मंगलबार, साउन ५ गते २०८३    
मंगलबार, साउन ५ २०८३

खाद्य तथा कृषि संगठनको सहकार्यमा खाद्य प्रणाली सुदृढीकरण परियोजना सुरु

सोमबार, साउन ४ २०८३
खाद्य तथा कृषि संगठनको सहकार्यमा खाद्य प्रणाली सुदृढीकरण परियोजना सुरु

परियोजना कार्यान्वयनबाट महिला, युवा र सीमान्तकृत समुदायको सहभागिता बढाउने, स्थानीय संस्थाको क्षमता अभिवृद्धि गर्ने तथा जलवायु-अनुकूलन क्षमता सुदृढ पार्नेछ।

काठमाडौं- नेपाल सरकार, संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) र चीन सरकारको साझेदारीमा कृषि खाद्य प्रणाली सुदृढीकरण परियोजना औपचारिक रूपमा शुभारम्भ भएको छ।

कृषि, वन तथा पर्यावरण मन्त्रालका अनुसार, २४ महिने उक्त परियोजनाले पहाडी तथा हिमाली क्षेत्रमा जलवायु-उत्थानशील कृषि, ग्रामीण जीविकोपार्जन सुधार र खाद्य तथा पोषण सुरक्षा सुदृढ बनाउने लक्ष्य राखेको छ।

चीनको ग्लोबल डेभलपमेन्ट एण्ड साउथ-साउथ कोपरेशन फण्डको आर्थिक सहयोग रहेको परियोजनाले स्थानीय संस्थाको क्षमता अभिवृद्धि, जलवायु-स्मार्ट, कृषि पोषण सुधार, डिजिटल नवप्रवर्तन तथा समावेशी ग्रामीण विकासमा सहयोग पुर्‍याउने विश्वास लिइएको छ। 

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले खाद्य सुरक्षा, ग्रामीण समृद्धि र दिगो विकासका राष्ट्रिय लक्ष्य हासिल गर्न परियोजनाले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन्।

चिनियाँ राजदूत माओमिङ झाङले कृषि आधुनिकीकरण र दिगो विकास लक्ष्य प्राप्तिमा चीनको निरन्तर साथ रहेको बताए। एअफएओकी निर्देशक हुआ याङले यस परियोजना एसिया तथा अन्य क्षेत्रका लागि दक्षिण-दक्षिण सहयोगको सफल नमुना बन्ने विश्वास व्यक्त गरिन्।

काभ्रेपलाञ्चोक र इलाममा कार्यान्वयन हुने उक्त परियोजनाअन्तर्गत डिजिटल कृषि विस्तार सेवामार्फत किसानलाई प्राविधिक परामर्श, मौसम सूचना, वित्तीय सेवा, कृषि बीमा र बजार जानकारी उपलब्ध गराइनेछ।

परियोजना कार्यान्वयनबाट महिला, युवा र सीमान्तकृत समुदायको सहभागिता बढाउने, स्थानीय संस्थाको क्षमता अभिवृद्धि गर्ने तथा जलवायु-अनुकूलन क्षमता सुदृढ पार्नेछ।

सहकार्यले अन्तर्राष्ट्रिय प्राविधिक ज्ञान र अनुभवको आदानप्रदान गर्दै स्थानीय नेतृत्वमा कृषि तथा खाद्य प्रणालीको दीर्घकालीन रूपान्तरणमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।

कार्यक्रममा एफएओका प्रतिनिधि केन शिमिजुलगायत उच्च अधिकारी, संघीय, प्रदेश तथा स्थानीय तहका प्रतिनिधि, किसान संगठन र सरोकारवालाको सहभागिता थियो। रासस


प्रकाशित : सोमबार, साउन ४ २०८३१७:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend