बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

संसद् बैठक नभएपछि जनताकै घरदैलोमा पुगेर पीरमर्का सुन्दै सांसद

संसद् बैठक नभएपछि जनताकै घरदैलोमा पुगेर पीरमर्का सुन्दै सांसद

गाउँ पुगेका सांसदहरूलाई जनताले विपद् जोखिम व्यवस्थापनका अतिरिक्त रासायनिक मलको आपूर्ति, बाँदर नियन्त्रणलगायत विषयलाई मुख्य समस्याका रूपमा सुनाएका छन्।

काठमाडौं- मनसुनको हिसाबले नेपाल अहिले मध्यबर्खामा छ। संघीय संसद्का दुवै सदनका बैठकहरू १५ दिनका स्थगित भएका छन्। बैठक नभएपछि अधिकांश सांसदहरू अहिले जनतासँग पुगेर उनीहरूको समस्या सुन्ने र समाधान गर्ने काममा व्यस्त रहेका छन्।

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कार्यतालिका नै बनाएर आफ्ना सांसदललाई मतादातासँग भेटघाटका लागि गाउँगाउँमा पठाएको छ। वर्षाको समय भएकाले किसान भने मुख्य धानलगायत बाली लगाउन व्यस्त छन्। गाउँ पुगेका सांसदहरूलाई जनताले विपद् जोखिम व्यवस्थापनका अतिरिक्त रासायनिक मलको आपूर्ति, बाँदर नियन्त्रणलगायत विषयलाई मुख्य समस्याका रूपमा सुनाएका छन्।

पर्याप्त सिँचाइका अभावमा किसानले अझै पनि धान रोप्न नसकिरहेको अवस्था छ भने कयौँ स्थानमा बाढी पहिरो र डुबानको जोखिमसमेत व्यहोर्नुपरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०८३ बैशाखदेखि हालसम्म तीन हजार ५५७ विपद्का घटनामा १७० जनाको मृत्यु र एक हजार २३ जना घाइते भएका छन्। विपद्‌बाट चार हजार ६९५ घरपरिवार प्रभावित भएका छन्।

यस सन्दर्भमा राससले प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने विभिन्न दलका प्रमुख सचेतक एवं सचेतकसँग गरेको संवाद उनीहरूले संसद् स्थगित भएको समयको सदुपयोग गर्दै आफूहरू विभिन्न माध्यमबाट जनताका बीचमा पुगिरहेको बताएका छन्।

७० प्रतिशत सांसद् गृहजिल्लामा हुनुहुन्छ - प्रकाशचन्द्र परियार, सचेतक/रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टीका ७० प्रतिशत सांसद अहिले गृहजिल्ला, निर्वाचन क्षेत्र र गाउँगाउँमा पुग्नुभएको छ। निर्वाचित भएपछि जिल्ला जान नपाउनु भएका विधायक जनतासँग भेट्ने औपचारिक कार्यक्रम नै सार्वजनिक गरेर काम गरिरहनुभएको छ। जनतासँग सम्पर्क, समन्वय, सहकार्यसहित अन्तरक्रियामा हुनुहुन्छ।

बर्सातको मौसम छ, निर्वाचन क्षेत्रमा जनताका आवाज सुन्ने, सुख दुःखमा सहभागी हुने, सरकारले गरेका निर्णय र गतिविधि प्रचारप्रसार गर्ने कार्यमा व्यस्त हुनुहुन्छ। जिल्ला र निर्वाचन क्षेत्रमा विकासका पूर्वाधार निर्माणका लागि विनियोजित बजेट कार्यान्वयन गर्न प्रदेश, स्थानीय तह, समुदाय र अगुवासँग रायसुझाव लिने र सहकार्य गर्ने कार्यसमेत भइरहेको छ। उहाँहरू यही साउन १४ गते फर्केपछि त्यहाँ देखेको र जनताले भोगेको विषय संसद्‌मा राख्नुहुनेछ।

‘सांसद जनताको सुखदुःखको सारथी बन्न जिल्ला पुग्नुभएको छ’ - वासना थापा, प्रमुख सचेतक/नेपाली कांग्रेस

अहिले बर्सातको समय छ। मनसुनी प्रभावका कारण प्रकृतिक प्रकोपका घटना हुनसक्छ। यो बेला जनप्रतिनिधिको सर्वाेच्च थलो संसद्‌मा जनताका सुख-दुःखका कुरा उठाएर सरकारको ध्यानाकर्षण गराउन पर्थ्यो। त्यसकारण हामीले अहिले संसद् स्थगित नगरौँ, निरन्तर चलाऔँ भनेका थियौँ।

संसद् स्थगित भएपछि काठमाडौंमा बस्नुभन्दा जिल्ला नै जाऔँ भनेर केही सांसद् त्यसतर्फ जानुभएको छ। बालीनाली लगाउनुपर्ने भएकाले मेलापातमा व्यस्त नागरिकसँग भेटघाट गरी दुःखसुखको सारथी बनिरहनुभएको छ। बर्सातको समयमा संसद् स्थगित गर्नुहुन्थेन। यो बेला हामी जनप्रतिनिधि विपद् व्यवस्थापनको पूर्वतयारीमा बस्नपर्थ्यो।

