बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

व्यवसायीले बिलेट आयात रोके, डण्डीको मूल्य बढ्यो  

मंगलबार, असोज ५ २०७८
व्यवसायीले बिलेट आयात रोके, डण्डीको मूल्य बढ्यो  

अर्को प्रमुख नाका भैरहवा भन्सारबाट पनि विधेयक आएपछि बिलेट आयात भएको छैन।

काठमाडौं- प्रतिस्थापन आर्थिक विधेयक आएसँगै स्टिल बिलेटको आयात ठप्प भएको छ। प्रतिस्थापन विधेयकसँगै सरकारले बिलेट आयातको अन्त:शुल्क बढाएको थियो। शुल्क बढाएसँगै व्यापारीले विरोध गरिरहेका छन्। विरोधसँगै व्यवसायीले बिलेटको आयात रोकेका छन्। 

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख विश्वप्रसाद अर्यालकाअनुसार प्रतिस्थापन विधेयक आएसँगै व्यवसायीले बिलेट भन्सार जाँच पास नगरी भारततर्फ रोकेर राखेका छन्। 

विधेयक आउनुअघि भन्सार जाँचपासको प्रक्रियामा रहेको बिलेट मात्र आएको उनले जानकारी दिए।

अर्को प्रमुख नाका भैरहवा भन्सारबाट पनि विधेयक आएपछि बिलेट आयात भएको छैन। भैरहवा भन्सार कार्यालय स्रोतकाअनुसार  प्रतिस्थापन विधेयक संसदमा पेस भएसँगै बिलेट आयात रोकिएको छ। 

बिलेट आयातमा सरकारले प्रति मेट्रिकटन १ हजार ६ सय ५० रुपैयाँबाट बढाएर २ हजार ५ सय रुपैयाँ बनाएको थियो।

सरकारको यो प्रस्तावसँगै व्यवसायीहरू दुई कित्तामा विभाजित भएका छन्। बिलेट ल्याएर नेपालमा डन्डी बनाउनेहरू विरोधमा छन् भने नेपालमै फलाम स्क्रयाप गरी वा स्पञ्ज आइरन ल्याएर बिलेट बनाउने रोलिङ मिलवालाले स्वागत गरेका छन्। 

नेपाल रोलिङ मिल एशोसिएसनका उपाध्यक्ष किरण शाख:ले आफूहरूले अहिले बिलेट आयात नगरेको बताए। उनकाअनुसार बजारमा डन्डीको आपूर्ति न्यून हुँदा मूल्य बढेको हो। 

'अहिले बजारको आपूर्ति प्रणालीमा हामी छैनौँ। त्यसैले प्रतिकलो चार रुपैयाँ मूल्य बढेको छ' शाख:ले बिजनेस न्युजसँग भने। 

प्रतिस्थापन विधेयक आउनुअघि प्रतिकिलो ९८ रुपैयाँ रहेको डण्डी अहिले बढेर  १ सय २ रुपैयाँ पुगेको उनले बताए। 


प्रकाशित : मंगलबार, असोज ५ २०७८१०:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend