बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

लक्जरी होटल ब्रान्ड 'शिन्ता मणि' नेपाल भित्रियो, जोमसोमको मोक्ष होटलमा व्यवस्थापन सम्हाल्ने 

आइतबार, चैत २० २०७८
लक्जरी होटल ब्रान्ड 'शिन्ता मणि' नेपाल भित्रियो, जोमसोमको मोक्ष होटलमा व्यवस्थापन सम्हाल्ने 

'साँच्चिकै सुन्दर देश नेपालमा पनि यो सफल हुने छ। शेर्पा समूहसँगको हाम्रो साझेदारी पक्कै पनि फलदायी हुने छ। हामीलाई विश्वास गरेकोमा म यति समूहका सबैलाई धन्यबाद दिन चाहन्छु' उनले भने। 

काठमाडौं- कम्बोडियामा आधारित शिन्ता मणि होटल ब्रान्ड नेपालमा भित्रिएको छ। जंगलका बीचमा महँगो होटल सञ्चालनमा ख्याति कमाएको शिन्ता मणि नेपालमा भित्रिएको हो। 

शिन्ता मणि मुस्ताङमा रहेको मोक्ष होटलको व्यवस्थापन सम्हाल्नेगरि नेपालमा भित्रिएको हो। यति समूह अन्तर्गतको शेर्पा हस्पिटालिटीले सञ्चालन गरिरहेको मोक्ष मुस्ताङको व्यवस्थापन सम्हाल्नेगरि शिन्ता मणि नेपाल आएको छ। 

काठमाडौंमा एक कार्यक्रम आयोजना गरि शिन्ता मणि र शेर्पा हस्पिटालिटी बीचमा भएको सम्झौताका बारेमा जानकारी गराइएको छ। यति समूहको मोक्ष होटल शिन्ता मणिको व्यवस्थापनले सेप्टेम्बर २०२२ देखि पूर्ण रुपले सम्हाल्ने छ। 

खर्चालु पर्यटकका लागि विलासी सेवा दिनका लागि ख्याति कमाएको ब्रान्ड नेपाल भित्रिँदा यसले नेपालको ब्रान्डिङ राम्रो हुने यति समूहका अध्यक्ष सोनाम शेर्पाले बताए। 

'नेपालमा अहिलेसम्म दिनमा ३ सयभन्दा बढी खर्च गर्ने पर्यटक आएकै छैनन्। कम्तिमा त्यो तहको सेवा सुविधा दिनका लागि कहलिएका ब्रान्ड हाम्रो देशमा छैनन् पनि। अब शिन्ता मणिको नेपाल प्रवेशले त्यो पहिचान स्थापित गर्ने छ' शेर्पाले भने। 

शिन्ता मणिले व्यवस्थापन लिएपछि मोक्षको एम्बियन्सदेखि मेन्युसम्म उसैले डिजाइन गर्नेछ। विश्व बजारमा आफ्नै रेटिङ तथा ख्याति भएकाले पर्यटक उसको ब्रान्डले नै ल्याउने शेर्पाको विश्वास छ। 

मोक्ष यति समूहको होटल हो। मुस्ताङको जोमसोममा रहेको यो होटल आफैमा उत्कृष्ट गन्तव्यमा रहेको छ। गन्तव्य राम्रो भए पनि यसले अपेक्षित व्यापार गर्न सकेको थिएन। 

यति समूहले देशका विभिन्न स्थानमा होटल तथा रिसोर्ट सञ्चालन गरिरहेको छ। विदेशी चेनसँग यसले पहिले पनि साझेदारी गरिसकेको छ। राजधानीको गोकर्ण फरेष्ट रिसोर्ट लिजमा लिएर चलाइरहेको यतिले चितवनमा कसरा रिसोर्ट र लुम्बिनीमा होके रिसोर्ट छ। सगरमाथा क्षेत्रमा यति माउन्टेनको सञ्जालअन्तर्गत ६ वटा होटल सञ्चालित छन्। अर्को चल्तीको पदयात्रा मार्ग अन्नपूर्ण क्षेत्रमा पनि केर एन्ड ड्वेनी नेपालका होटल सञ्जाल छन्। यो क्षेत्रमा यति समूहका पाँचवटा होटल छन्।

जोमसोमको मोक्ष होटलमा लक्जरी होटल ब्रान्ड शिन्ता मणि भित्रिएपछि यसको मूल्य पनि महँगो हुनेछ। शिन्ता मणिले हालसम्म एकदिनको प्याकेज बिक्री गर्दैन्। न्यूनतम तीन रातको प्याकेज मात्र बिक्री गर्दै आएको छ। दिनको न्यूनतम तीन सय डलरको प्याकेज बिक्री गर्ने शिन्ता मणिले प्रति बुकिङ न्यूनतम १५ सय डलर लिने छ। 

शिन्ता मणि होटल ब्रान्डको सुरुवात थाइल्यान्डमा बस्ने अमेरिकन आर्किटेक बिन्सेलीले गरेका हुन्। कम्बोडियाको जंगल पर्यटनमा आफ्नो प्रयोग सफल भएको र नेपालमा पनि सफल हुने उनको विश्वास छ। 

'साँच्चिकै सुन्दर देश नेपालमा पनि यो सफल हुने छ। शेर्पा समूहसँगको हाम्रो साझेदारी पक्कै पनि फलदायी हुने छ। हामीलाई विश्वास गरेकोमा म यति समूहका सबैलाई धन्यबाद दिन चाहन्छु' उनले भने। 

नेपालको भौगोलिक सुन्दरतामा कुनै प्रश्न गर्ने ठाउँ नभएको र आफूहरूको सेवा संसारका बिचदेखि जंगलसम्मका गन्तव्यमा सफल भएकाले नेपालमा पनि सफल हुने शिन्ता मणिका अपरेशन डाइरेक्टर डेभिड स्टेनले बताए। 

'नेपालको गुणस्तरीय पर्यटनमा हाम्रो साझेदारी फड्को मार्ने छ। कति पर्यटक आए भन्ने कुरा मुख्य होइन कस्ता आए भन्ने कुरा मुख्य हो। जुन हाम्रो साझेदारबाट धेरै खर्च गर्ने पर्यटक आउने छन्। यसबाट नेपालले लाभ लिने छ' उनले भने। 


प्रकाशित : आइतबार, चैत २० २०७८१४:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend