सोमबार, साउन ४ गते २०८३    
सोमबार, साउन ४ २०८३

मोटरेबल पुल बनेपछि झोलुंगे पुल प्रयोगविहीन

आइतबार, साउन ३ २०८३
मोटरेबल पुल बनेपछि झोलुंगे पुल प्रयोगविहीन
फाइल तस्बिर

मोटरेबल पुल बनेपछि लमही र राजपुर जोड्ने एउटा प्रभावकारी माध्यम बनेको उक्त पुल अहिले प्रयोगविहीन बनेको हो।

दाङ- कुनै समय बरदान सावित बनेको दाङको राजपुर गाउँपालिकाको जङ्ग्रहवा र लमही नगरपालिकाको जहरे जोड्ने झोलुंगे पुल अहिले प्रयोगविहीन बनेको छ। यहाँ मोटरेबल पुल बनेपछि लमही र राजपुर जोड्ने एउटा प्रभावकारी माध्यम बनेको उक्त पुल अहिले प्रयोगविहीन बनेको हो।

केही वर्ष पहिले राप्ती नदीका अधिकांश ठाउँमा डुंगाबाट जोखिमपूर्ण यात्रा गरिरहेको अवस्थामा उक्त पुलले निकै सहज बनाएको थियो। सोही पुलको १०० मिटर नजिकै पक्की मोटरेबल पुल बनेपछि अहिले झोलुंगे पुल प्रयोगविहीन बनेको स्थानीय बताउँछन्।

'पहिले यो पुल निकै प्रयोग हुन्थ्यो, बरदानजस्तै बनेको थियो', राजपुर निवासी रमेश बुढाले भने, 'तर, नजिकै मोटरेबल पुल बनेपछि प्रयोग हुन छाडेको छ।'

कुनै समय यो पुलले वारपार गर्न निकै सहज हुने गरेकामा प्रयोग हुन छोडेपछि जीर्ण बन्दै गएको उनको भनाइ छ। राजपुर गाउँपालिकासँग राजमार्गको सम्बन्ध नहुँदा यही पुलले सम्बन्ध जोडेको थियो।

अहिले उक्त पुल प्रयोगविहीन भएकाले यसलाई निकालेर अन्य पुल नभएको ठाउँमा लैजान सकिएमा डुंगाबाट यात्रा गरिरहेका नागरिकलाई सहज हुने बुढाले बताए। 'धेरै ठाउँमा पुल छैनन्, तर, यहाँ एकै ठाउँमा दुईवटा पुल भएकाले अन्य स्थानमा स्थानान्तरण गर्दा हुने देखिन्छ', उनले भने, 'यसलाई निकालेर पुल नभएको ठाउँमा लैजान सकिए त्यहाँका नागरिकलाई सहज हुन्थ्यो।'

यस क्षेत्रका अधिकांश ठाउँमा अहिले पनि डुंगाको सहारा लिनुपर्ने अवस्था रहेको भन्दै उनले यसमा सरोकार भएका निकायको ध्यानाकर्षण गराए। उनका अनुसार ३५ करोड रूपैयाँ लागतमा २८० मिटर लामो पुल बनेको छ। उक्त पुल बनेपछि सवारीसाधन आवतजावत गर्न सहज भएको छ। सोही पुल तारेर हुलाकी राजमार्गमा पनि यात्रा गर्न जान सकिन्छ।

करिब चार वर्षअघि यहाँ मोटरेबल पुल निर्माण भएको थियो। पुल निर्माण भए पनि सोही ठाउँको सडक भने स्तरोन्नति हुन सकेको छैन। यहाँबाट भारतसँग जोडिएका विभिन्न नाकामा आउजान गर्न सकिन्छ। रासस


प्रकाशित : आइतबार, साउन ३ २०८३१७:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend