बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

सरकारको बजेट नीति : घरजग्गामा कडाइ, पुँजी बजारलाई केही राहत

घरजग्गा कारोबारमा पुँजीगत लाभकर बढाउने सेयर कारोबारमा घटाउने

सोमबार, जेठ ९ २०७९
सरकारको बजेट नीति : घरजग्गामा कडाइ, पुँजी बजारलाई केही राहत

काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र अर्थमन्त्री जनार्दन शर्माबीचको विवादले लामो समय यसै रुमल्लियो। खासगरी गभर्नर अधिकारीले गत वर्ष ल्याएको मौद्रित नीति र नीति आउनुभन्दा अगाडि अर्थमन्त्री शर्माले दिएको निर्देशनका कारण दुईबीच विवाद बढ्यो। अन्तत: सरकारले गत महिना गभर्नर अधिकारीमाथि छानविन गर्ने भन्दै निलम्बन गर्ने निर्णय गरेको थियो। 

सरकारले सेयर बजारमा खुकुलो नीति लिने र घरजग्गामा थप कडाइ गर्नेगरी प्रक्रिया अगाडि बढाएको छ। जसको लागि सेयर कारोबारको पुँजीगत लाभकर घटाउने र घरजग्गाको कारोबारमा लाग्दै आएको पुँजीगत लाभकर बढाउने नीति लिएको हो। 

नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीमाथि छानबिन गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएसँगै गभर्नर काममा फर्किए। बैशाख ६ गते दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएपछि मुद्दाको किनारा नलागेसम्म गभर्नर अधिकारीले निर्वाध काम गरिरहेका छन्। योसँगै सेयर बजारमा अब के होला भन्ने चासो बढेको थियो। अर्थमन्त्री शर्मा र गभर्नर अधिकारीको लडाइँको चेपुवामा सेयर बजार परेको थियो।

सरकार अहिले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट बनाउने दौडधुपमा छ। राष्ट्रपति विद्यादेवी भन्डारीले नीति तथा कार्यक्रम मंगलबार संसदमा पेश गर्ने कार्यक्रम छ। आगामी १५ गते सरकारले बजेट सार्वजनिक गर्ने छ। 

बजेटमा पुँजी बजारलाई प्रोत्साहन गर्नेगरी सरकारले केही व्यवस्था गर्न लागेको छ भने घरजग्गा कारोबारलाई पनि थप कडाइ गर्ने संकेत दिएको छ। राष्ट्र बैंकले पनि घरजग्गामार्फत ठूलो रकम बाहिर गएको निष्कर्ष निकालेको छ। जसका कारण बैंकमार्फत हुने घरजग्गा लगानीमा थप कडाइ गर्ने र सेयर बजारको लगानीलाई केही फुकुवा गर्नेगरी काम गरिहरको छ। सेयर बजारमा भएको आम्दानी ठूलो रकम विलासी वस्तुको आयात धेरै खर्च भएपछि सेयर बजारमा थप कडाइ गरिएको थियो।

अहिले सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटका सेयर कारोबारमा लाग्दै आएको पुँजीगत लाभकर घटाउने प्रस्ताव गर्दैछ। धितोपत्र बोर्डले अल्पकालीन लगानीको समय १८० दिन मानेर त्यस्तो लगानीबाट भएको आम्दानीमा ६.५ प्रतिशत मात्र पूँजीगत लाभकर लगाउन प्रस्ताव गरेको छ।

यसअघि अल्पकालीन लगानी १ वर्षलाई मानेर ७ प्रतिशत पूँजीगत लाभकर लाग्दै आएको छ।

यता घरजग्गा कारोबारमा थप कडाइ गर्ने मुडमा सरकार पुगेको छ। पुँजीगत लाभकर बढाउने, बैंकहरूलाई लगानी गर्न प्रतिबन्ध लगाउने तथा आम्दानीको स्रोतमा थप कडाइ गर्ने तयारी गरेको छ। पछिल्लो सयय घरजग्गा कारोबारमा ४० प्रतिशत गिरावट आएको छ। 

अहिले पाँच वर्षभन्दा बढी स्वामित्वमा रहेको घरजग्गा तथा जग्गामा २.५ प्रतिशतका दरले र सोभन्दा कम समय स्वामित्वमा रहेको घरजग्गा तथा जग्गामा ५ प्रतिशतले पुँजीगत लाभकर लाग्दै आएको छ। अहिलेको २.५ लाई ५ प्रतिशत र ५ प्रतिशतलाई ७ देखि १० प्रतिशतसम्म बनाउने तयारी गरेको छ। 

चैत महिनामा उत्साह देखिएको घरजग्गा कारोबार बैशाखमा भने ब्रेक लागेको छ। आर्थिक संकट आउने भन्दै चर्चा चलरिहेका बेला चैत महिनामा पनि कारोबार उच्च भएको थियो। चैत महिनामा ७० हजार ८२९ वटा घरजग्गा कारोबार भएको थियो। नयाँ वर्षसँगै चुनावी माहोलले पनि घरजग्गा कारोबारमा उत्साह आएको छैन। तरलता अभावका कारण बैंकहरूले घरजग्गामा लगानी गर्न छाडेपछि बैशाखमा घरजग्गामा कारोबार ४४ हजार वटामा सीमित भएको छ।

बैशाख महिनामा देशभरका मालपोत कार्यालयबाट करिब ९९ हजार सेवाप्रवाह हुँदा ४४ हजार ८०३ घरजग्गा किनबेच भएको भूमि व्यावस्थापन तथा अभिलेख विभागले जनाएको छ। यता पछिल्लो समय सेयर बजारमा लगानीकर्ताको मनोबल मात्रै गिरेको छैन, कतिपय लगानीकर्ता सेयर बजारबाट बहिरिनसमेत थालेका छन्। ३१९९ को उच्च अंकबाट सेयर मूल्य अहिले ९६४ अंकले घटेर २२३५ बिन्दुमा आइपुगेको छ। 


प्रकाशित : सोमबार, जेठ ९ २०७९०१:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend