काठमाडौं- नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०८३/८४ को पुँजी बजार नीति सार्वजनिक घोषणा गरेको छ।
बोर्डका अध्यक्ष डा. गोपाल प्रसाद भट्टद्वारा जारी यो नीतिले नेपालको पुँजी बजारलाई विश्वसनीय, प्रतिस्पर्धी, समावेशी, प्रविधिमैत्री तथा अन्तर्राष्ट्रिय स्तरको आधुनिक वित्तीय प्रणालीका रूपमा विकास गर्ने मार्गचित्र तय गरेको हो।
बोर्डले ‘ पुँजी बजार विकास मार्गचित्र, २०८३’ लाई मार्गदर्शक अवधारणाका रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दै यस वर्षलाई ‘संरचनागत सुधार तथा संस्थागत सुशासनको वर्ष’ का रूपमा परिभाषित गरेको छ।
पछिल्ला वर्षहरूमा डिजिटल कारोबार, सार्वजनिक निष्कासन र लगानीकर्ताको संख्यामा वृद्धि भए तापनि बजारको गहिराइ, वित्तीय साधनहरूको विविधता र कर्पोरेट सुशासन जस्ता क्षेत्रमा अझै परिपक्वता आउन बाँकी रहेको यथार्थलाई यस नीतिले आत्मसात् गरेको छ।
नीतिमा उत्पादनशील क्षेत्र प्रवर्द्धन, पूर्वाधार विकास, साना तथा मझौला उद्यम, नवप्रवर्तनमा आधारित स्टार्टप र निजी क्षेत्रको विस्तारलाई विशेष प्राथमिकता दिइएको छ।
कर्पोरेट ऋणपत्र बजारलाई सुदृढ गर्दै सरकारी, प्रदेश तथा स्थानीय तहका विकास आयोजनाका लागि नगर ऋणपत्र को विकास गर्ने आधार तयार पारिनेछ। साथै, गैर-आवासीय नेपालीहरूलाई धितोपत्रको दोस्रो बजारमा लगानी गर्न सक्ने सहज वातावरण मिलाइने व्यवस्था यस नीतिमा समावेश छ।
बजारको स्वस्थ विकासका लागि लगानीकर्ता संरक्षणका लागि भित्री कारोबार, बजार हेरफेर र धितोपत्रसम्बन्धी वित्तीय अपराधविरुद्ध बोर्डले शून्य सहनशीलताको नीति अवलम्बन गर्ने भएको छ। डिजिटल रूपान्तरणलाई नयाँ उचाइमा पुर्याउन कृत्रिम बुद्धिमत्ता, रेगटेक, सुपटेक तथा डेटा विश्लेषणमा आधारित बजार निगरानी प्रणालीको विकास गरिनेछ।
पुँजी बजारका सबै प्रमुख सेवाहरूलाई क्रमशः पूर्ण डिजिटल प्रणालीमा रूपान्तरण गर्दै राफसाफ प्रणालीलाई चरणबद्ध रूपमा 'टि प्लस वान' तर्फ उन्मुख गराइनेछ। त्यसैगरी, विश्वव्यापी अभ्यासअनुरूप हरित वित्त र दिगो विकासलाई पुँजी बजारसँग जोड्दै हरित ऋणपत्र र वातावरणमैत्री वित्तीय साधनहरूको विकासलाई समेत प्रोत्साहन गर्ने लक्ष्य नीतिले लिएको छ।