काठमाडौं- निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरले गत आर्थिक वर्ष २०८२/८३ को पहिलो ९ महिनामा १० अर्ब ३१ करोड ६० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। इन्जिन मर्मतसम्भार खर्चमा भएको उल्लेख्य वृद्धि, पश्चिम एसियाको भू-राजनीतिक तनावका कारण हवाई इन्धन (एटीएफ) को मूल्य बढ्नु तथा यात्रु संख्यामा आएको गिरावटले नाफामा दबाब परेको छ।
इक्रा नेपालले बुद्ध एयरको बैंक ऋणको साख मूल्यांकन (रेटिङ) लाई ‘विकासोन्मुख प्रभावसहितको निगरानी सूची’ (वाच विथ डेभलपिङ इम्प्लिकेसन्स) मा राखेको जनाएको छ।
इक्रा नेपालले सार्वजनिक प्रतिवेदनअनुसार बुद्ध एयरको दीर्घकालीन ऋणको साख मूल्यांकन एलए तथा अल्पकालीन ऋणको साख मूल्यांकल ए-१ लाई विकासोन्मुख प्रभावसहितको निगरानी सूचीमा राखिएको हो। प्रतिवेदनमा पश्चिम एसियामा जारी द्वन्द्वका कारण हवाई इन्धनको मूल्य अस्वाभाविक रूपमा बढेकाले त्यसले यात्रु आवागमन, सञ्चालन नाफा र ऋण भुक्तानी क्षमतामा असर पार्न सक्ने उल्लेख गरिएको छ।
प्रतिवेदनअनुसार हवाई इन्धनको मूल्य बढेपछि अप्रिल २०२६ मा बुद्ध एयरको यात्रु संख्या अघिल्लो वर्षको सोही महिनाको तुलनामा करिब ३३ प्रतिशतले घटेको थियो।
इन्धनको मूल्य क्रमशः घट्दै गए कम्पनीको सुधारको गति अन्य वायुसेवा कम्पनीहरूको तुलनामा तीव्र रहने इक्रा नेपालले उल्लेख गरेको छ।
सञ्चालन नाफा उल्लेख्य घट्यो
कम्पनीको सञ्चालन नाफा मार्जिन चालु आर्थिक वर्षको पहिलो साढे नौ महिनामा ८.२ प्रतिशतमा झरेको छ। अघिल्लो आर्थिक वर्षमा यो १९.४ प्रतिशत र त्यसअघिको वर्ष १० प्रतिशत थियो। इन्जिनको ओभरहोल तथा मर्मतसम्भार खर्च अपेक्षाभन्दा धेरै बढ्नुका साथै इन्धन महँगिनुले सञ्चालन लागत बढेकाले नाफा घटेको प्रतिवेदनमा उल्लेख छ।
उपलब्ध सिट-किलोमिटरबाट हुने आम्दानी महामारीअघिकै स्तरमा पुगेर करिब २१.२ रुपैयाँ पुगे पनि कर्मचारी खर्च, मर्मत-सम्भार र सञ्चालन लागत बढेकाले प्रति उपलब्ध सिट-किलोमिटर लागत पनि बढेको छ।
यसका कारण आम्दानी र लागतबीचको अन्तर २.८ रुपैयाँमा सीमित भएको छ, जुन पछिल्लो पाँच/छ वर्षयताकै न्यून हो। सन् २०१९ मा यो अन्तर ८.९ रुपैयाँ थियो।
यात्रु घटे पनि बजारमा नेतृत्व कायम
चालु आर्थिक वर्षको पहिलो साढे नौ महिनामा बुद्ध एयरले बोकेका यात्रु अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब १० प्रतिशतले घटेका छन्। यात्रु दर पनि सन् २०२२ मा करिब ९२ प्रतिशत रहेकामा पछिल्ला वर्षमा ८३ देखि ८५ प्रतिशतको बीचमा सीमित भएको प्रतिवेदनले देखाएको छ।
यात्रु संख्या घटे पनि कम्पनीले नेपालको आन्तरिक हवाई बजारमा नेतृत्व कायम राखेको छ। हाल कम्पनीको बजार हिस्सा करिब ५७ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्ष करिब ६० प्रतिशत थियो। कम्पनीसँग अहिले एक एटीआर-४२ र १४ एटीआर-७२ गरी १५ वटा विमान सञ्चालनमा छन्। यसअघि तीनवटा विमान बिक्री तथा सेवामुक्त गरिएपछि विमान संख्या १५ मा सीमित भएको हो।
इक्रा नेपालका अनुसार बुद्ध एयरको वित्तीय अवस्था अझै सन्तोषजनक छ। कम्पनीले आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ मा खुद नाफाको करिब १ प्रतिशत मात्रै लाभांश वितरण गरी बाँकी रकम सञ्चित गरेको छ। अतिरिक्त नगद प्रवाहबाट दीर्घकालीन ऋणको नियमित भुक्तानी गर्नुका साथै अल्पकालीन ऋण पनि घटाएको छ। भद्रपुर विमान दुर्घटनापछि प्राप्त बीमा दाबी रकमबाट केही अल्पकालीन ऋण समयअघि नै चुक्ता गरिएको प्रतिवेदनमा उल्लेख छ।
अप्रिल २०२६ सम्म कम्पनीको सञ्चालन आम्दानीको तुलनामा खुद कार्यशील पुँजीको अनुपात करिब ९ प्रतिशत रहेको छ भने ७१ प्रतिशत अप्रयुक्त ऋण उपयोग क्षमता रहेको इक्रा नेपालले जनाएको छ। यसले कम्पनीको तरलता अवस्था सहज रहेको देखाउँछ।
हाल बुद्ध एयरसँग ३ अर्ब १२ करोड ६ लाख रुपैयाँ तथा १३.७५ मिलियन अमेरिकी डलर बराबर बैंक ऋण रहेको छ। यसमध्ये १ अर्ब १३ करोड ६ लाख रुपैयाँ र १३.७५ मिलियन अमेरिकी डलर दीर्घकालीन ऋण हो भने ८७ करोड रुपैयाँ अल्पकालीन ऋण, ८७ करोड रुपैयाँ ओभरड्राफ्ट सुविधा र २५ करोड रुपैयाँ बैंक ग्यारेन्टी उपयोग गरिएको छ। कुल बैंक ऋणमध्ये करिब ६३ प्रतिशत अमेरिकी डलरमा रहेकाले विनिमय दरको उतारचढाव कम्पनीका लागि प्रमुख वित्तीय जोखिमका रूपमा रहेको इक्रा नेपालको निष्कर्ष छ।
बुद्ध एयरको वार्षिक सञ्चालन आम्दानी पछिल्ला वर्षहरूमा निरन्तर बढ्दै आएको छ। आर्थिक वर्ष २०७७/७८ मा ३ अर्ब ३३ करोड ६० लाख रुपैयाँ रहेको सञ्चालन आम्दानी आर्थिक वर्ष २०७८/७९ मा १० अर्ब ९ करोड ८० लाख रुपैयाँ पुगेको थियो।
त्यसपछि आर्थिक वर्ष २०७९/८० मा १२ अर्ब १६ करोड ९० लाख रुपैयाँ, आर्थिक वर्ष २०८०/८१ मा १३ अर्ब २२ करोड ६० लाख रुपैयाँ र आर्थिक वर्ष २०८१/८२ मा १३ अर्ब ६७ करोड ३० लाख रुपैयाँ पुगेको थियो। चालु आर्थिक वर्षको पहिलो नौ महिनामै कम्पनीले १० अर्ब ३१ करोड ६० लाख रुपैयाँ सञ्चालन आम्दानी गरिसकेको छ।
सन् १९९६ मा स्थापना भएको बुद्ध एयर नेपालकै सबैभन्दा ठूलो तथा सबैभन्दा लामो समयदेखि सञ्चालनमा रहेको निजी वायुसेवा कम्पनी हो। कम्पनीले देशका प्रमुख आन्तरिक गन्तव्यमा सेवा दिँदै आएको छ भने काठमाडौंबाट भारतको बनारस र कोलकातामा पनि नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्दै आएको छ।