‘विभिन्न माध्यमबाट जनतासँग जोडिरहेका छौँ’ - रोशनी मेचे, सचेतक/राष्ट्रियसभा/नेकपा (एमाले)

सदनमा सांसदको भूमिका प्रभावकारी बनाउन सांसदलाई प्रशिक्षण गर्ने काम भइरहेको छ। यही साउन ३ गते पार्टी केन्द्रीय कार्यालयमा एमालेले संसद्लाई प्रभावकारी बनाउन सांसदलाई प्रशिक्षणसमेत दिएको थियो। नयाँ सांसदलाई संसदीय अभ्यासका बारेमा तालिम दिनुपर्ने भएकाले कतिपय एमाले सांसद निर्वाचन क्षेत्र जान पाएको अवस्था छैन। टेलिफोनमार्फत जनतासँग जोडिने काम निरन्तर भइरहेको छ।

एमालेको संगठन तल्लो तहसम्म क्रियाशील रहेको हुनाले सांगठनिक रूपमा जनताका बीचमा जाने काम भइरहेको छ। आवश्यकताअनुसार सांसदहरू जिल्ला जाने र काठमाडौं फर्कनेक्रम चलिरहेको छ। संसद् नचेलेको भए पनि ‘मिनी’ संसद्का रूपमा समितिका बैठक निरन्तर भइरहेका छन्। हामी त्यसमै क्रियाशील भएर जनताको भावना उठाइरहेका छौँ।

‘ड्युटी’मा  खटिएको सिपाहीको जस्तै अवस्थामा छु - युवराज दुलाल, सचेतक, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)

राजनीतिककर्मी भएको नाताले पार्टीको आन्तरिक, सांगठनिक काम र जनतासँगको भेटघाट चलिरहेको छ। जिल्ला जाने र काठमाडौं आउने क्रम चलिरहेको छ। किसानसँगको भेटघाटमा रासायनिक मल र बाँदरबाट बालीनालीमा क्षति पुर्‍याएको समस्या मुख्य रूपमा आएको छ। गुठी र सुकुमबासी समस्याको विषय पनि उहाँहरूले निरन्तर उठाउनुभएको छ। 

सिन्धुपाल्चोक बाढी र प्राकृतिक विपद् प्रभावित भएकाले ‘ड्युटी’मा खटिएको सिपाहीझैँ कहाँ, कतिखेर के पर्छ अनि दौडिनुपर्छ भनी ‘स्टयाण्डवाइ’ मानसिकतामै बसेको छु। विपद् हुँदा तुरुन्तै जिल्ला पुग्छु। काठमाडौंमा हुने छलफल र बैठकमा भाग लिन तुरुन्तै यहाँ फर्कने गरेको छु।

जनप्रतिनिधि हुनुका नाताले मतदातासँगको भेटघाट र अन्तरक्रियालाई बाक्लो र नियमित बनाउनुपर्छ। खेतीपातीको मौसम भएकाले जनता त्यसैमा व्यस्त हुनुहुन्छ, अहिले उहाँहरूसँग भेटघाट र अन्तरक्रिया गर्ने बेला होइन। बिजनेस नभएपछि दुई साताका लागि सहमतिमा बैठक स्थगित भएको हो।

‘बाँदरको चौकीदारी गरिरहेका किसानसँगै छु’ - आरेन राई/प्रमुख सचेतक/श्रम संस्कृति पार्टी

अहिले जिल्लामै छु। अझै केही समय बस्छु। यो बेला गाउँ घुम्ने होइन, जनताका समस्या संसद्‌मा राख्नुपर्थ्यो। विपद्‌मा परेका जनतालाई यथाशक्य छिटो राहत दिलाउन संसद्‌मै कुरा उठाउनुपर्ने थियो। त्यसैले पनि सदन बन्द गर्नुहुन्थेन।

म अहिले खोटाङको सबैभन्दा विकट खोप्लाङ पुगेको छु। यहाँका बालबालिकादेखि बूढापाकासम्मका व्यक्ति बिहान रिमरिम उज्यालोमै बारीमा पुग्ने अनि साँझ बाँदर बास बसेपछि घरफर्कनुपर्ने दैनिक छ। हरेक घरका किसान बाँदरको चौकीदार बन्नुपरेको छ। संसदले बाँदर व्यवस्थापनसम्बन्धी कानून छिटो बनाउनुपर्‍यो, जनतालाई दुःख दिन भएन। यस्ता जनचासोका विषयलाई सञ्चारमाध्यमले पनि प्राथमिकताका साथ उठाइ दिनुपर्छ। रासस


प्रकाशित : बुधबार, साउन ६ २०८३१३:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend