शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

मेहनती न्यौपाने दम्पती : राति अबेरसम्मै भैँसी गोठमा खटिन्छन्, मासिक एक लाख रूपैयाँ कमाउँछन्

शुक्रबार, साउन १ २०८३
मेहनती न्यौपाने दम्पती : राति अबेरसम्मै भैँसी गोठमा खटिन्छन्, मासिक एक लाख रूपैयाँ कमाउँछन्

आठ वर्षअघि सुरु गरेको भैँसी फर्मबाट न्यौपाने दम्पत्तिले दैनिक १०० लिटर दूध बिक्री गर्छन्। उनीहरुको व्यवसायमा गाउँका अन्य चार जनाले रोजगारीसमेत पाएका छन्।

पर्वत- भैँसीको दूध बिक्री गरेर आम्दानी गर्न थालेपछि न्यौपाने दम्पती गाउँका नमूना कृषक सावित भएका छन्। 

मनग्गे धन कमाउने सपना बोकेर झण्डै १० वर्षअघि मलेसिया पुगेका दक्षिण पर्वतका पैंयूँ गाउँपालिका-४ हुवासका सूर्य न्यौपाने दुई वर्षमै स्वदेश फर्किए। सोचेजस्तो आम्दानी नभएपछि गाउँमा पशुपालन गर्ने सोच पलायो। यता श्रीमती गीता न्यौपानेले गाउँको गरिमा विकास बैंकको जागिर छोडी मिलेर भैँसीपालन व्यावसाय थाले।

सुरुवातमा सातवटा स्थानीय जातका भैँसीबाट सुरु भएको उनको न्यौपाने भैँसी फार्म फैलिँदै गर्‍यो। विगत आठ वर्षदेखि सुरु गरेको फार्ममा अहिले स्थानीय र उन्नत जातका गरी २७ वटा पुगेका छन्। तीमध्ये अहिले २३ वटा दुहुना भैँसी छन्।

आठ वर्षअघि सुरु गरेको भैँसी फर्मबाट न्यौपाने दम्पतीले दैनिक १०० लिटर दूध बिक्री गर्छन्। बिहानदेखि राति अबेरसम्मै उनीहरुको दैनिकी गोठमा बित्ने गर्छ। बैंकमा अरुका पैसा गनेर दिन कटाउने गीता अहिले मेहनतको पैसा गन्न पाउँदा दंग छिन्।

एक करोड रूपैयाँको लगानीबाट सुरु भएको दम्पतीको भैँसीपालनबाट मासिक एक लाख रूपैयाँ नाफा हुने गरेको छ। बैंकको जागिर छाडेर पशुपालनमा लाग्दा पछुताएकी गीता उचित समयमा राम्रो निर्णय लिएकोमा खुसी छिन्।

भैँसीपालन व्यवसायसँगै उनीहरुको कुटानी पिसानी मिलसमेत छ। बाँकी रहेको दूधको मोही, दही, घ्यू, पनिर बिक्री गर्छन्।

मलेसियाको बसाइँ त्यागेर गाउँ फर्किएका सूर्य न्यौपानेले भैँसीपालनबाट सन्तोषजनक आम्दानी भएकोमा खुसी छन्। भैँसीका लागि १०० रोपनीमा घाँसखेती गरेका छन्। न्यौपाने दम्पती मात्र होइन, उनको व्यवसायमा गाउँका अन्य चार जनाले रोजगारीसमेत पाएका छन्।

फार्ममा उत्पादित दूध स्थानीय हुवास, हातेमालोचोक, त्रिवेणीमा प्रतिलिटर १०० रूपैयाँमा बिक्री गर्छन्। परिवारसँगै रमाउँदै गाउँमै भैँसीपालन गरेर आम्दानी गर्नुको बेग्लै मज्जा छ, दुवै जनाले बताए। व्यवसाय प्रवर्द्धनका लागि स्थानीय पैँयू गाउँपालिका, राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइलगायत उनलाई अनुदानका साथै प्राविधिक सहयोग प्रदान गरेका छन्।

राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ कार्यालय बागलुङका प्रमुख अर्जुनप्रकाश सुवेदीले कृषि तथा पशुपक्षी उद्यमशिलता विकास कार्यक्रमअन्तर्गत भैँसी फर्मलाई गोठ बनाउन अनुदान उपलब्ध गराएको बताए। फार्म सञ्चालकको चार लाख र कार्यालयको चार लाख रूपैयाँ अनुदान गरी साझेदारी अनुदान दिएको बताए।

गाउँमा खेतबारी बाँझै छाडी विदेशमा भौतारिनेलाई न्यौपाने दम्पतीको रचनात्मक कामले विदेश जान गरिने लगानीले गाउँमै गर्न सके सोचेभन्दा बढी आम्दानी र सन्तुष्टि मिल्छ भन्ने उदाहरण पेस गरेका छन्। रासस


प्रकाशित : शुक्रबार, साउन १ २०८३१५:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend