बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

धनुषा राजस्व कार्यालयद्वारा गत आवमा ६ अर्ब ६ करोड संकलन

बुधबार, साउन ६ २०८३
धनुषा राजस्व कार्यालयद्वारा गत आवमा ६ अर्ब ६ करोड संकलन

जनकपुरधाम- बजारमा देखिएको आर्थिक तरलताका बाबजुत आन्तरिक राजस्व कार्यालय जनकपुरधाम, धनुषाले आर्थिक वर्ष २०८२/८३ मा ६ अर्ब ६ करोड ७८ लाख ८८ हजार रूपैयाँ राजस्व संकलन गरेको छ।

आन्तरिक राजस्व कार्यालय जनकपुरधामका प्रमुख आनन्दकुमार गुप्ताका अनुसार विभिन्न अभियानमार्फत पुरानो बक्यौता असुली र बजार अनुगमनलाई तीव्रता दिएपछि लक्ष्यको ८८ दशमलव ४९ प्रतिशत राजस्व संकलन भएको हो।

आव २०८२/८३ मा सो कार्यालयले अन्तशुल्कतर्फ २ अर्ब ५५ करोड सात लाख ३० हजार, आयकरतर्फ २ अर्ब ६ करोड ८२ लाख एक हजार र मूल्यअभिवृद्धि करतर्फ एक अर्ब २८ करोड ४० लाख ९९ हजार रूपैयाँ राजस्व संकलन गरेको छ।

यस्तै ब्याजकरतर्फ ७ करोड ७८ लाख तीन हजार, बहालकरतर्फ पाँच करोड २५ लाख ३७ हजार, स्वास्थ्य जोखिम करतर्फ चार लाख ३१ हजार र अन्यतर्फ तीन करोड ४० लाख ८७ हजार रूपैयाँ राजस्व संकलन भएको प्रमुख गुप्ताले बताए।

कार्यालयले अघिल्लो आव २०८१/८२ मा ४ अर्ब ८८ करोड रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकामा चार अर्ब ९० करोड रूपैयाँ संकलन गरेको थियो। प्रमुख गुप्ताका अनुसार आव २०८२/८३ मा ६ अर्ब ८५ करोड ७२ लाख ५५ हजार रूपैयाँ राजस्व संकलन गर्ने वार्षिक लक्ष्य थियो। सो कार्यालयमा व्यक्तिगत र व्यावसायिक लगायत गरी एक लाख ७३ हजार नौ सय ६८ करदाता रहेका छन्।

करदाताको घरमा पुग्ने, टेलिफोन र एसएमएसमार्फत ताकेता गर्ने, कर छुटसम्बन्धी सुविधाबारे प्रचारप्रसार गर्नेलगायतका अभियान सञ्चालन गरी करिब १० करोड रूपैयाँभन्दा बढी पुरानो बक्यौता असुली भएको प्रमुख गुप्ताले बताए। रासस


प्रकाशित : बुधबार, साउन ६ २०८३१६:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend