बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

आयातमा कडाइ गर्न मोटरसाइकलदेखि खाद्यवस्तुसम्म बढ्दैछ भन्सार दर, कुनमा कतिसम्म बढ्न सक्छ?

बिहीबार , जेठ १२ २०७९
आयातमा कडाइ गर्न मोटरसाइकलदेखि खाद्यवस्तुसम्म बढ्दैछ भन्सार दर, कुनमा कतिसम्म बढ्न सक्छ?

काठमाडौं- सरकारले अगामी बजेटमार्फत भन्सारको दरमा केही परिवर्तन गरेर आयातलाई निरुत्साहित गर्ने नीति लिने भएको छ। अत्यावश्यकबाहेक बढाउन मिल्ने वस्तुहरूको भन्सार दर बढाउने गरी अर्थ मन्त्रालयले काम गरेको छ। अर्थले दर्जनभन्दा बढी वस्तुकाे आयातकाे भन्सार दर परिवर्तन गर्न लागेकाे हो।

राजस्व परामर्श समितिले समेत आयात घटाउने र स्वदेशी उत्पादनलाई जोड दिनेगरी करको दर हेरफेर गर्न सुझाव दिएको थियो।

संसदमा मंगलबार सार्वजनिक गरिएको सकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा आउँदो दशकलाई नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि दशकको रुपमा मनाउने घोषणा गरेको छ। सरकारले नेपालमै उत्पादन हुनसक्ने वस्तुहरूको सूची नै बनाएर आयातमा रोक लगाउने तथा करको दर बढाउने नीति लिएको छ।  

कुन-कुनमा बढ्न सक्छ कर? 

विश्व व्यापार संगठनको सदस्य भएको नाताले गाडीलगायत केही वस्तुको आयातमा भन्सार दर बढाउने अवस्था नरहन सक्छ। तर बढाउन मिल्ने सवारीमा तथा अन्य वस्तुहरूमा भन्सार दर बढाउने तयारी छ। इलेक्ट्रिक गाडीमा समेत केही कर लगाउने तयारी सरकारले गरेको छ। खासगरी दुईपाँग्रे सवारीमा करको दर परिवर्तन हुनसक्ने छ।

अर्थ मन्त्रालय स्रोतका अनुसार मोटरसाइकलमा ४० प्रतिशतसम्म भन्सार लगाउन सक्ने अवस्था छ। हाल मोटरसाइकलमा ३० प्रतिशत भन्सार लाग्दै आएको छ। सरकारले १० प्रतिशत थप भन्सार शुल्क मोटरसाइलमा लगाउन सक्ने छ।

अर्थ मन्त्रालयले खाद्यवस्तुमा समेत भन्सार दर बढाउने तयारी गरेको छ। 

जिउँदो जनावरमा समेत भन्सार लगाउने तयारी गरेको छ। यसअघि १० प्रतिशत मात्रै लाग्दै आएकोमा सत प्रतिशतसम्म वृद्धि गर्ने तयारी गरेको छ। नेपालले जिउँदो जनावर ल्याउनका लागि ७० प्रतिशतसम्म भन्सार लिन सक्ने छ। भैँसी, खसी, च्यांग्रा लगायतको आयातलाई निरुत्साहित गर्नैपर्ने भएकोले भन्सार दर वृद्धिको विकल्प नभएको अर्थ मन्त्रालयको निष्कर्ष छ। 

नेपालमै उत्पादन गर्न सकिने डाइपर, स्यानिटरी प्याड, जुत्ता चप्पललगायतका वस्तुमा पनि भारी रुपमा भन्सार वृद्धि गरेर स्वदेशी उत्पादन कम्पनीलाई सरकारले विशेष सहुलियत दिने तयारी गरेको छ।

आयातको सामान महँगो पर्ने र नेपालमा उत्पादन भएका वस्तु सस्तोसँगै गुणस्तरिय रुपमा दिन सकियो भने डलर बाहिरिने क्रम रोकिने अर्थ मन्त्रालयका अधिकारीहरूको बुझाइ छ। ‘स्वदेशमा सस्तोमा राम्रो उत्पादनमा जोड दिनका लागि भन्सार दर नै बढाउने हो,’ अर्थ मन्त्रालयका ती अधिकारीले भने। 

धान, चामल र मकैमा प्रतिकिलो ९ रुपैयाँ भन्सार लाग्दै आएकोमा त्यसमा पनि वृद्धि गर्ने तयारी सरकारले गरेको छ। अर्थ मन्त्रालयले पाम तेल, सूर्यमुखीको तेल र भटमासको तेलमा पनि अधिकतम सीमाभित्र रहेर ३५ प्रतिशतसम्म महसुल लगाउने तयारी गरेको छ। 

सुनचाँदी आयातमा ठूलो रकम बाहिरिएको निष्कर्ष अर्थ मन्त्रालयले निकालेको छ। प्रति १० ग्राम सुनको आयातमा ५ हजार रुपैयाँ र चाँदीमा १०७ रुपैयाँ भन्सार लाग्दै आएको छ। सुन र चाँदीको आयातमा खरिद मूल्यको २० प्रतिशतसम्म भन्सार लगाउने तयारी अर्थ मन्त्रालयले गरेको छ। 


प्रकाशित : बिहीबार , जेठ १२ २०७९००:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend