार १६ २०७९१२:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend