काठमाडौं- अविरल वर्षा, पहिरो र बाढीको जोखिमका कारण देशका विभिन्न भागका प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्।
नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी खण्डमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गर्दै अर्को सूचना नभएसम्म बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
मकवानपुरको कान्तिलोकपथमा पनि वर्षाका कारण अर्को सूचना जारी नभएसम्म बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
इलाम नगरपालिका-९ राजदुवालीस्थित मेची राजमार्गमा वर्षाका कारण सडक हिलाम्मे भएपछि उक्त सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-४ जिरोकिलो र गाउँपालिका-२ कोदारीस्थित अरनिको राजमार्गमा पहिरोले सडक पूर्णरूपमा अवरुद्ध भएको छ।
बागलुङको जैमिनी नगरपालिका-८ बेलबगरस्थित कालीगण्डकी करिडोर पनि पहिरोले पूर्ण रूपमा अवरुद्ध भएको छ।
पाँचथरको मिक्लाजुङ गाउँपालिका-४ कोप्चेस्थित राँके-रवि-भेडेटार सडक पनि अवरुद्ध भएको छ। गोरखाको धार्चे गाउँपालिका-७ लिदिङस्थित आरुघाट-माछिखोला सडक पनि अवरुद्ध भएको छ।
यसैगरी, ललितपुरको बागमती गाउँपालिका-३ पाङ्दुरस्थित कान्तिलोकपथमा आज बिहान सुक्खा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।