बागमती- हेटौँडाबाट आवागमन हुने सबै राजमार्गमा आज बिहानैदेखि सवारीसाधन सञ्चालन भइरहेका छन्।
मनसुनजन्य विपद्बाट हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले शनिबार सूचना जारी गरी शनिबार साँझ ८ बजेदेखि आज बिहान ५ बजेसम्मका लागि हेटौँडा हुँदै देउराली काठमाडौं जाने सवारीसाधनलाई चौकीटोलमा रोकेको थियो।
त्यस्तै, कान्ति राजमार्ग हुँदै ललितपुर जाने सवारीसाधनलाई पूर्व सूचनाअनुसार साँझ ६ बजेदेखि चौघडामा रोकिएको थियो। आज बिहानैदेखि हेटौँडाबाट जाने सबै मार्गमा यातायात पूर्णरूपमा सञ्चालन भइरहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
मनसुनजन्य विपद्लाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले शनिबार सूचना प्रकाशित गरी ट्राभल एडभाइजरीसमेत जारी गरेको थियो। रासस