काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले तयारी पोशाक उद्योग संघका पदाधिकारीसँगको भेटमा देश बनाउन मानिस नभइ मान्छले उत्पादन गरेका सामग्री निर्यात गर्नुपर्ने बताएका छन्।
प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै तयारी पोशाक उद्योग संघका अध्यक्ष पशुपतिदेव पाण्डेले भने, 'प्रधानमन्त्री शाहले तयारी पोशाकको निर्यातमा विशेष जोड दिनुभएको छ।'
प्रधानमन्त्री शाहले सरकारले तयारी पोशाक उद्योगका समस्या समाधान, निर्यात विस्तार र लगानी प्रवर्द्धनलाई प्राथमिकतामा राखेको बताएको पाण्डेले जानकारी दिए।
प्रधानमन्त्री शाहले तयारी पोशाक उद्योग बंगलादेश, भियतनाम, चीन, भारत र श्रीलंकाभन्दा नेपालमा पछाडि पर्नुको कारणबारे पनि जिज्ञासा राखेका थिए।
अध्यक्ष पाण्डेका अनुसार तयारी पोशाक उद्योगलाई अर्थतन्त्रको प्रमुख आधार बनाउने विषयमा बुँदागत छलफल भएको छ।
पोशाक उद्योगसँग सम्बन्धित मन्त्रालयमा रोकिएका काम तत्काल समाधान गर्न पनि प्रधानमन्त्रीले निर्देशन दिएका छन्।
अमेरिका लगायतका मुलुकसँग स्वतन्त्र व्यापार सम्झौता (एफटीए), वैदेशिक प्रत्यक्ष लगानी (एफडीआई) भित्र्याउने, बहुराष्ट्रिय कम्पनी आकर्षित गर्ने तथा दुई दशकदेखि बन्द रहेका हेटौडा कपडा उद्योगजस्ता रुग्ण उद्योग पुनः सञ्चालन गर्ने विषयमा पनि छलफल भएको अध्यक्ष पाण्डेले बताए।
अध्यक्ष पाण्डेका अनुसार ग्रीन गार्मेन्ट भिलेज स्थापना गरी काठमाडौं उपत्यकाभर छरिएका गार्मेन्ट उद्योगलाई एकीकृत गर्ने तथा त्यसलाई औद्योगिक पर्यटनसँग जोड्ने अवधारणामा पनि प्रधानमन्त्रीले चासो देखाएका थिए।
प्रधानमन्त्री शाहले उद्योगीहरूलाई स्पष्ट कार्ययोजना ल्याउन आग्रह गर्दै प्लान्ट–बेस्ड र एनिमल–बेस्ड फाइबर उत्पादन, कपास खेती, फाइबरदेखि फ्याब्रिक र फ्याब्रिकदेखि फेसन तथा निर्यातको विस्तारमा जोड दिए।
उनले अमेरिकामा ‘फ्लेमेबिलिटी’ परीक्षणका कारण रोकिएका नेपाली तयारी पोशाकको निर्यात सहजीकरणका लागि परराष्ट्र मन्त्रालयलाई आवश्यक पहल गर्न पनि निर्देशन दिए।
सरकारले आवश्यक नीतिगत सुधार, एफटीए विस्तार र अन्तर्राष्ट्रिय बजारसँग प्रभावकारी समन्वय हुन सकेमा निर्यातलाई १० देखि २० गुणासम्म विस्तार गर्न सकिने अध्यक्ष पाण्डेले बताए।
अध्यक्ष पाण्डेले गिरिजाप्रसाद कोइरालापछि पहिलो पटक नेपालको प्रधानमन्त्रीले तयारी पोशाक उद्योगीहरुसँग छलफल गरेको बताएृ। यसले आफूहरुलाई उत्शाहित बनाएको उनको भनाइ छ।
प्रधानमन्त्री शाहले उद्योगीसँग समस्या मात्रै नभएर समाधान पनि लिएर आउन आग्रह गरेका छन्।
तयारी पोशाक उद्योग संघका महासचिव भीमकुमार गिरीका अनुसार समस्यासँगै समाधान पनि लिएर आए तत्काल समस्या समाधान गर्न सकिने प्रधामन्त्रीको भनाइ छ।
साथै सहरमा मात्रै केन्द्रित नभइ ग्रामीण क्षेत्रमा पनि उद्योग सञ्चालन गर्न आग्रह गरेको उनले बताए।
साथै तयारी पोशाक उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थलगायत समाग्रीहरु नेपालमै उत्पादन गर्न सक्षम हुनुपर्ने प्रधानमन्त्री शाहको भनाइ छ।
संघका अनुसार नेपालबाट वार्षिक करिब १० अर्ब रुपैयाँबराबरको तयारी पोशाक निर्यात भइरहेको छ।
छलफलमा संघका अध्यक्ष पशुपतिदेव पाण्डे, प्रथम उपाध्यक्ष वसन्तराज अधिकारी, महासचिव भीमकुमार गिरी, प्रमुख कार्यकारी अधिकृत सुयश खनाल र प्राविधिक सल्लाहकार प्रकाशकुमार झा सहभागी थिए।