मंगलबार, साउन ५ गते २०८३    
मंगलबार, साउन ५ २०८३

अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने

मंगलबार, साउन ५ २०८३
अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने

सरकारले अनलाइनमार्फत नै उजुरी गर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ। ‘उजुरी डोफे गभर्मेन्ट नेपाल’ नामक अनलाइन पोर्टलमार्फत अब घरमै बसेर ठगीसम्बन्धी उजुरी दिन सकिने भएको छ।

काठमाडौं- के तपाईँ वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिनुभएको छ? आफू ठगिएको थाहा पाएपछि उजुरीको कागजात बोकी वैदेशिक रोजगार विभागमा धाउनुभएको छ वा धाउनुबारे सोच्नुभएको छ? यदि त्यसो हो भने अब उजुरीका लागि कार्यालय धाउनुपर्ने अवस्था छैन। 

सरकारले अनलाइनमार्फत नै उजुरी गर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ। ‘उजुरी डोफे गभर्मेन्ट नेपाल’ नामक अनलाइन पोर्टलमार्फत अब घरमै बसेर ठगीसम्बन्धी उजुरी दिन सकिने भएको छ। अनलाइनमार्फत उजुरी दिनेमात्रै होइन, त्यो उजुरीको कारबाही प्रक्रिया कहाँ पुगेको छ भन्ने समेतको विस्तृत जानकारी अनलाइनबाटै थाहा पाइने भएको छ।

युवा, श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारीमा ठगिएका श्रमिकहरुको समस्या समाधान गर्न अनलाइन उजुरी प्रणाली सञ्चालनमा ल्याएको हो।

यही साउन १ गतेदेखि सुरु भएको उक्त पोर्टलबारे जानकारी लिन श्रममन्त्री रामजी यादव आज वैदेशिक रोजगार विभाग पुगेका थिए। वैदेशिक रोजगारको प्रलोभनमा परी ठगिएका श्रमिकहरूको समस्यालाई सहजरूपमा सम्बोधन गर्न अनलाइन पोर्टलको सेवा सुरु गरिएको मन्त्री यादवले बताए। सरकारले वैदेशिक रोजगारीका नाममा ठग्दै आएका जो सुकैलाई कानूनी दायरामा ल्याउने बताउँदै पीडितलाई यथाशीघ्र न्याय दिन अनलाइन पोर्टल आवश्यक रहेको सुनाए।

मन्त्री यादव विभागमै पुगी पीडित र सेवाग्राहीहरुसँग भेटेर ठगी हुनबाट जोगीन र ठगी गरेका व्यक्ति वा घटनाको विवरण अनलाइन उजुरी गर्नसमेत आग्रह गरेका थिए। उनले भने, ‘अब ठगी मुद्दा दर्ता गर्न काठमाडौं धाइरहनु पर्दैन। घरमै बसेर अनलाइन मुद्दा दर्ता गर्ने र मुद्दाको कारबाही प्रक्रिया समेत बुझ्न सहज हुनेछ।' 

मन्त्रालयले सञ्चालनमा ल्याएको अनलाइन उजुरी पोर्टलमा पीडितले आफ्नो मोबाइल वा कम्प्युटरबाट पोर्टलमा गइ आवश्यक प्रमाणहरू संकलन गरेर उजुरी पेस गर्नुपर्छ। पीडितले अनलाइनमार्फत उजुरी पेस गरेपछि विभागको टोलीले त्यसको अध्ययन गरी दर्ता प्रक्रिया अगाडि बढाउनुका साथै उजुरी दर्ता हुनासाथ सम्बन्धित व्यक्तिको मोबाइलमा म्यासेज र इमेलमार्फत जानकारी जाने व्यवस्था समेत मिलाइएको छ। 

उक्त सन्देशमा उपलब्ध गराइएको ‘ट्रयाकिङ कोड’ प्रयोग गरी पीडितले जुनसुकै समयमा आफ्नो उजुरीको अवस्था र प्रगतिबारे जानकारी लिन सक्ने व्यवस्था उक्त प्रणालीमा छ। 

विभागका अनुसार साउन १ गतेदेखि पूर्ण रुपमा लागु भएको उक्त प्रणालीमार्फत चार दिनमा १४ वटा उजुरी दर्ता भएको छ। अनलाइन उजुरी दर्ता गर्ने प्रणालीको प्रयोगमा बानी विस्तार गर्न कर्मचारीले समेत अभ्यास गरिरहेका छन्।

विभागको मुद्दा दर्ता शाखाका एक कर्मचारीले भने, 'उजुरीको फाइल बोकेर आउने सेवाग्राहीको पनि यही कार्यालयबाटै अनलाइन उजुरी दर्ता गर्दै आएका छौँ।' अधिकांश सेवाग्राहीलाई अनलाइन उजुरी प्रणाली छ भन्ने जानकारी नहुँदा कार्यालयमै फाइल बोकेर आउने गरेको उनले सुनाए। 

विभागमा आज वैदेशिक रोजगारको प्रलोभनमा परेर ठगिएका वसन्त थापाले अनलाइन उजुरी दिन पाउने व्यवस्था जानकारी नभएको बताए। उनले विभागमा आएपछि मात्रै त्यो व्यवस्थाबारे थाहा पाएको सुनाए। यद्यपि आम सर्वसाधारणलाई अनलाइन उजुरी व्यवस्थाबारे पर्याप्त सूचना प्रवाह गर्नुपर्ने उनको भनाइ थियो। 

कार्यालय परिसरमा भेटिएका नवलपरासीका रोहित कुर्मीले पनि आफूले ६ महिनाअघि ठगीसम्बन्धी उजुरी दिएको उल्लेख गर्दै अनलाइन प्रणालीले सहज हुने अपेक्षा गरेको बताए। 'मैले ६ महिनाअघि कार्यालयमा ठगीसम्बन्धी उजुरी दिएको थिए, काठमाडौं आउनुपर्ने र होटलमा बस्दा ठूलो खर्च हुने गरेको थियो, अनलाइन प्रणाली आएपछि सहज हुने अपेक्षा छ', उनले भने।

भैरहवाकी बबिता भट्टराईले पनि आफू वैदेशिक रोजगारीसम्बन्धी ठगीमा परेको बताइन्। आफूलाई रोजगारीका लागि क्रोएसिया पठाउँछु भन्दै साथीको दिदीले १५ लाख रूपैयाँ ठगेको उनले बताइन्।

सोही सम्बन्धमा आफू उजुरीका लागि विभाग आएको बताउँदै अनलाइनबाट मुद्दा प्रक्रिया सुरु हुने जानकारीले राहत महसुस गरेको बताइन्। उनले भनिन्, 'डिजिटल प्रणालीले अब मेरो मुद्दाको कारबाही प्रक्रिया कहाँसम्म पुगेको छ? र के भइरहेको छ भन्ने जानकारी घरमै बसेर लिन पाउने भएकी छु।' रासस


प्रकाशित : मंगलबार, साउन ५ २०८३१६:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend