सोलुखुम्बु- सोलुखुम्बु जिल्लाको लिखु पिके गाउँपालिकामा ङग्युर ञिङ्मा पल्युल दोङग क्षोलिङ्ग गुम्बाको निर्माण कार्य सुरु भएको छ।
लिखु पिके गाउँपालिकाका अध्यक्ष मती मिना कार्की बस्नेत र काठमाडौंस्थित भारतीय राजदूतावासका द्वितीय सचिव अजय कुमार सिंहले गुम्बा भवनको संयुक्त रुपमा शिलान्यास गरे।
भारत सरकारको करिब ३ करोड ३० लाख नेपाली रुपैयाँ आर्थिक सहयोगमा यो गुम्बा निर्माण हुन लागेको हो। उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गतको यो योजना लिखु पिके गाउँपालिकामार्फत नै कार्यान्वयन गरिनेछ। सोलुखुम्बु जिल्लामा भारत सरकारको सहयोगमा सञ्चालित यो छैटौँ उच्च प्रभाव सामुदायिक विकास परियोजना हो।
शिलान्यास कार्यक्रममा लिखु पिके गाउँपालिकाका अध्यक्ष तथा अन्य स्थानीय सरोकारवालाहरुले भारत सरकारले नेपालमा पुर्याउँदै आएको विकास सहयोगको उच्च प्रशंसा गरे। यो नयाँ पूर्वाधार निर्माणले सोलुखुम्बुको लिखु पिके गाउँपालिकामा रहेको समृद्ध साँस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्न ठूलो मद्दत पुर्याउने विश्वास उहाँहरुले व्यक्त गरे।
नजिकको छिमेकी देश भएकाले भारत र नेपालबीच लामो समयदेखि व्यापक र बहुक्षेत्रीय सहकार्य रहँदै आएको छ। नेपालका प्राथमिकताका क्षेत्रहरुमा पूर्वाधार विकास गर्नुका साथै मुलुकको समग्र विकास र समृद्धिलाई अगाडि बढाउने नेपाल सरकारको प्रयासलाई सुदृढ पार्न भारत सरकारले यस्ता उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरुमार्फत निरन्तर सहयोग गर्दै आएको छ।