काठमाडौं- नेपाली कांग्रेसले जननायक बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा जलवायु परिवर्तनप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले काठमाडौं उपत्यकामा ‘ग्रिन रन’ आयोजना गरेको छ।
बुधबार बिहान आयोजित पाँच किलोमिटर दौडमा कांग्रेसका सभापति गगनकुमार थापालगायत नेता–कार्यकर्ता सहभागी भएका थिए। कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले ‘जलवायु जनचेतना जगाउन जुटौँ’ भन्ने नारासहित कार्यक्रम आयोजना गरेको हो।
प्रतिष्ठानका प्रमुख तथा कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले ‘ग्रिन रन’ जलवायु परिवर्तनका चुनौतीबारे नागरिकमा सचेतना फैलाउने अभियानको हिस्सा भएको बताए।
दौडपछि जावलाखेल चोकस्थित फाल्चामा ‘जलवायु परिवर्तनको चुनौती : निराकरण कसरी’ विषयमा विज्ञसहित समूहगत छलफल आयोजना गरिएको छ। सोही अवसरमा जलवायु परिवर्तनका चुनौती र सम्भावनालाई चित्रमार्फत प्रस्तुत गर्ने उद्देश्यले चर्चित चित्रकारहरूले प्रत्यक्ष पेन्टिङ पनि गर्ने कार्यक्रम रहेको छ।
कांग्रेसले साउन ७ गते ‘नवीन परिस्थिति : नवीन संकल्प, नवीन अभियान’ शीर्षकमा राष्ट्रिय सभागृहमा विचार गोष्ठी आयोजना गर्ने जनाएको छ। सोही दिन पार्टीको नवीन अभियानसमेत घोषणा गरिनेछ।
यस्तै, ‘ग्रिन रन’मा सहभागीको संख्याका आधारमा पार्टीले आफ्नो कोषबाट प्रतिव्यक्ति निश्चित रकम जम्मा गरी ‘मानवीय सहयोग कोष’ स्थापना गर्ने जनाएको छ। उक्त कोषबाट हालै विस्थापित भएका सुकुम्बासी परिवारका वृद्धवृद्धा र बालबालिकाको हितमा सहयोग गरिने कांग्रेसले जनाएको छ।