काठमाडौं- कामना सेवा विकास बैंक लिमिटेडले नेपालपे कार्डको नेपालपे कार्ड इस्युइङ र अक्वायरिङको थालनी गरेको छ। बैंकले आफ्नो डिजिटल बैंकिङको सेवा विस्तार गर्ने उद्देश्यअनुरुप यो सेवा सुरु गरेको जनाएको छ।
अब बैंकले आफ्ना ग्राहकहरुलाई नेपालपे कार्ड प्रदान गर्नुका साथै आफ्ना देश भरी रहेका एटीएमहरुबाट नेपालपे कार्डका साथै डिस्कभर नेटवर्कका अन्तर्राष्ट्रिय कार्डबाट पनि कारोबार गर्न सकिने भएको छ।
कामना सेवा विकास बैंकले अन्य कार्ड स्कीमहरुका साथै नेशनल पेमेन्ट स्वीचअन्तर्गत सञ्चालनमा रहेको नेशनल कार्ड स्कीम नेपालपे कार्ड पनि प्रदान गर्ने भएको छ।
एनसीएचएलले हालै नेपालपे कार्डको व्यावसायिक रोलआउट सुरु गरेपश्चात् अन्तर्राष्ट्रिय नेटवर्क डिस्कभरसँगको सहकार्यमा नेपालपे कार्ड विश्वव्यापीरुपमा प्रयोग गर्न सकिने भएको छ। बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवाप्रदायक र भुक्तानी प्रणाली सञ्चालकले जारी गर्ने नेपालपे कार्डहरू नेपाल तथा विदेशमा रहेका एटीएम र पीओएस टर्मिनलमा समेत प्रयोग गर्न सकिने छ।
साथै, रूपे कार्ड लगायत अन्तर्राष्ट्रिय डिस्कभर कार्डहरु पनि नेपालमा प्रयोग गर्न सकिने भएको छ। हालसम्म नेपालपेमा ३६ भन्दा बढी बैंक वित्तीय संस्थाहरु आवद्ध भइ रोलआउटको विभिन्न चरणमा छन्। ७ वटा बैंक तथा वित्तीय संस्थाले नेपालपे कार्ड इस्यु गर्न सुरु गरिसकेका छन् भने १० भन्दा बढी बैंक तथा वित्तीय संस्थाले नेपालपे कार्डको अक्वायरिङ सुरु गरिसकेका छन् भने यो क्रम बढ्दो छ।
कामना सेवा विकास बैंकले देशभरका करिब ८ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ। बैंकका १२२ शाखाहरु, १ एक्स्टेन्सन काउन्टर र ६६ एटीएमहरु रहेका छन्।