बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

सुध्रिएन अर्थतन्त्रको खराब लय : मूल्यवृद्धि उकालोमा, विदेशी मुद्राको सञ्चिति ओरालो

बैशाखमै घट्यो ३३ करोड अमेरिकी डलर 

शुक्रबार, जेठ २७ २०७९
सुध्रिएन अर्थतन्त्रको खराब लय : मूल्यवृद्धि उकालोमा, विदेशी मुद्राको सञ्चिति ओरालो

बढ्दो मूल्यवृद्धिसँगै जनजीवन प्रभावित हुनसक्ने भन्दै पछिल्लो समय संसदमै आवाज उठ्न थालेको छ। यद्यपि यसका बारेमा सरकारले ठोस कार्यक्रम अझैसम्म सार्वजनिक गरेको छैन। 

काठमाडौं- चालु आर्थिक वर्षको सुरुदेखि नै खराब हुँदै गएका अर्थतन्त्रका बाह्य सूचकमा अझै सुधार देखिएको छैन। बैशाखसम्म आइपुग्दा विदेशी मुद्राको सञ्चिति घट्ने क्रम रोकिएको छैन। शोधनान्तर घटा फराकिलो हुँदै गएको छ भने मूल्यवृद्धि आकाशिएको छ। 

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बैशाख महिनामा मात्र ३३ करोड अमेरिकी डलर सञ्चिति घटेको छ। बैशाखस्ममको तथ्यांक अनुसार नेपालसँग अहिले ९ अर्ब २८ करोड अमेरिकी डलर सञ्चिति रहेको छ। चैत मसान्तसम्म यस्तो सञ्चिति ९ अर्ब ६१ करोड अमेरिकी डलर थियो। 

१० महिनासम्मको आयातको ट्रेन्ड अनुसार आयात भएमा यो सञ्चितले ६ महिना १५ दिनको वस्तु तथा सेवाको आयात गर्न सकिन्छ। यस्तो आयात धान्नसक्ने क्षमतामा पनि निरन्तर गिरावट आएको छ। 

अत्यावश्यक वस्तुबाहेक पनि उपभोग्य वस्तुको आयात अनियन्त्रित भएपछि विदेशी मुद्राको सञ्चितिमाथि दबाब पर्न थालेपछि सरकारले तीन महिनाका लागि २ सय बढी वस्तुको आायत नै प्रतिबन्ध लगाइसकेको छ। यसअघि राष्ट्र बैंकले लिएको नगद मार्जिनको प्रभाव भने न्यून परेको छ। 

१० महिनासम्मको तथ्यांकअनुसार अर्थतन्त्रको बाह्य क्षेत्रको अवस्था निरन्तर नाजुक रहेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार खराब सूचकले निरन्तरता पाएका छन्। 

राष्ट्र बैंकको तथ्यांकअनुसार रेमिट्यान्स घट्ने क्रम जारी छ। १० महिनाको तथ्यांकअनुसार रेमिट्यान्स अघिल्लो वर्षको तुलनामा नेपाली रूपैयाँमा ०.२ प्रतिशतले बढेपनि अमेरिकी डलरमा भने १.६ प्रतिशतले घटेको छ।   

चालु आर्थिक वर्षको सुरुदेखि नै घटिरहेको रेमिट्यान्स दसैँतिहारजस्ता चाडपर्वमा पनि बढ्न सकेको थिएन। बैशाखसम्म लगातार रेमिट्यान्समा ह्रास देखिएको छ। यद्यपि फागुनदेखि घट्ने दरमा केही ब्रेक लागेको थियो। फागुनको तुलनामा चैतमा रेमिट्यान्स घट्ने क्रम घटेको थियो भने वैशाखसम्म पुग्दा नेपाली रुपैयाँमा वृद्धि देखिएको छ।  

१० महिनाको तथ्यांकअनुसार ५ खर्ब ४७ अर्ब ३६ करोडले चालु खाता घाटामा रहेको छ। 

शोधनान्तर (नेपाल भित्रिने र बाहिरिने रकमको अन्तर) घाटा पनि फराकिलो हुँदै गएको छ। चैतको तुलनामा वैशााखमै यस्तो घाटा २० अर्बले विस्तार भएर  २ खर्ब ८८ अर्ब पुगेको छ। माघमा शोधनान्तर घटाको विस्तारमा केही ब्रेक लागेपनि बैशाखमा आएर फेरि तीव्र बनेको छ। पुसमा ४६ अर्बले घटा बढेको थियो। माघमा आएर त्यस्तो घाटा जम्मा ६ अर्बले विस्तार भएकोमा फागुनमा ११ अर्बले बढेको थियो। चैतमा यस्तो घाटा १० अर्बले विस्तार भएको थियो।  

विश्वभर देखिएको मूल्यवृद्धिको दबाबमा नेपाली अर्थतन्त्र पनि निरन्तर रहेको छ। वैदेशिक मुद्राको सञ्चिति अभावबाट गुज्रिएको नेपाली अर्थतन्त्रमा अहिले आएर बढ्दो मूल्यवृद्धि जोखिममा रुपमा उदाएको छ। पछिल्ला महिनादेखि मूल्यवृद्धि निरन्तर उकालो  लागिरहेको छ।

बैशाखमा वार्षिक विन्दुगत आधारमा मूल्यवृद्धि ७.८७ प्रतिशत पुगेको छ। चैतमा  ७.२८ प्रतिशत थियो। विश्वव्यापी रुपमा मूल्यवृद्धि बढ्दै गएको छ। यसको प्रभाव नेपालमा पनि देखिँदै आएको छ। पछिल्लो समय नेपालमा पनि मूल्यवृद्धिको दबाब देखिनसक्ने भन्दै अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुले सचेत गराउँदै आएका छन्। केही समयअघि मात्र अन्तर्राष्ट्रिय मुद्रा  कोषले मूल्यवृद्धिको उच्च दबाब देखिनसक्ने उल्लेख गरेको थियो। 

बढ्दो मूल्यवृद्धिसँगै जनजीवन प्रभावित हुनसक्ने भन्दै पछिल्लो समय संसदमै आवाज उठ्न थालेको छ। यद्यपि यसका बारेमा सरकारले ठोस कार्यक्रम अझैसम्म सार्वजनिक गरेको छैन। 

nrbbaishak.jpg


प्रकाशित : शुक्रबार, जेठ २७ २०७९१०:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend