शुक्रबार, जेठ ४ गते २०८१    
images
images

नेपालमा श्रम इजाजतबिना कसरी खेल्छन् क्रिकेटर? के हुन्छ पारिश्रमिक 

images
शुक्रबार, असोज ८ २०७८
images
images
नेपालमा श्रम इजाजतबिना कसरी खेल्छन् क्रिकेटर? के हुन्छ पारिश्रमिक 

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबारदेखि सुरु हुने एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी ट्वान्टी क्रिकेट प्रतियोगिताका लागि ६ टिममा गरेर २४ विदेशी खेलाडी आबद्ध भएका छन्। तर कुनै पनि खेलाडीसँग अहिलेसम्म नेपालमा श्रम इजाजत छैन। 

images
images

काठमाडौं- त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबारदेखि सुरु हुने एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी ट्वान्टी क्रिकेट प्रतियोगिताका लागि ६ टिममा गरेर २४ विदेशी खेलाडी आबद्ध भएका छन्। तर कुनै पनि खेलाडीसँग अहिलेसम्म नेपालमा श्रम इजाजत छैन। 

images
images
images

१५ दिन चल्ने प्रतियोगिताका लागि वेस्ट इन्डिज, क्यानडा, जिम्बावे, दक्षिण अफ्रिका, बंगलादेश, मलेसिया, सिंगापुर, पाकिस्तान, अफगानिस्तान र भुटानबाट खेलाडीहरू नेपालमा खेल्न आएका छन्। उनीहरू श्रम इजाजत लिएरभन्दा पर्यटन भिसामा नै नेपालमा बसेर खेल खेल्ने देखिन्छ। 

images

गएको साउनमा नेपाली स्टार क्रिकेटर सन्दीप लामिछाने द हन्ड्रेड क्रिकेट प्रतियोगिता खेल्न इंग्ल्याण्ड गएका थिए। तर खेल खेल्न नपाइ उनी नेपाल फिर्ता आउनुपर्‍यो। भिसा समस्याको कारण उनले प्रतियोगिता खेल्न पाएका थिएनन् भनिए पनि उनीसँग श्रम इजाजत थिएन। 

images
images

सन्दीप जस्तै इंग्ल्याण्ड पुगेर प्रतियोगिता खेल्न नपाइ फर्किनुपरेको थियो पाकिस्तानी क्रिकेटर वाहब रियाज पनि। यसरी फर्कनुपर्नाको कारण थियो खेलाडीसँग श्रम इजाजत नहुनु। सन्दीप र रियाजको जस्ता उदाहरण विश्व क्रिकेटमा धेरै छन् तर नेपाली फ्रेन्चाइज क्रिकेट भने कानूनको दायरामा देखिँदैन। 

images
images

श्रम ऐन २०७४, मा कुनै पनि विदेशी नागरिकले नेपालमा काम गर्नका लागि तोकिएअनुसार श्रम स्वीकृति लिनु पर्ने व्यवस्था गरेको छ। त्यसले पारिश्रमिक लिएर कुनै पेशामा संलग्न हुने विदेशीका लागि श्रम स्वीकृति अनिवार्य हुने उल्लेख गरेको छ। तर विदेशी खेलाडीले नेपालमा खेलेर पाउने पारिश्रमिकसमेत नेपालमा कुनै हरहिसाबबिना विदेशी मुद्रामा लगिरहेका छन्।  

नेपालमा बर्सेनि हुने फ्रेन्चाइज क्रिकेटमा अहिलेसम्म विदेशी खेलाडी श्रम इजाजत लिएर खेल्ने गरेका छैनन्। त्यसमा विदेशी खेलाडीको नेपालमा रोजगारदाता क्लब र आयोजक कसैले ध्यान दिएको देखिँदैन। त्यस्तै अवस्था अहिले ईपीएलमा पनि दोहोरिने देखिँदैछ। शनिबार सुरु हुने प्रतियोगितामा शुक्रबार दिउँसोसम्म विदेशी खेलाडीका लागि श्रम इजाजत लिइएको छैन।

‘अहिलेसम्म क्रिकेट खेल्न आउने खेलाडीले इजाजत लिएको भन्ने यहाँ विभागमा देखिएको छैन। गएको वर्ष विदेशी फुटबल खेलाडीले त श्रम इजाजत लिएर नै खेलेका थिए। सम्बन्धित मन्त्रालय र गृह मन्त्रालयबाट सिफारिस ल्याएर यहाँ स्वीकृति लिनुपर्ने हो, इजाजत बिना खेल्नु त गैरकानूनी भइहाल्यो’ श्रम विभागका प्रवक्ता मणिनाथ गोपीले भने।

ईपीएलमा क्रिकेट जगतका हस्ती पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदीले खेल्ने दुई खेलबाट झण्डै ३० लाख रुपैयाँ लिने उनी आबद्ध काठमाडौं किंग्स इलाभेनका कर्मचारी बताउँछन्। तर त्यसबापत टिमले स्रोतमा करकट्टी (टीडिएस) झण्डै साढे ४ लाख रुपैयाँ काटेर उनलाई पारिश्रमिक दिने भए पनि कर कहाँ जान्छ भन्ने हिसाब देखिँदैन। 

अफ्रिदी जस्तै अरु खेलाडीले पनि ५ देखि २० लाख रुपैयाँसम्म लैजाने भए पनि क्लबले उनीहरूलाई दिने पारिश्रमिकमा पारदर्शिता देखिँदैन। कतिमा आबद्ध भए, कति पारिश्रमिक पाउँछन् र रकम कसरी लैजान्छन् भन्ने कुनै बाटो देखिँदैन। यो नेपालमा हुने सबै क्रिकेट प्रतियोगितामा दोहोरिरहने विषय हो। तर अझै सम्बन्धित निकायको ध्यान भने पुगेको छैन। 

विजेताले ५० लाख रुपैयाँ, उपविजेताले १५ लाख रुपैयाँ पुरस्कार जित्ने प्रतियोगितामा यसअघिका वर्षमा पनि आम्दानी र खर्चको हिसाब पारदर्शी हुने गरेको थिएन। जसले गर्दा ठूला व्यापारिक घराना जोडिएको प्रतियोगिता प्रश्नभन्दा बाहिर रहँदै आएको देखिन्छ। 

अखिल नेपाल फुटबल संघ (एन्फा)ले बारम्बार प्रश्न उठेपछि फुटबल लिगमा आउने विदेशी खेलाडीको श्रम इजाजतमा ध्यान दिन थालेको भए पनि क्रिकेटमा अझै त्यस्तो देखिँदैन। यसबारे नेपाल क्रिकेट संघ (क्यान) सचेत भए पनि त्यो आफूहरुको दायराभन्दा बाहिर रहेको क्यानका सचिव तथा प्रवक्ता अशोकनाथ प्याकुरेल बताउँछन्। 

‘हामीले प्रतियोगिता गर्नका लागि अप्रुभल दिने मात्र हो, बाँकी विषय कानूनअनुसार उहाँहरुले पूरा गर्नुपर्ने हो। जे जति सम्झौता सरकारी तबरमा हुनुपर्ने हो सबै गरेर आउनुस् भनेर हामीले भनेका हौँ’ प्याकुरेलले भने। 

२०७५ सालमा नै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय खेलकुद परिषदलाई पत्र लेखी नेपालमा हुने खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडीले अनिवार्य श्रम स्वीकृति लिनुपर्ने व्यवस्था मिलाउन आग्रह गरेको थियो। 

‘नेपालमा सञ्चालन हुने खेलकुद प्रतियोगिताहरूमा नेपाली क्लबका तर्फबाट खेल खेल्न आउने विदेशी खेलाडीहरूले श्रम ऐन २०७४ तथा श्रम नियमावली २०७५ अनुसार अनिवार्य रुपमा श्रम इजाजत लिएर मात्र खेलकुद प्रतियोगितामा सहभागी गराउने व्यवस्था मिलाउन’ भनिएको थियो। जहाँ श्रम मन्त्रालयले विदेशी खेलाडी सहभागी गराएर क्रिकेट लिग खेलाउने संस्थाहरुको नाम र ठेगाना तथा त्यस्ता खेलमा भाग लिने क्लबहरूको नाम ठेगानासमेत माग गरेको थियो। तर त्यो औपचारिकतामा मात्र सीमित भयो। त्यसैले हरेक वर्ष श्रम इजाजत बिना विदेशी क्रिकेटर नेपालमा खेल खेल्दै फर्किरहेका छन्। 

ईपीएलमा कुन टिममा को को छन् विदेशी खेलाडी?

काठमाडौं किंग्स इलाभेन - शाहिद अफ्रिदी (पाकिस्तान), जनक प्रकाश (सिंगापुर), रायन ब्रल (जिम्बावे), रहमानुल्लाह गुरबाज (अफगानिस्तान)

ललितपुर प्याट्रिओट्स - अजमतुल्लाह ओमाराजी (अफगानिस्तान), ओशाडा फर्नान्डो (श्रीलंका), सहन्दुन वीराकोडे (श्रीलंका), मिक्यो दोर्जी (भुटान)

पोखरा राइनोज - सहान अराचचिगे (श्रीलंका), रिचर्ड लेभी (दक्षिण अफ्रिका), केस्रिक विलियम्स (वेस्टइन्डिज), असेला गुणरत्ने (श्रीलंका) 

भैरहवा ग्ल्याडियटर्स - उपुल थरंगा (श्रीलंका), तमिम इकबाल (बंगलादेश), धाम्मिका प्रसाद (श्रीलंका) र शार्विन मुनिआन्दी (मलेसिया)

चितवन टाइगर्स - मोहम्मद साहजाद मोहम्मदी (अफगानिस्तान), करिम जनत (अफगानिस्तान), सेकुग्गे पसन्ना (श्रीलंका), विरनदीप सिंह (मलेसिया)

विराटनगर वारियर्स - रयान पठान (क्यानडा), चन्दरपोल हेमराज (वेस्ट इन्डिज), सिकन्दर राजा (जिम्बावे), दिलसान मुनवीरा (श्रीलंका) 


प्रकाशित : शुक्रबार, असोज ८ २०७८०९:३०
  • सम्बन्धित विषय:

  • # श्रम इजाजत
  • # क्रिकेट


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend