कर्णाली- पूर्वाधार विकासमन्त्री सुनिल लम्साल कर्णाली प्रदेशको सडक पूर्वाधारको स्थलगत अनुगमन गरेर नेपालगञ्ज फर्किएका छन्।
जुम्लाबाट मुगु हुँदै सोमबार हुम्ला पुगेका मन्त्री लम्सालले कर्णालीका सडकलगायतका पूर्वाधारहरूको विकास अवस्था, निर्माण कार्यको प्रगति अध्ययन र सबै सरोकारवालाहरूको माग तथा सुझाव संकलन गरेर आज नेपालगञ्ज फर्किएका हुन्।
काठमाडौंबाट गत शुक्रबार सुर्खेत अवतरण भएलगत्तै वीरेन्द्रनगरमा सडक डिभिजन कार्यालय सुर्खेतका प्रमुख, निर्माण व्यवसायी, जनप्रतिनिधि, राजनीतिकर्मी, जनतासहित सबै सरोकारवालाहरूसँग संक्षिप्त छलफल गरेर कर्णाली राजमार्गको दैलेख हुँदै कालीकोटको सदरमुकाम मान्म पुगेका थिए।
शनिबार कालीकोट खण्डको सडक, भौतिक संरचनाको अनुगमन गरी प्राविधिकरूपमा देखिएका त्रुटि सुधार गर्न र बजेटको समुचित प्रयोग हुनेगरी खर्च गर्न निर्देशन दिए। यात्राका क्रममा कर्णाली राजमार्गलगायत सहायक मार्गहरू, कृषि सडक, पुल, खानेपानी, सिँचाइ आयोजना तथा विद्यालयका संरचनाहरूको मन्त्री लम्सालले अनुगमन गरेका छन्।
मुगु जिल्लाको सडक अवलोकन गर्दै हुम्ला पुगेका उनले स्थलगत अनुगमन तथा निरीक्षणका क्रममा सम्बन्धित जिल्लाका स्थानीय तहका जनप्रतिनिधि, सडक कार्यालयका प्रमुख, राजनीतिक दलका प्रतिनिधि, निर्माण व्यवसायी र नागरिकसँग प्रत्यक्ष छलफल, अन्तरक्रिया गरी उनीहरूका समस्या, आवश्यकता, माग र सुझाव संकलन गरी फर्किएको सांसद रमेश सापकोटाले जानकारी दिए।
उनले भने, 'कर्णालीजस्तो भौगोलिक विकट र जोखिमपूर्ण बाटोमा आफै सवारी चलाएर स्थलगत अनुगमन गर्ने र जनतासँग प्रत्यक्ष भेटेर उनीहरूका समस्या सुन्ने लम्साल इतिहासकै पहिलो मन्त्री हुनुहुन्छ। अनुगमनका क्रममा उहाँ आफैले कर्णालीको विकासका लागि सरकारले के-के गरिदेओस् भन्ने चाहनुहुन्छ भनेर जनतासँग जिज्ञासा राख्नुभयो र आएका सुझावलाई नोट गरेर लिनुभएको छ।'
उनका अनुसार कर्णालीवासीले दुई लेनको कर्णाली राजमार्गको स्तरोन्नति, सबै जिल्लामा सडक सञ्जाल जोड्नुपर्ने, पुल, खानेपानी, सञ्चार, सिँचाइ, विद्यालय निर्माण गर्नुपर्नेलगायतका आवश्यकता समेटिएका माग राखेका थिए। यतिबेला मन्त्री आफैले कर्णाली सडकलगायतका पूर्वाधारको अवस्था र नागरिकहरूको समस्या तथा आवश्यकता नजिकबाट अध्ययन गरेर गएकाले अब विकासले गति लिने अपेक्षा यहाँका जनताले गरेको सांसद सापकोटाले बताए। रासस