मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

आईपीओ निष्कासन अनुमतिमा कडाइ गर्दै सेबोन, बजार सुधारका लागि लगानीकर्ता सुरक्षालाई प्राथमिकता दिइने

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असार ३० २०८३
आईपीओ निष्कासन अनुमतिमा कडाइ गर्दै सेबोन, बजार सुधारका लागि लगानीकर्ता सुरक्षालाई प्राथमिकता दिइने

सामाजिक सञ्जालको प्रयोग गरी सर्वसाधारणबाट आईपीओ  अघि संगठित संस्थाहरूले गर्ने पुँजी संकलन सम्बन्धी व्यवहारलाई समेत नियमन दायरामा ल्याइनेछ।

काठमाडौं- नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रमलाई समयबद्ध रूपमा कार्यान्वयन गर्न  मुख्य प्राथमिकताहरू सार्वजनिक गरेको छ। 

बोर्डका अनुसार लगानीकर्ता सुरक्षालाई उच्च प्राथमिकता दिइनेछ। यस अन्तर्गत धितोपत्र बजारलाई प्रभावित पार्ने गरी भ्रमपूर्ण सूचना प्रवाह गर्ने र अनाधिकृत लगानी परामर्श दिने 'फिनफ्लुएन्सर'  हरू तथा वित्तीय ठगीविरुद्ध नियामक निगरानी थप प्रभावकारी बनाइने रणनीति लिइएको छ। 

साथै, सामाजिक सञ्जालको प्रयोग गरी सर्वसाधारणबाट आईपीओ  अघि संगठित संस्थाहरूले गर्ने पुँजी संकलन सम्बन्धी व्यवहारलाई समेत नियमन दायरामा ल्याइनेछ।

पुँजी बजारलाई सर्वसाधारणका लागि थप पहुँचयोग्य बनाउन लगानीकर्ताहरूको कारोबार लागतमा कमी ल्याउने गरी प्राथमिक तथा दोस्रो बजार शुल्कमा पुनरावलोकन गरिने बोर्डले जनाएको छ। 

बजारको सूचकांक गणनामा सुधार गर्दै नेप्से सूचकांकलाई 'अल इक्विटी इन्डेक्स' को रूपमा कायम राखी कारोबारयोग्य सेयरहरू को आधारमा नयाँ सूचकांक विकास गरी त्यसलाई बेन्चमार्क सूचकांक गणना गर्ने व्यवस्था मिलाइने तयारी गरिएको छ।

यसैगरी, मार्जिन कारोबार सम्बन्धी निर्देशिका कार्यान्वयनका क्रममा देखिएका सीमितताहरू हटाउन नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्सचेन्ज, सिडिएस एण्ड क्लियरिङ र धितोपत्र दलाल व्यवसायीबीच आवश्यक समन्वय गरी यथाशीघ्र सञ्चालन व्यवस्था मिलाइने भएको छ।

धितोपत्रको माग र आपूर्तिबीच सन्तुलन कायम राख्नका लागि सामूहिक लगानी कोष (म्युचुअल फण्ड) को लकइन अवधि र बाँडफाँट सम्बन्धी विद्यमान व्यवस्थालाई पुनरावलोकन गरिनेछ। 

सार्वजनिक निष्कासन अनुमति प्रक्रियालाई थप व्यवस्थित बनाउन सरोकारवालाहरूबाट प्राप्त सुझाव समेटी नीतिगत सुधार गरिनेछ भने कम्पनीहरूको वित्तीय तथा व्यवस्थापकीय पक्षको वस्तुपरक अध्ययन गरेर मात्र अनुमति दिने व्यवस्था मिलाइनेछ।

नेपालको पुँजी बजारलाई विश्वसनीय, पारदर्शी, प्रतिस्पर्धी तथा अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप विकास गर्ने लक्ष्य सहित बोर्डले तयार पारेको आगामी दशकको 'नेपालको पुँजी बजार विकास मार्गचित्र, २०८३' र आव २०८३/८४ को पुँजी बजार नीति एवं कार्ययोजना छिट्टै आफ्नो वेबसाइटमार्फत सार्वजनिक गर्ने जानकारी समेत बोर्डले दिएको छ।

WhatsApp Image 2026-07-14 at 6.22.50 PM.jpeg


प्रकाशित : मंगलबार, असार ३० २०८३१८:१०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend