शनिबार, वैशाख २० गते २०८२    
शनिबार, वैशाख २० २०८२
images
images

मल अभावले छैन १५ असारमा रोपाइँको रौनक

images
बुधबार, असार १५ २०७९
images
मल अभावले छैन १५ असारमा रोपाइँको रौनक
ललितपुर महानगरपालिकाको खोकनामा रोपाइँ। तस्बिर : चन्द्रकला क्षेत्री/रासस

देशभर नै धानखेतीका लागि चाहिने रासायनिक मलको अभावमा नै किसानले रोपाइँ गर्दैछन्।

images
images

काठमाडौं- रासायनिक मलको अभावका कारण १५ असारको रोपाइँसमेत खल्लो बनिरहेको छ। देशभर मल अभावका कारण कृषकहरू खुसी मनका साथ रोपाइँमा संलग्न हुन पाएका छैनन्। 

images
images
images

किसानले वर्षाका कारण पानीको स्रोतमा साथ पाइरहेका भए पनि लामो समय कुर्दा पनि बजार र कृषि सहकारीमा रासायनिक मल पाउन सकेका छैनन्। पानी परेपछि खेर जान नदिने भन्दै किसानले धेरैतिर रोपाइँ गर्न लागेका हुन्। 

images
images

एक सातायता देशका विभिन्न भागमा दिनहुँजसो पानी परिरहेको छ। 'बजारमा मल पाइएन, पानी परेकाले बीउ रोप्न थालियो', महोत्तरीको भङ्गाहा नगरपालिका-४ रामनगरका इद्रिस राइनले भने। महोत्तरीका सबै भेगमा पानी परेपछि किसान सक्रिय बनेका छन्।

images
images

असार मसान्तमै धानको शाहीरोप (पहिलो बीउरोप) सकिने बलवा नगरपालिकाका मन्सुल राइन बताउँछन्। 'मौसमले साथ दिए समयमै धान रोपाइँ सकिन्छ', उनले भने। मल नपाएकामा भने उनको दुःखेसो छ। महोत्तरीसहितका मध्यपूर्वी तराईमा गत जेठ २२ गतेसम्म हिउँदे धानको बीउ राख्ने, असार तेस्रो साताभित्रै बीउरोप सक्ने र साउन तेस्रो साताभित्र खरुवन (पहिले रोपिएको बीउको रोपो गाँजिएपछि उखेलेर रोप्ने) रोपाइँ सक्ने उपयुक्त समय हो। 

यसपालि बीउ धानको अभावले समयमै ब्याड राख्न नपाएको किसान बताउँछन्। उनीहरुले सहकारी संस्था र बीउ नपाएपछि घरकै बीउ राखेर ब्याड बनाएका छन्। ब्याडको बीउ १५ दिनको भएपछि रोप्न थालिएको हो। लगातार पानी परिरहेकाले खेतका गह्रामा पानी लागेको छ। किसान खेत हिल्याउने, गह्रा सम्याउने, बीउ काढ्ने (बीउ उखेल्ने) र रोप्ने काममा ब्यस्त छन्। 

महोत्तरीमा जस्तै दाङमा पनि रासायनिक मलको अभावका कारण रोपाइँ भनेजस्तो हुन सकिरहेको छैन। 

नेपाल सरकारले अनुदानमा उपलब्ध गराउने युरिया मलको अभाव भएपछि दाङका किसानले मल नछरेरै धान रोपाइँ गर्न थालेका छन्। यसरी खेती गर्दा धान उत्पादन घट्ने हो कि भन्ने चिन्ता किसानलाई परेको छ। दाङको राप्ती गाउँपालिका-३ का प्रविन चौधरीले यसपालि मल नछरी धान रोपेका छन्। सरकारले अनुदानमा उपलब्ध गराउने रासायनिक मल युरिया नपाएपछि मलबिनै धान रोप्नुपरेको उनले बताए। 

'मलका लागि धेरै ठाउँ धाइयो, तर पाइएन। मल नपाए पनि तयार भएको धानको बीउ खेर जान दिन भएन', उनले भने, 'यसपालि मलै नछरी धान रोपियो, उब्जनी त के हुने हो', धानखेती सुरु हुँदा दाङका  किसानले यस वर्ष अनुदानको रासायनिक मल पाउन सकेका छैनन्। 

अधिकांश किसानले मल नपाउँदा रोपाइँ गर्न गाह्रो परेको छ। 'मानो रोपेर मुरी फलाउने समय हो, सप्रियो भने त ठीकै छ। सप्रिएन भने वर्षभरि के खाने भन्ने समस्या पर्ने भयो', लमही-३ का कमल चौधरीले भने, 'पानी पर्न थाल्यो। धानको बीउ रोप्नलाई तयार भइसक्यो, मल छैन। मल नछर्दा उब्जनी हुँदैन।'

महोत्तरी र दाङका किसानले मात्र होइन देशभर नै धानखेतीका लागि चाहिने रासायनिक मलको अभावमा नै किसानले रोपाइँ गर्दैछन्।


प्रकाशित : बुधबार, असार १५ २०७९०५:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend