शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

सदर चिडियाखानामा बन्यो ‘चिम्पान्जी घर’

शनिबार, वैशाख १० २०७९
सदर चिडियाखानामा बन्यो ‘चिम्पान्जी घर’

काठमाडौं- सदर चिडियाखानामा रहेका एकजोडी चिम्पान्जीका लागि सुविधा सम्पन्न ‘चिम्पान्जी घर’ बनाइएको छ। शुक्रबार सदर चिडियाखाना परिसरमा नवनिर्मित ‘चिम्पान्जीको घर’ वन तथा वातावरण मन्त्रालयका सचिव एवं राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य पेमनारायण कंडेल र राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरदचन्द्र अधिकारीले संयुक्त रुपमा उद्घाटन गरेका हुन्। 

उक्त घर चिम्पान्जीका लागि सुविधा सम्पन्न रहेको तथा चिडियाखाना आउने दर्शकहरुका लागि पनि सजिलै अवलोकन गर्न सकिने गरि निर्माण गरिएको सदर चिडियाखानाले बताएको छ।

चिडियाखानामा रहेका एक जोडी चिम्पान्जीका बच्चा २०७४ साल असोज ३१ गते अवैध रुपमा नेपाल ल्याइएको अवस्थामा केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी) ले उद्धार गरी चिडियाखानामा ल्याइएको थियो। 

चिडियाखाना आइपुग्दा चिम्पान्जीको भाले बच्चा अन्दाजी ३ महिनाको र तौल ३.५ केजी रहेको तथा पोथी बच्चा अन्दाजी ६ महिनाको र तौल ४ केजी रहेकोमा हाल भालेको तौल २१ केजी र पोथीको तौल २४ केजी रहेको छ।

चिम्पान्जीलाई मौसमअनुसारको फलफूल, सागसब्जी, दूध, पाउरोटी, मह खुवाउने गरिएको छ। चिम्पान्जीको जोडीलाई प्रभुशम्शेर जबरा तथा राजी राणा ट्रष्टकी राजी राणाले वार्षिक दश लाख रुपैयाँ उपलब्ध गराएर अभिभावकत्व  ग्रहण गरेको जानकारी दिइएको छ।

चिडियाखानाले वन्यजन्तु अभिभावकत्व अभियान सुरु गरेको र यस अभियान अन्तर्गत चिडियाखानाका वन्यजन्तुहरुको आवश्यक आहारा, स्याहार, स्वास्थ्योपचार खर्चलगायतका सम्पूर्ण अभिभावकत्व जो कोहीले लिन सक्ने सदर चिडियाखानाले स्पष्ट पारेको छ।


प्रकाशित : शनिबार, वैशाख १० २०७९०८:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend