बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई ६० लाख रुपैयाँ जरिवाना

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, साउन ६ २०८३
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई ६० लाख रुपैयाँ जरिवाना

वातावरण विभागको प्राविधिकसहितको अनुगमन टोलीले बारा र पर्साका २१ उद्योगको स्थलगत निरीक्षण गरी फोहर पानीको नमूना संकलन गरेको थियो।

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत उद्योग विभागले सिर्सिया नदीमा फोहर फ्याक्ने ६ वटा उद्योग प्रत्येकलाई १० लाख रुपैयाँको दरले ६० लाख रुपैयाँ जरिवाना गरेको छ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको अगुवाईमा सिर्सिया नदी दुर्गन्धित गर्ने उद्योग तथा कलकारखानालाई प्रदूषण नियन्त्रण गर्नका एक महिनाको समय सीमा दिइएको थियो।

एक महिनाको अवधिमा उद्योग कलकारखानाबाट निस्कने फोहरमैला तथा प्रदूषण नियन्त्रण नगरेको भन्दै उद्योग विभागले १२ वटा उद्योगलाई कारबाही प्रक्रिया अघि बढाएको छ।

उद्योग विभागका महानिर्देशक जितेन्द्र बस्नेतले ६ वटा उद्योग १० लाखका दरले जरिवाना गरेको बताए। उनका अनुसार जगदम्बा स्टिल इन्डस्ट्रिज लिमिटेड, बारा, हुलास स्टिल इन्डस्ट्रिज प्रालि बारा, शिवशक्ति घिउ उद्योग प्रालि, बारा, सुशील वनस्पति प्रालि, पर्सा, अन्नपूर्ण भेजिटेबल प्रोडक्ट्स, बारा र अशोक स्टिल इन्डष्ट्रिज प्रालि बारालाई १० लाखको दरले जरिवाना गरिएको छ।

उद्योग विभागले मधेश प्रदेश सरकार मातहत पर्ने छ वटा उद्योग तथा कलकारखानालाई आवश्यक कारबाही गर्नका लागि सिफारिस गरेको जनाएको छ।

यसअघि वातावरण विभागको प्राविधिकसहितको अनुगमन टोलीले बारा र पर्साका २१ उद्योगको स्थलगत निरीक्षण गरी फोहर पानीको नमूना संकलन गरेको थियो।

नमूना संकलन गरेकामध्ये १२ वटा उद्योग कलकारखानाबाट निस्कने पानी प्रदूषित भेटिएपछि कारबाही प्रक्रिया अघि बढाइएको हो। सिर्सिया नदी वीरगञ्ज–पथलैया औद्योगिक करिडोरका उद्योगबाट वर्षौँदेखि रसायनयुक्त फोहर पानी मिसिँदै आएपछि अत्यधिक प्रदूषित हुँदै आइरहेको छ। रासस


प्रकाशित : बुधबार, साउन ६ २०८३०९:४५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend