बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

रोजगारीको लागि भारततिर

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, वैशाख १६ २०७९
रोजगारीको लागि भारततिर

महेन्द्रनगर- निधारमा रातो टीका, पिठ्युमा झोला र साथमा तीन नाबालक छोरा/छोरीसहित बुधबार बेदकोट नगरपालिका-३ का बलदेन विक गड्डाचौकी नाकामा भेटिए।

विगत आठ वर्षदेखि भारतको राजधानी दिल्लीस्थित कम्पनीमा मजदुरका रुपमा कार्यरत विक यसपटक भने दुई नाबालिका छोरी र एक छोरालाई पनि आफूसितै राख्ने र सके पढाइ गराउने योजनाका साथ दिल्ली हिँडेको सुनाए।

'श्रीमती भारतमै छ, म यहाँ छोराछोरी लिएर उतै मजदुरी गरेर जीविका चलाउने योजनाले दिल्ली जान हिँडेको हुँ' विकले भने, 'आफू जन्मिएको माटो छोडेर अरुकोमा काम गर्न जानु बाध्यता हो।'

स्थानीय तहको निर्वाचनले मुलुक चुनावी माहोलमा तातेका बेला बढ्दो गर्मीलाई बेवास्ता गर्दै बलदेन जस्तै दैनिक सयौँ नागरिक यतिबेला गड्डाचौकी नाकाबाट रोजगारीका लागि भारत पस्दै छन्।

'चुनावी माहोल गाउँघरमा ताते पनि यहाँ पसेर पेट कसरी पाल्नु?', भावुक हुँदै विकले भने, ' निर्वाचनमा घरमा बुढाआमा/बुवा छन् उहाँहरु भोट हाल्नुहुन्छ।' कञ्चनपुरको गड्डाचौकी नाकाबाट सुदूरपश्चिम प्रदेशका मात्रै नभई अन्यत्र क्षेत्रका नागरिक पनि रोजगारीका लागि भारतका विभिन्न ठाउँमा दिनहुँ गइरहेका छन्।

गड्डाचौकीबाट भारतको सिमला गइरहेका रोल्पा कुवाखोलाका ७० वर्षीय सितलाल पुन स्याउबारीमा काम गर्न आफू भारत जान लागेको बताए। 'चुनाव भए पनि आफ्नो अवस्था र नियतिले जीवनभर मजदुरी गरेरै यतिका वर्ष बिताए', पुनले भने, 'मुलुकमा जस्तो सुकै परिर्वतन आएपनि गरिबका दिनमा सुख कहिल्यै आएन।'

उनले आफू चार दशकदेखि भारत रोजगारीका लागि जान थालेको बताए। उनले भने, 'विपन्न समुदायलाई अझै भोट माग्ने बेला मात्रै आश्वासन दिने त होलान नी।' त्यस्तै गत वर्ष कोरोना कहरमा भारतमा रोजगारी छाडेर घर फर्किएका रोल्पाका २६ वर्षीय धमेन्द्र पुनले पनि निर्वाचनबारे थाहा भए पनि बाध्यताले छाडेर जानुपरेको बताए।

'चुनावसम्म बसौँ उता जागिर नै गुम्ने खतरा भयो', उनले भने, 'गाउँमा युवाको भावना बुझ्ने र रोजगारी सिर्जना गर्नसक्ने उम्मेदवार जितुन् हामी प्रदेशीको यही कामना छ।' त्यसैगरी कञ्चनपुरको बेल्डाडीका २८ वर्षीय दीपेन्द्र थापा पनि रोजगारीको शिलशिलामा बुधबार दक्षिण भारतको यात्रामा निस्कदा गड्डाचौकीमै भेटिए।

'दक्षिण भारतको तामिलाडु नौकरी गर्न थालेको छ वर्ष भयो', उनले भने, 'दुई महिनाअघि बिदामा आएको थिए फेरी जान लागे।' उनले घर बिदामा बस्दा स्थानीय पालिकामा जनप्रतिनिधिले गाउँमा देखिने गरी विकास गरेको नपाएको बताए। 'चुनावका बेला मात्रै घरदैलोमा गफ दिने नेताको कामै छैन', थापाले भने, 'द्वन्द्वकालमा डरले बाहिरियौँ अहिले बाध्यताले घर छाड्नुपरेको छ।'

गड्डाचौकी नाकाबाट दक्षिण भारत, दिल्ली, सिमला, मुम्बै, देहरादुनलगायत क्षेत्रमा रोजगारीका लागि जाने बढी सङ्ख्यामा ओहोरदोहोर गरिरहेका हुन्छन्।

पछिल्ला वर्षमा भारतको दिल्लीसम्म महेन्द्रनगरबाट नेपाली बस पनि सञ्चालनमा आएपछि यात्रुलाई सहज भएको छ। त्यसैगरी यहाँको बेदकोट नगरपालिका-६ मुसेपानीका २८ वर्षीय मिलनसिंह घटाल पनि निधारमा सेतो अक्षताले घरबाट भारतका लागि हिँड्दै गर्दा सिमानामा भेटिए।

'देहरादुनमा काम गर्न थालेको १० वर्ष भयो पछिल्ला वर्षमा स्काभेटर चालकका रुपमा कार्यरत छु', घटालले भने, 'हामी विदेशिनेलाई चुनावको रौनकतामा रमाउनुको अर्थ नै छैन।'

इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी नायब निरीक्षक बहादुर सिंह धामीले दैनिक २०० देखि ३०० नेपाली यहाँबाट रोजगारीका लागि भारत गइरहेको जानकारी दिए। रासस 


प्रकाशित : शुक्रबार, वैशाख १६ २०७९१३:२३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend