काठमाडौं- दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलको पछिल्लो सेयर खरिदबिक्रीको विवादका बारेमा परेको रिट अदालतले खारेज गरेको छ।
अमरेशकुमार सिंहले हालेको उक्त रिट खारेज गर्दै जारी गरेको आदेशमा अदालतले निर्देशनात्मक आदेश पनि दिएको छ।
निवेदनम खरिदबिक्री सम्झौलाई नै बदर गर्न माग गरिएको थियो। नियम कानूनअनुसार अनुमति नलिइ सेयर खरिद बिक्री गरेकोलगायतका आरोप लगाउँदै परेको उक्त रिटमाथि सुनुवाई गर्दै अदालते दूरसञ्चारको नियामक नेपाल दूरसञ्चार प्राधिकरणलाई नै काम गर्न निर्देशन दिएको छ।
मलेसियाको कम्पनी अजियाटाले रेनोल्ड होल्डिङ (जसको एनसेलमा ८० प्रतिशत सेयर छ) को स्वामित्व बेलायतमै रहेको कम्पनी स्पेक्ट्रो लाइटलाई बिक्री गरेको थियो।
विदेशमै रहेको कम्पनी जसको स्वामित्व नेपाली कम्पनीमा भएकाले त्यसरी खरिदबिक्री गर्दा नेपाल दूरसञ्चार प्राधिकरणको अनुमति लिनुपर्ने नियामावलीमा प्रष्ट व्यवस्था रहेको र सोहीअनुसार प्राधिकरणले अहिलेसम्म निर्णय होल्डमा राखेको पनि आदेशमा उल्लेख गरिएको छ।
दूरसञ्चार प्राधिकरणले कानूनअनुसार विशिष्टिकृत नियामकीय भूमिका निभाउनुपर्ने र त्यसका लागि अहिले काम पनि भइरहेकाले खरिदबिक्री सम्झौता नै खारेज गर्ने आदेश दिन नमिल्ने आदेशमा उल्लेख गरिएको छ।
यो आदेशसँगै यो विषयमा अदालतले प्राधिकरणलाई नियमअनुसार जरिवाना लिने हो वा अरु केही निर्णय गर्ने हो त्यही गर्न निर्देशन दिएको छ।