बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

व्यापार विस्तार र लगानीमा आक्रामक निफ्रा, विद्युत व्यापारसहित सेजमा समेत विस्तार हुँदै

सोमबार, चैत २१ २०७८
व्यापार विस्तार र लगानीमा आक्रामक निफ्रा, विद्युत व्यापारसहित सेजमा समेत विस्तार हुँदै

काठमाडाैं- नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) लगानी विस्तारमा आक्रामक हुने भएको छ। विद्युत बिक्रीको लाइसेन्स लिने अन्तिम तयारीमा रहेको निफ्राले विशेष आर्थिक क्षेत्र (सेज)मा समेत लगानी गर्ने भएको छ।

आइतबार प्राधिकरण र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडबीच सिमरा सेज पूर्वाधार निर्माण गर्नका लागि लगानीको सहकार्य गर्न समझदारी भएको छ। 

बारास्थित सिमरा सेजका दुईवटा ब्लकको पूर्वाधार निर्माणमै बहुराष्ट्रिय कम्पनीहरूलाई भित्र्याउने गरी काम अगाडि बढेको हो। सिमरा सेजको ‘बी’ र ‘सी’ ब्लकको २ सय बिघा जग्गामा पूर्वाधार बनाउन त्यस्ता कम्पनीलाई प्रवेश गराउने तयारी विशेष आर्थिक क्षेत्र प्राधिकरणले गरेको हो। 

ब्लकको पूर्वाधार निर्माणदेखि नै यस्ता कम्पनीहरूलाई ल्याउन पहल गरिने समझदारी भएको उनले बताए। ‘सार्वजनिक–निजी साझेदारी (पीपीपी) अवधारणाअनुरूप सेजको पूर्वाधार निर्माणमै निजी क्षेत्र र बहुराष्ट्रिय कम्पनीलाई ल्याउनेछौँ,’  प्राधिकरणका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले भने, ‘यी साझेदारलाई ल्याउनका लागि निफ्राले काम गर्नेछ।’

निफ्राले पनि सेजमा लगानी गर्नेछ। नयाँ लगानीकर्ताहरू ल्याउन र सेजको उद्देश्यअनुसार निर्यातको वातावरण तयार गर्न पनि विदेशी कम्पनीहरू ल्याउन आवश्यक भएको उनले बताए। यसअघि सेजमा निर्माण हुने पूर्वाधारमा सरकारमात्रै लगानी गर्दै आएको छ। जसअनुसार सिमरा सेजको ‘ए’ ब्लकमा खानेपानी, बिजुली, प्रशासनिक भवन, ढल निकासा, बाटोलगायतका पूर्वाधार निर्माणमा सरकारले ३ अर्ब रुपैयाँ लगानी गरिसकेको छ। 

‘यस्तै पूर्वाधार निर्माणका लागि विदेशी कम्पनीहरू ल्याउने छौँ, निफ्रासँग सिमरामा मात्रै लगानी गर्ने समझदारी भएको छ,’ भट्टले भने, ‘अन्य सेजका लागि विस्तारै कुरा हुनेछ।’ सेजमा उद्योग खोल्न प्रोत्साहन गर्ने उद्देश्यले प्राधिकरणले भाडादरदेखि निर्यात प्रतिशतमा लचक नीति ल्याएको छ। व्यापार प्रवर्द्धन तथा निर्यात नै मुख्य उद्देश्य राखेर खोलिएका सेजमा विदेशी लगानीकर्ता तथा कम्पनीहरू आउँदा वस्तुहरूको मार्केटिङदेखि बजारसम्मका लागि सहज हुने देखिन्छ।

विद्युत व्यापारमा निफ्रा 

विद्युत व्यापारमा नेपाल विद्युत प्राधिकरणको एकाधिकार तोड्ने तरखरमा ऊर्जा मन्त्रालय पुगेको छ। दुई हजार मेगावाट बिजुली खपतमा नेपाल विद्युत प्राधिकरण असफल भएको निष्कर्ष निकाल्दै विद्युत व्यापारमा निजी क्षेत्रलाई समेत जोड्ने गरी ऊर्जा मन्त्रालयले अध्ययन सम्पन्न गरेको छ। जसका लागि पहिलो चरणमा निजी क्षेत्रलाई अन्तरदेश व्यापारमा खुला गर्नेगरी अध्ययन प्रतिवेदन तयार पारेर प्रस्ताव तयार पारिएको छ।

ऊर्जा मन्त्रालयमा गत बैशाखमा विद्युत निर्यात गर्ने उद्देश्यले छुट्टै विद्युत व्यापार कम्पनी खोल्नका लागि नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले ऊर्जा मन्त्रालयमा प्रस्ताव गरिसकेको छ। ऊर्जा मन्त्रालयले निफ्रा र नेपेक्स दुवै कम्पनीलाई लाइसेन्स दिनेगरी नयाँ प्रक्रिया सुरु गरेको हो।  

विद्युत प्राधिकरणले विद्युत खरिद सम्झौता (पीपीए) गर्न नसकेको भन्दै निफ्रा अघि सरेको थियो। निफ्रा, विद्युत प्राधिकरण, सरकार, बैंक तथा वित्तीय संस्था र भारत तथा बंगलादेशका कम्पनी समेतको लगानी हुनेगरी नयाँ कम्पनी खोल्न सकिने प्रस्ताव निफ्राको छ। लाइसेन्स पाएमा निफ्राले पीपीए हुन नसकेका कम्पनीसँग पीपीए गर्ने, ती आयोजनाको विद्युत उत्पादन र प्रसारण लाइन निर्माणसमेतलाई सहयोग पुर्‍याउने र भारत तथा बंगलादेशमा बजारीकरण गर्नेगरी प्रस्ताव गरेको छ। 

२१ अर्ब ६० करोड चुक्ता पुँजी भएको कम्पनीको बजार पुँजीकरण आइतबारसम्म ७० अर्ब १३ करोड रुपैयाँमा आइपुगेको छ। 


प्रकाशित : सोमबार, चैत २१ २०७८०५:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend