शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

प्रधानमन्त्री बालेन्द्र शाहको सकारात्मक पहलसँगै सेयर बजारमा ७९.७४ अंकको उछाल

शुक्रबार, साउन १ २०८३
प्रधानमन्त्री बालेन्द्र शाहको सकारात्मक पहलसँगै सेयर बजारमा ७९.७४ अंकको उछाल

बजारमा वृद्धि देखिए पनि सेयर कारोबार रकम भने अझै अपेक्षाकृत रूपमा सुस्त नै रहेको छ।

काठमाडौं- लगातारको गिरावटपछि यो साता सेयर बजारमा सुधार देखिएको छ। साताको अन्तिम कारोबार दिन आज नेप्से परिसूचक ७९.७४ अंक अर्थात् २.९० प्रतिशतले वृद्धि भइ २६७७.५४ विन्दुमा पुगेको छ।

बजारमा वृद्धि देखिए पनि सेयर कारोबार रकम भने अझै अपेक्षाकृत रूपमा सुस्त नै रहेको छ।

आज नेप्सेमा २ सय ५९ कम्पनीको सेयर मूल्य बढेको छ। त्यसैगरी १३ कम्पनीको सेयर मूल्य घटेको छ। आज ३ सय ३५ कम्पनीको १ करोड ३ लाख ८९ हजार ७७ कित्ता सेयर ५८ हजार ९५ पटक किनबेच भएको छ।

आज ४ अर्ब ५७ करोड ५० लाख ९४ हजार ७ सय २३ रूपैयाँको कारोबार भएको छ। हिजो ४ अर्ब ५६ करोड २९ लाख ५० हजार ७ सय रूपैयाँको रूपैयाँको कारोबार भएको थियो।

श्रीनगर एग्रिटेक इन्डस्ट्रिज लिमिटेडको सेयर १५ प्रतिशत र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेड सबैभन्दा धेरै १४.८३ प्रतिशत बढेको छ। आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड धेरै १५ प्रतिशत घटेको छ।

प्रधानमन्त्री बालेन्द्र शाहले निजी क्षेत्रसँग संवादलाई तीव्रता दिएसँगै त्यसको सकारात्मक संकेत पुँजी बजारमा पनि देखिएको छ।

नयाँ सरकार गठनपछि लगातार ओरालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक शुक्रबार भने उल्लेख्य रूपमा उकालो लागेको हो।

प्रधानमन्त्री शाहले पछिल्ला केही दिनयता उद्योगी-व्यवसायी, निर्माण व्यवसायी, बैंकिङ तथा वित्तीय क्षेत्रका प्रतिनिधि र विभिन्न पेशागत संस्थासँग निरन्तर छलफल गर्दै आएका छन्।

निजी क्षेत्रका समस्या समाधान, अर्थतन्त्र चलायमान बनाउने उपाय तथा लगानीमैत्री वातावरण निर्माणका विषयमा उनले सक्रिय संवाद अघि बढाएका छन्।

यसैक्रममा बिहीबार प्रधानमन्त्री शाहले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसँग भेटवार्ता गरेका थिए। भेटमा सेयर बजार, बैंकिङ तथा वित्तीय क्षेत्रको अवस्था, लगानी वातावरण सुधार तथा अर्थतन्त्रलाई चलायमान बनाउने विषयमा छलफल भएको थियो।

प्रधानमन्त्रीको यो सक्रियता र सरकारबाट नीतिगत सुधारको अपेक्षाले लगानीकर्ताको मनोबल बढाएको छ। त्यसको प्रभावस्वरूप शुक्रबार नेप्सेमा खरिदकर्ता हावी हुँदा बजारमा उत्साह देखिएको हो।

कारोबार रकमका आधारमा सबैभन्दा आँखु खोला जलविद्युत कम्पनीको २२ करोड २३ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आजको कारोबारमा १३ उपसमूहमध्ये म्युचुअल फण्डबाहेक सबै परिसूचक बढेको छ। कारोबारमा आएको उत्पादन तथा प्रशोध उपसमूहको परिसूचक यस दिन सर्वाधिक ४.६० प्रतिशत बढेको छ।

यो साताको पाँच कारोबार दिनमध्ये चार दिन बजार सकारात्मक रहेको छ। साताको पहिलो दिन आइतबार ३०.६० अंकले घटेको सेयर बजार त्यसयताका चार कारोबार दिनमा निरन्तर बढेको हो। मंगलबार ६.११ अंक, बुधबार १४ अंक र बिहीबार ७.५० अंकको सुधार देखिएको थियो, याे साता समग्रमा बजार ७५.७५ अंकले बढेको छ।

धितोपत्र बोर्ड (सेबोन) ले सेयर बजारको समग्र रूपान्तरण र नेपाललाई दक्षिण एसियाली वित्तीय बजारमा अग्रणी स्थानमा पुर्‍याउने राष्ट्रिय लक्ष्यका साथ सात रणनीतिक स्तम्भहरू अघि सारेको छ।

यस रणनीतिमा सुदृढ कानूनी संरचना, बजार विविधीकरण, प्रविधिमा आधारित बजार र लगानीकर्ताको हित संरक्षण जस्ता महत्त्वपूर्ण पक्षहरूलाई समेटिएको छ। जसका कारण पनि लगानिकर्ताको मनोबल बढेको छ।

बोर्डले सार्वजनिक गरेको मार्गचित्रले आगामी सन् २०३६ सम्मका लागि अत्यन्तै महत्वाकांक्षी लक्ष्यहरू तय गरेको छ। हाल कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ७० देखि ८० प्रतिशत हाराहारीमा सीमित रहेको बजार पुँजीकरणलाई बढाएर १५० प्रतिशतभन्दा माथि पुर्‍याउने योजना रणनीतिमा छ।

यसैगरी, सूचीकृत कम्पनीहरूको संख्या हालको ३०० बाट बढाएर ५०० भन्दा बढी पुर्‍याइनेछ भने दैनिक सेयर कारोबार रकमलाई औसत ८ अर्ब रूपैयाँबाट ३० अर्ब रूपैयाँ पुर्‍याउने लक्ष्य राखिएको छ। डिम्याट खाताको संख्यालाई पनि हालको ८० लाख हाराहारीबाट बढाएर १ करोड २० लाखभन्दा बढी पुर्‍याउने योजना बनाइएको छ।

यसका साथै, कुल कारोबारमा संस्थागत लगानीको हिस्सा ४० प्रतिशतभन्दा बढी पुर्‍याउने र कर्पोरेट ऋणपत्र बजारलाई कुल बजारको २० प्रतिशत हिस्सा ओगट्ने गरी विकास गरिने मार्गचित्रमा उल्लेख छ।

हाल बजारमा शून्य रहेको साना तथा मझौला उद्यम को सूचीकरण संख्यालाई २०० भन्दा बढी पुर्‍याउने र म्युचुअल फन्डका योजनाहरू १५० भन्दा बढी बनाउने रणनीति समेत बोर्डको छ।

यो रूपान्तरण प्रक्रियालाई थप मजबुत बनाउन हरित ऋणपत्रको नियमित निष्कासन गर्ने र हाल कानुनी व्यवस्था नभएको विदेशी पोर्टफोलियो लगानीलाई चरणबद्ध रूपमा नेपाल भित्र्याउने दीर्घकालीन योजना तय गरिएको छ।


प्रकाशित : शुक्रबार, साउन १ २०८३१५:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend